मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ११ सोमबार
  • Wednesday, 18 December, 2024
कृष्णप्रसाद दाहाल
२o७८ असोज ११ सोमबार ११:१३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निजामती सेवामा सुधारको अपेक्षा

जनताकै सेवाका लागि स्थापित संयन्त्र भएकाले निजामती सेवाबाट शीघ्र, पारदर्शी एवं सम्मानपूर्वक सेवा प्राप्त गर्ने जनअपेक्षा स्वाभाविक हो

Read Time : > 2 मिनेट
कृष्णप्रसाद दाहाल
नयाँ पत्रिका
२o७८ असोज ११ सोमबार ११:१३:oo

जनतालाई सार्वजनिक सेवा प्रवाह गर्ने उद्देश्यले स्थापित संयन्त्र हो, निजामती सेवा । राजनीतिज्ञले बनाएको नीति कार्यान्वयन गर्ने जिम्मेवारी निजामती कर्मचारीको हो । स्थायी सरकार मानिने निजामती सेवाको मुलुकको विकास र समृद्धिमा अथाह दायित्व हुन्छ । निजामती कर्मचारीबाट छिटो, छरितो, निष्पक्ष तथा प्रभावकारी सेवा प्रवाहको अपेक्षा सेवाग्राहीले राखेका हुन्छन् । निजामती कर्मचारीप्रति जनअपेक्षा ठूलो छ भने कर्मचारीका पनि आफ्नै कथाव्यथा छन् । भ्रष्टाचार बढ्दो मात्रामा रहेको, सेवा प्रवाहको गति सुस्त रहेको, सेवाग्राहीप्रति कठोर व्यवहार गर्ने गरिएको, जोस–जाँगरसाथ सेवा प्रवाह नगरिएको जस्ता जनगुनासा निजामती सेवाप्रति रहेका देखिन्छन् । 

जनताकै सेवाका लागि स्थापित संयन्त्र भएकाले निजामती सेवाबाट शीघ्र, पारदर्शी, एवं सम्मानपूर्वक सेवा प्राप्त गर्ने जनअपेक्षा स्वाभाविक हो । निजामती सेवाको प्रभावकारिताले नै सरकारको सफलता र असफलता निर्धारण गर्ने भएकाले यो सरकार र मुलुककै भविष्य निर्धारक तत्व हो । यसरी मुलुकको विकास र समृद्धिको एक प्रमुख अंगका रूपमा रहेको निजामती सेवामा चौतर्फी समस्या छन् । निष्पक्ष र जनविश्वासयोग्य संवैधानिक अंग लोकसेवा आयोगद्वारा प्रतिस्पर्धात्मक परीक्षा प्रणालीबाट छानिएका निजामती कर्मचारी अवश्य नै अब्बल हुन्छन् । श्रमबजारका उत्कृष्ट जनशक्ति निजामती सेवामा प्रवेश गर्छन् । तैपनि, कर्मचारीतन्त्रले जनअपेक्षाअनुरूप सेवा प्रवाह गर्न सकिरहेको छैन ।

निजामती सेवाको प्रमुख समस्या न्यून बेतन हो । अन्य मुलुकको तुलनामा नेपालमा निजामती कर्मचारीको तलब तथा सुविधा कमजोर छ । इमानदार कर्मचारीलाई प्राप्त तलबले जीवननिर्वाह गर्न मुस्किल छ । महँगीको तुलनामा कर्मचारीको तलबवृद्धि अनुपात न्यून छ । न्यून तलबका कारण निजामती सेवामा भ्रष्टाचार बढेको विभिन्न शोध तथा अनुसन्धानले देखाएका छन् । निजामती सेवामा हुने राजनीतिक हस्तक्षेप निजामती सेवामा रहेको अर्को समस्या हो । सरुवा, बढुवा एवं अन्य कार्यक्षेत्रमा हुने अनुचित राजनीतिक हस्तक्षेप एवं दबाबले पनि निजामती कर्मचारीमा निराशा पैदा भई कार्यसम्पादनको स्तर खस्किन पुगेको छ । 

निजामती सेवाभित्र रहेको विभेद यसको अर्को समस्या हो । हाकिम र पहुँचवालाको नजिकका कर्मचारीको चाहेको ठाँउमा सरुवा हुने र भनेको सेवासुविधा प्राप्त हुने र पहुँचविहीन कर्मचारी निमुखा भएर बस्नुपर्ने अवस्था छ । यसले सक्षम र योग्य कर्मचारीको जोस र जाँगरमा शिथिलता पैदा गराउँछ । त्यस्तै निजामती सेवाभित्र चाकडी र चाप्लुसीको बोलवाला छ । जसका कारण सेवा प्रवाहमा प्रतिकूल असर पर्छ । मुलुकमा रहेको राजनीतिक एवं नीतिगत अस्थिरताले पनि निजामती कर्मचारीलाई आफ्नो कार्यथलोमा प्रत्यक्ष एवं अप्रत्यक्ष असर पुर्‍याउँछ । यसले निजामती सेवाभित्र अन्योल सिर्जना गरेको छ । 

