मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १७ मंगलबार
  • Tuesday, 17 December, 2024
कृष्णप्रसाद दाहाल
२o७८ फाल्गुण १७ मंगलबार o७:२२:oo
Read Time : > 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आसन्न निर्वाचन र नेतृत्व छनोटका आधार

विगतमा आफूहरूसमक्ष गरेका वाचा पूरा नगर्ने उम्मेदवारलाई मतदाताले आगामी निर्वाचनमा  पुनः निर्वाचित गराएर पठाउनुहुँदैन

Read Time : > 1 मिनेट
कृष्णप्रसाद दाहाल
नयाँ पत्रिका
२o७८ फाल्गुण १७ मंगलबार o७:२२:oo

नेतृत्व हरेक क्षेत्रको विकास र परिवर्तनको मियो हो । असल नेतृत्वविना प्रगति सम्भव छैन । असल नेतृत्वका लागि वाक्कला अपरिहार्य तत्व हो । असल नेतृत्वका लागि ज्ञान, विवेक, बुद्धि, आत्मविश्वास, असल भिजन र सहनशीलताको समेत आवश्यकता पर्छ । असल नेतृत्वले सकारात्मक नतिजा दिन्छ भने खराब नेतृत्वले विश्वका खराब नतिजा दिएका कैयौँ उदाहरण छन् । 

असल विचार र उत्कृष्ट भाषणकलाले भरिपूर्ण व्यक्ति आजको समयमा नेतृत्वका लागि योग्य ठहरिन्छ । नेतृत्वका लागि त्यस्तै व्यक्ति दाबेदार हुन्छ । आजको समय बदलिएको छ । उत्कृष्ट भाषणकला मात्र आजको समयमा नेतृत्व मूल्यांकनको आधार बन्न सक्दैन । विकसित देशमा एकपटक निर्वाचित भएको उम्मेदवार निर्वाचनका समयमा जनतासमक्ष गरेका वाचा पूरा नगरेमा पुनः अर्कोपटक निर्वाचित हुन सक्तैन । त्यस्ता मुलुकमा नेतृत्वको मूल्यांकन आफ्नो कार्यकालमा गरेको कामका आधारमा गरिन्छ । 

राजनीतिक नेतृत्वको शुद्धता र सक्षमताले नै अन्य प्रशासनिक, सामाजिक नागरिक, सामुदायिकलगायत क्षेत्रका नेतृत्व सबल र समक्ष हुन्छन् । असल राजनीतिक संस्कारयुक्त नेतृत्वले समग्र मुलुकमा सकारात्मक ऊर्जा प्रदान गर्छ । त्यस्तो नेतृत्वले समग्र मुलुकको विकास, समृद्धि, सुशासन र राष्ट्रिय एकता निर्धारण गर्छ । अतः असल राजनीतिक नेतृत्व मुलुकको पहिलो आवश्यकता हो ।

बि.सं २००७ सालअगाडि मुलुक निरंकुश शासकको कब्जामा थियो । २००७ सालमा मुलुकमा प्रजातन्त्रको उदय भयो । तत्पश्चात नेपालको शासकीय क्रियाकलाप प्रत्यक्ष एवं परोक्ष रूपमा नेपाली जनताद्वारा नै सञ्चालित हुँदै आइरहेको छ । तथापि, संवैधानिक एवं राजनीतिक अस्थिरताले मुलुकमा अपेक्षित विकास, समृद्धि र सुशासन कायम हुन सकिरहेको छैन । 
विश्वको अत्याधुनिक, लोकप्रिय र जनमैत्री शासन व्यवस्थाका रूपमा लोकतन्त्रलाई लिइन्छ । हामीले लोकतान्त्रिक शासन व्यवस्थालाई आत्मसात् गरेका छौँ । जनतालाई शीघ्र सेवा प्रदान गर्ने र जनअधिकारलाई जनताको घरदैलोसम्म पुर्‍याउने उत्कृष्ट शासकीय परिपाटीका रूपमा संघीयतालाई लिइन्छ । हामीले सो व्यवस्थालाई समेत आत्मसात् गरिसकेका छौँ । जनता स्वयं राज्य प्रमुख भई जनहितमा क्रियाशील रहने उकृष्ट शासकीय शैलीमा गणतन्त्रलाई लिइन्छ, सो व्यवस्था पनि हामीले अपनाएका छौँ । तैपनि, मुलुकमा विकास, समृद्धि र सुशासनको महसुस आमनागरिकले गर्न पाइरहेका छैनन् । यसको एक प्रमुख कारण मुलुकको राजनीतिक एवं प्रशासनिक नेतृत्व जनमैत्री, दूरदर्शी र असल नहुनु हो ।

आगामी बैशाखमा स्थानीय तहको चुनाव गरिने घोषणा भएको छ । सो निर्वाचनबाट ७५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुनेछ । सो निर्वाचनमा असल नेतृत्व चयन गर्नु प्रत्येक नेपाली मतदाताको दायित्व हो । लोकतन्त्रको असल चरित्र नै जनताद्वारा स्वविकेकले नेतृत्व चयन गर्ने अवसर पाउनु हो । असल नेतृत्व चयन हुन सकेमा समाज र मुलुकको हित र उत्थान हुन्छ । त्यसैले, नेतृत्व छनोटको आधार उम्मेदवारले गर्ने चिल्ला भाषण र विरोधीको कटु आलोचना होइन, उसको योग्यता, क्षमता, दूरदर्शिता र विगतका राम्रा कार्य हुनुपर्छ ।
विगतमा आफूहरूसमक्ष गरेका वाचा पूरा नगर्ने उम्मेदवारलाई मतदाताले आगामी निर्वाचनमा पुनः निर्वाचित गराएर पठाउनु  हुँदैन । मतदातासँग भोट माग्न आउने उम्मेदवारलाई अघिल्लो निर्वाचनमा भोट माग्दा गरेका वाचा पूरा गरे–नगरेको विषयमा प्रश्न तेस्र्याउन सक्नुपर्छ । 

मतदाता नातावाद, कृपावाद, अमुक राजनीतिक दलको ट्याग र अन्य व्यक्तिगत स्वार्थ एवं प्रलोभनबाट अलग रहनुपर्छ । मतदाताले आफ्नो विवेक प्रयोग गरी कुशल एवं असल नेतृत्व छनोट गर्नुपर्छ । मतदाताले मतदान गर्दा आफ्नो सन्ततिको भविष्य हेर्नुपर्छ । ताकि, खराब नेतृत्वको छनोटले मुलुक पुनः अँध्यारो युगतर्फ प्रवेश नगरोस् । आफ्ना सन्तति बेरोजगार भई खाडी मुलुकमा पसिना बगाउन जानुपर्ने स्थिति नबनोस् । (दाहाल नेपाल सरकारका शाखा अधिकृत हुन्)