
प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सरकारविरुद्धको चलखेल प्रतिवाद गर्दै अघि बढ्ने समझदारी भएको छ । थाइल्यान्ड भ्रमणबाट फर्किएपछि देशको पछिल्लो परिस्थितिबारे शनिबार मध्यरातसम्म साढे दुई घण्टा लामो छलफल गर्दै दुवै नेताले नेपालमा स्थिरता नचाहनेहरूले सरकारविरुद्ध चलखेल गर्न खोजेको निष्कर्ष निकाल्दै सत्ता समीकरणलाई थप बलियो बनाउने समझदारी गरेका हुन् ।
देउवा थाइल्यान्ड भ्रमणमै रहेका वेला प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमै अविश्वास सिर्जना हुने गरी निरन्तर सरकार फेरिन लागेको अभिव्यक्ति दिएको विषयमा केन्द्रित रहेर उनीहरूबिच लामो संवाद भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । प्रचण्डले निरन्तर सरकार ढल्छ भन्दै अभिव्यक्ति दिनुको कारण, शिक्षक आन्दोलन, गभर्नर नियुक्ति र कांग्रेसका नेताहरूको पछिल्ला अभिव्यक्तिमा केन्द्रित रहेर उनीहरूले संवाद गरेका थिए । स्थायित्वमाथि नै प्रश्न उठ्ने गरी हल्ला चलेपछि सातबुँदे सहमतिको स्पिरिटअनुसार अघि बढ्ने र सबै चलखेललाई प्रतिवाद गर्दै अघि बढ्ने समझदारी भएको नेताहरूको भनाइ छ ।
‘उहाँहरूबिच विकसित परिस्थितिबारे लामै संवाद भयो, खासगरी स्थायित्वमाथि प्रश्न उठ्ने गरी सरकारविरुद्ध भइरहेको चलखेलप्रति सचेत भएर सातबुँदे सहमतिलाई अक्षरशः पालना गर्दै सरकारलाई प्रभावकारी ढंगले अगाडि बढाउने समझदारी भएको छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संवाद उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘सरकारको स्थायित्वबारे अफवाह फैलाउनेहरूको स्वतः टोन डाउन हुँदै छ, सरकार प्रभावकारी ढंगले अगाडि बढ्छ ।’
गृहमन्त्री रमेश लेखकले पनि दुई नेताबिचको छलफल कांग्रेस–एमालेलाई फुटाउने प्रयासबारे केन्द्रित रहेको र त्यस्तो चलखेलको कुनै अर्थ नरहेको निष्कर्षमा दुवै शीर्ष नेता पुगेको बताएका छन् । ‘उहाँहरूबिच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल बढी केन्द्रित भयो’, लेखकले आइतबार सञ्चाकर्मीहरूसँग भने, ‘हामीबिच खेल्ने प्रयास भइरहेका छन्, तर त्यस्ता कुराको कुनै अर्थ छैन भन्ने निचोडमा दुवै नेता पुग्नुभएको छ ।’
गभर्नर नियुक्ति प्रक्रियाका सन्दर्भमा बनेको सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएकाले रिक्त स्थानमा पूर्ति गरेर छिटो नियुक्ति गर्ने उनीहरूबिच समझदारी बनेको छ । उनीहरूबिच शिक्षक आन्दोलनको माग सम्बोधन गर्ने विषयमा पनि छलफल भएको थियो । सरकार क्याबिनेटबाटै पूरा गर्न सकिने शिक्षकहरूको कतिपय महत्वपूर्ण मागलाई निर्णय गर्ने तयारीमा रहे पनि दुई पक्षबिच सहमतिमा हस्ताक्षर पनि नगर्ने, विद्यालय नफर्की ऐन नआएसम्म आन्दोलन जारी राख्ने शिक्षकहरू अडानमै रहँदा समस्या भएको ओलीले देउवालाई अवगत गराएका थिए ।
शिक्षकहरूको मागभित्र विपक्षीहरूको राजनीतिक दाउपेच घुसेका कारण उनीहरूकै सहमतिमा शिक्षा मन्त्रालयले क्याबिनेटबाट निर्णय गर्न तयार पारेको मस्यौदामा पनि शिक्षक महासंघले हस्ताक्षर नगरेको प्रधानमन्त्रीको भनाइ थियो । जवाफमा देउवाले क्याबिनेटबाट पूरा गर्ने विषयमा निर्णय गरेर उनीहरूलाई स्कुलमा फर्काउने र बाँकी मुद्दा ऐनबाटै सम्बोधन गर्ने गरी वार्ताबाट समाधान गर्न आफूले पनि पहल लिने बताएका थिए ।
त्यस्तै, कांग्रेसकै पदाधिकारी तहका नेताहरूले सरकारको कार्यशैलीमाथि बाहिर प्रश्न उठाउँदा पनि अस्थिरता चाहने शक्तिहरूले खेल्ने मौका पाएको विषयलाई पनि प्रधानमन्त्रीले छलफलमा उठाएका थिए । जवाफमा सभापति देउवाले आगामी दिनमा त्यस्तो हुन नदिन पहल लिने जवाफ दिएका थिए । ‘मैले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा पनि सरकारमा रहेर बाहिर असन्तुष्टि पोख्दै हिँड्नु राम्रो होइन, अब त्यस्तो नहोस् भनेर सचेत गराइसकेको छु, अब पनि त्यसबारेमा सचेत गराइनेछ,’ देउवाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, दुई शीर्ष नेताहरूको भेटघाट र संवादका विषयमा उपत्यकाबाहिर रहेका कारण विस्तृत रूपमा जानकारी नभएको बताए ।
