१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
२o८२ बैशाख १६ मंगलबार १८:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका विभागहरू सक्रिय हुँदा पार्टीलाई ऊर्जा थपेको छ: सभापति देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार १८:१o:oo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताएका छन्। कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताए।

‘प्रतिवेदन विपन्न लक्षित नीतिगत सुधारका लागि महत्त्वपूर्ण छ, निकै मेहनत गर्नुभएको छ, पार्टीको सबै तहका संरचना र निर्वाचित जनप्रतिनिधिलाई काम लाग्ने सुझावहरू छन्, यसलाई पार्टीले महत्त्वपूर्ण दस्ताबेजका रूपमा स्वीकार गरेको छ, महत्त्वपूर्ण सुझाव छन्, भोलिका दिनमा ती सुझाव हेर्नेछौँ। केही सुझाव हेर्दा खर्चिलो पनि छन्,’ सभापति देउवाले भने। उनले नेपालको अर्थतन्त्रले भ्याएसम्म विभागले दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता जनाए। ‘विभागले दिएका अधिकांश सुझाव कार्यान्वयनमा लैजान सक्ने खालका छन्, पार्टीमा छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ, भावी योजना तयका लागि महत्त्वपूर्ण हुनेछ,’ उनले भने।

उपसभापति धनराज गुरुङले नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा आएको प्रतिवेदन महत्त्वपूर्ण भएको बताए। ‘गरिब र विपन्नलाई दुईचार टुक्रा जग्गा बाँड्ने गफभन्दा पनि उसको भविष्य उज्ज्वल बनाउन सक्ने गरी सिप, शक्ति र सामर्थ्य दिन सक्नुपर्छ, हामीले दिने सामाजिक भत्ता पनि वैज्ञानिक छैन, सम्पन्न र विपन्नलाई एउटै छ, सम्पन्न मानिसलाई चार हजार भत्ता दिएर विपन्नलाई न्याय गर्न सकिँदैन, अहिले कांग्रेस सरकारमा छ, विपन्नलाई समेट्ने गरी नीति बनाउनुपर्छ, शिक्षा र स्वास्थ्यमा विपन्नका समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ,’ उनले भने।

पार्टीका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई विपन्न र गरिबको पार्टी हैन भन्ने आरोपलाई फरक दृष्टिकोणले हेर्नुपर्ने धारणा राखे। ‘नागरिकहरू विपन्न भएसम्म पार्टी बलियो हुँदैन, विपन्नलाई हुने खाने वर्गमा बदल्ने गरी काम गर्नुपर्नेछ, विपन्नलाई माथि उठाउने हो, हाम्रो सैद्धान्तिक आधार यही हो,’ महामन्त्री थापाले भने। उनले मानिसलाई प्राप्त भएको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार आर्थिकरूपमा विपन्न भएकै आधारमा उपयोग गर्न सकिँदैन भन्नु त्यो केवल औपचारिक भएको बताए।

‘हामीले सार्वभौम नागरिकको समानतामा ध्यान दिनुपर्छ, नेपालको अर्थतन्त्रको आधार भनेको ज्ञान र सिप नै हो, मानिसलाई ज्ञान र सिपयुक्त बनाउनु जरुरी छ, विपन्न लक्षित कार्यक्रममा ज्ञान सिपले दक्ष बनाउने हुनुपर्छ, सिप सूचना र प्रविधिले ल्याएको परिवर्तनसँग मेलखाने र सँगसँगै जान सक्ने खालको हुनुपर्छ,’ उनले भने।

महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय तहको लागि छुट्टाछुट्टै बजेट तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै विपन्न लक्षित कार्यक्रमका बारेमा विभागले गरेको प्रस्ताव ठिक भएको प्रतिक्रिया दिए। उनले प्रतिवेदन पार्टीको सम्पत्ति भयो भन्दै संघीय बजेटमा पर्नुपर्ने कार्यक्रमका बारेमा सुझाव पेस गर्न आग्रह गरे।

पूर्वउपसभापति विजयकुमार गच्छदारले विभागले प्रस्तुत गरेको प्रतिवेदनलाई पार्टीले पूर्ण कार्यान्वयन गर्न सक्यो भने १५/२० वर्षसम्म प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले प्रतिवेदनले कोरेका खाकालाई पछ्याउने हो भने २० वर्षमा समृद्ध नेपाल निर्माण हुने धारणा राखे।

विपन्न उत्थान समन्वय विभागका प्रमुख डाक्टर गोपाल दहिदले ११ जना सदस्य रहेको समितिले विभिन्न स्रोतबाट संकलन गरेको तथ्य र तथ्यांकका आधारमा विपन्न उत्थानका लागि ५६ पेजको प्रतिवेदन तयार पारेको जानकारी गराए। प्रतिवेदनमा वडा र स्थानीय तहले जमानी बसेर विपन्नलाई उद्यमशीलता र रोजगारीका लागि ऋण दिनुपर्ने प्रस्ताव समेटिएको उनले जानकारी गराए।