जनताकै सेवाका लागि स्थापित संयन्त्र भएकाले निजामती सेवाबाट शीघ्र, पारदर्शी  एवं सम्मानपूर्वक सेवा प्राप्त गर्ने जनअपेक्षा स्वाभाविक हो
 

राजनीतिक अलमलले गर्दा संघीय निजामती सेवा ऐन ल्याउन सकिएको छैन । संसद्मा पेस भएको संघीय निजामती सेवा विधेयकमा चालू निजामती सेवा ऐनले व्यवस्था गरेको उपसचिव र सहसचिव तहमा आन्तरिक प्रतियोगितात्मक परीक्षा हटाइएको छ । विधेयक संसद्बाट जस्ताको तस्तै पास भएमा यसले निजामती सेवामा दूरगामी असर पार्ने देखिन्छ । निजामती सेवाको मुख्य जिम्मेवारी नै सरकारले निर्माण गरेको नीति कार्यान्वयन गर्ने र सरकारलाई नीति बनाउन आवश्यक तथ्य, सूचना र राय प्रदान गर्ने हो । त्यस्तो कार्य गर्न निजामती कर्मचारीमा सिर्जनात्मक क्षमता र अध्ययनशीलता खाँचो पर्छ । उपसचिव र सहसचिव पद भनेको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तह हो । 

सो तहमा अध्ययनशीलता र सिर्जनात्मक क्षमता आवश्यक हुन्छ । उपसचिव र सहसचिवको आन्तरिक परीक्षाले निजामती कर्मचारीमा अध्ययन गर्ने बानीको विकास गराएको छ । आन्तरिक परीक्षा प्रणाली बन्द गरिए निजामती कर्मचारीमा अध्ययन गर्ने बानी हराउनेछ । फलस्वरूप, कर्मचारीको सिर्जनशीलता र अध्ययनशीलता पनि स्वतः कमजोर हुनेछ । यसले मुलुकको समग्र नीति निर्माणमै दूरगामी असर पुर्‍याउने देखिन्छ ।

यसरी आन्तरिक परीक्षा प्रणाली बन्द गरिनुपर्छ भन्ने पक्षधरको धारणा निजामती कर्मचारी बढुवाका लागि अध्ययन गरेर बसे, जसले गर्दा सेवा प्रवाह प्रभावित हुन पुग्यो भन्ने छ । यदि कार्यालयको काममा असर पुग्ने गरी त्यसरी निजामती कर्मचारी पढ्नकै लागि बिदामा बसेका भए तिनलाई कारबाही गर्न सकिन्छ । तर, सो बहानामा आन्तरिक परीक्षा प्रणाली नै बन्द गर्दा सक्षम र योग्य कर्मचारीको अभाव एवं क्षमतावान् कर्मचारी निजामती सेवाबाटै पलायन हुने अवस्था आउन सक्छ । 

राज्य सञ्चालनको मेरुदण्डका रूपमा रहेको निजामती सेवालाई प्रभावकारी रूपमा परिचालित गर्न सकिएमा मुलुकलाई शीघ्र समृद्धिको शिखरमा लैजान सकिन्छ । असल कार्यसम्पादन गर्ने कर्मचारीलाई उचित प्रोत्साहन गर्दै अनुचित व्यवहार गर्ने कर्मचारीलाई दण्डित गरिनुपर्छ । अन्तर्राष्ट्रिय अभ्यास र प्रचलन अनुसरण गर्दै निजामती कर्माचारीलाई जीवन निर्वाह गर्न पुग्ने उचित तलब तथा अन्य सुविधा दिनुपर्छ । निजामती सेवामा रहेको विभेद र असमानता अन्त्य गर्दै सेवाभित्र प्राप्त सुविधा वस्तुनिष्ठ एवं न्यायपूर्ण तवरले वितरण हुनुपर्छ । निजामती सेवाको सहसचिवस्तरसम्मै पदपूर्तिमा खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षा राखिनुपर्छ । जसले गर्दा योग्य, सक्षम, सिर्जनशील र अध्ययनशील कर्मचारीतन्त्र निर्माण गर्न सहयोग पुग्छ । 

(दाहाल नेपाल सरकारका शाखा अधिकृत हुन्)