७ वैशाखमा उपचारका लागि थाइल्यान्ड गएका देउवा १२ वैशाखमा फर्किएका थिए । उनी त्यहाँ रहँदा माओवादी अध्यक्ष प्रचण्डले देउवा फर्किएपछि अर्को सरकार गठनबारे भेटघाट र छलफल हुने बताएपछि सरकार ढल्न लागेको चर्चा चलेको थियो । तर, देउवाले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै सत्ता समीकरणमा कुनै खटपट नरहेको र सरकार परिवर्तनको कुनै सम्भावना नभएको बताएका थिए ।
त्यस्तै, देउवापत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तन नेपालमा मनोरञ्जनका लागि गरिएको हल्ला मात्रै भएको भन्दै खण्डन गरेकी थिइन् । देउवा भ्रमणबाट फर्किएसँगै सरकार परिवर्तनको हल्ला चलेको विषयमा सञ्चारकर्मीहरूले उनीसँग जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्रीको बेडमा बिचौलिया पुगेको पुष्टि गर्न गगनलाई ओलीको चुनौती
प्रधानमन्त्री केपी ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच भएको प्रमाणित गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो चुनौती दिएका हुन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको र उनीहरूले नै सरकार चलाउने गरेको अभिव्यक्ति दिएका थिए । उनको त्यही अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले धतांगिँदै बोलेको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन् ।
‘कोही व्यक्ति यसरी धतंगाएर बोल्छन् प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच पुगेको छ भनेर । त्यस्तो कुरा सुनेर दया लाग्छ, के बोेलेको त्यो । के त्यस्ता कुरा प्रमाणित गर्न सक्छन् ?’ प्रधानमन्त्रीले चुनौती दिँदै भने । त्यस्तै, अफवाहबाट हौसिएका नाम मात्रका कम्युनिस्ट भनिनेहरूले सरकार बिहानै ढल्यो, दिउँसै ढल्यो भन्दै अफवाह फैलाइरहेको उनको टिप्पणी थियो । ‘त्यसलाई हतियार बनाएर, उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरू उफ्रिएका छन् । पहिले विष्णुबहादुर मानन्धरहरूको समूहले केशरजंग समूहलाई नावाकाद भन्थ्यो । नामका वामपन्थी, कामका दक्षिणपन्थी । नावाकादाहरू अहिले पनि छन् । एकथरीहरू कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन हाम्राविरुद्ध विभिन्न लाञ्छना लगाउने, अर्को सरकार अहिले ढल्यो, भरे ढल्यो, ढल्यो... ढल्यो भोलि बिहानै ढल्यो भन्दै गीत गाउने,’ उनले भने ।
सरकार ढल्यो भन्दै प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अफवाह फैलाइरहेको संकेत गर्दै उनले थाइल्यान्डबाट कांग्रेस सभापति शेरबहादुर देउवा फर्किनेबित्तिकै त्यस्ता अफवाह फैलाउनेहरू आश्चर्यमा परेका उनीहरूले फेरि पनि भ्रम फैलाउने प्रयास गर्ने उनको भनाइ थियो । ‘शेरबहादुरजी फर्किनेबित्तिकै ढल्यो भन्दै थिए । शेरबहादुरजीले टाउकोबाट चिसोपानी खन्यादिएपछि फेरि ती छक्क परेका छन् । शेरबहादुरजी फर्किनेबित्तिकै नढलेर के गर्ने दुई–चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत सुरु गरेका छन् । यिनीहरू नावाकादहरू हुन् । हामी हरेक कुराबाट सतर्क छौँ,’ प्रधानमन्त्री ओलीले भने ।
सरकारले बिस्तारै लय समातेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका अर्थमन्त्री वर्षमान पुनमाथि पनि प्रहार गरे । ‘अघिल्लो सरकारले भताभुंग पारेको अर्थतन्त्र सम्हाल्दै छौँ । आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढुकुटीमा पैसा थोपो नराखेको । तिर्नुपर्ने मात्र बनाएको । ऋणैऋणमा फसाइदिएको अर्थतन्त्र सम्हालेर अगाडि बढाउँदै छौँ,’ ओलीले भने, ‘त्यहाँ पुर्याउने लाज छैन फेरि, अस्तिको दिन मात्र संसद्मा बोलेको सुन्दा अचम्म लाग्यो । लाज लाग्नुपर्ने, कस्तो सरम नलागेको ? यस्तो पार्ने बजेट प्रस्तुत गर्ने मान्छे, देश बर्बाद पार्ने मान्छेलाई अप्ठ्यारो लागेको छैन उसलाई । उही पण्डित, उही जान्ने !’
रमेश लेखक, गृहमन्त्री
उहाँहरू (प्रधानमन्त्री ओली र सभापति देउवा) बिच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल बढी केन्द्रित भयो । हामीबिच खेल्ने प्रयास भइरहेका छन्, तर त्यस्ता कुराको कुनै अर्थ छैन भन्ने निचोडमा दुवै नेता पुग्नुभएको छ ।
राजेन्द्र गौतम
प्रचार विभाग प्रमुख, एमाले
ओली र देउवाबिच सरकारविरुद्ध भइरहेको चलखेलप्रति सचेत भएर सातबुँदे सहमतिलाई अक्षरशः पालना गर्दै सरकारलाई प्रभावकारी ढंगले अगाडि बढाउने समझदारी भएको छ ।