मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Tuesday, 17 December, 2024
कृष्णप्रसाद दाहाल
२o७८ कार्तिक ९ मंगलबार o९:o४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपालमा शैक्षिक गुणस्तरको सवाल

Read Time : > 2 मिनेट
कृष्णप्रसाद दाहाल
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार o९:o४:oo

मुलुकका सक्षम, दक्ष, योग्य र मेधावी जनशक्तिलाई विद्यालय तहदेखि विश्वविद्यालयसम्मको शिक्षण पेसामा आकर्षित गर्न नसकुन्जेल यहाँको शैक्षिक गुणस्तर जहिल्यै प्रश्नको घेराभित्रै रहने निश्चित छ 


शिक्षा चेतनाको आधार हो । शिक्षाले नै व्यक्तिमा ज्ञान, सीप र क्षमता अभिवृद्धि हुन्छ । मानव सभ्यताको विकाससँगै कुनै न कुनै स्वरूपमा शिक्षाको पनि विकास भएको हो । औपचारिक शिक्षा विकासको प्रारम्भिक चरणमा विश्वमा गुरुकुल शिक्षा प्रणालीको स्थापना भयो । गुरुकुल शिक्षा प्रणाली विशेषगरी धर्ममा आधारित थियो । विश्व वैज्ञानिक युगमा प्रवेश गरेसँगै खोज र अनुसन्धानमूलक शिक्षा प्रणालीको विकास भयो, जसलाई आधुनिक शिक्षा प्रणाली भनिन्छ ।

आधुनिक शिक्षा प्रणालीले अमुक मुलुकमा आवश्यक बहुआयामिक जनशक्तिको प्राप्तिमा जोड दिन्छ । यसले मुलुकको विकास, समृद्धि र हितलाई शिक्षा प्रणालीमा समाहित गर्छ । नेपालमा गुणस्तरीय शिक्षा प्रवाह हुन नसकेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शोध तथा अनुसन्धानले देखाएका छन् । नेपालका विश्वविद्यालयले खोज तथा अनुसन्धानमूलक शिक्षालाई बढावा दिन नसक्नु विश्वविद्यालको शैक्षिक गुणस्तर खस्कनुको मुख्य कारण हो । नेपालका विश्वविद्यालयमा राजनीतिक प्रभावमा योग्य प्राध्यापकहरूको चयन हुन नसकेका कारण पनि विश्वविद्यालयको पठनपाठनमा नकारात्मक प्रभाव परेको सुनिन्छ ।

नेपालमा विद्यालय तहको शैक्षिक गुणस्तरको अवस्था झनै नाजुक छ । तुलनात्मक रूपमा निजी विद्यालयको भन्दा सामुदायिक विद्यालयको शिक्षाको स्तर कमजोर रहेको देखिन्छ । निजी विद्यालय भौतिक सेवा–सुविधामा सम्पन्न छन् । व्यापारमुखी रहेका कारण त्यहाँको व्यवस्थापकीय पक्ष अब्बल देखिन्छ । निजी विद्यालयले बजारबाट उत्तम शिक्षक छनोट गर्ने अवसर प्राप्त गर्छन् । निजी विद्यालयले अब्बल पाठ्यपुस्तक र शैक्षिक सामग्री छनोट गर्न सक्ने अवस्था छ । यस्ता विद्यालयसँग शिक्षित, चेतनशील र सम्पन्न अभिभावक छन्, जो आफ्ना बच्चाको हरसमय जानकारी राख्छन् र आफ्ना बच्चालाई अध्ययन गर्ने वातावरण निर्माण गर्छन्, जसले गर्दा निजी विद्यालयको पठनपाठन प्रभावकारी हुन पुगेको छ ।

अर्कातिर सामुदायिक विद्यालयको अवस्था नाजुक छ । कतिपय सामुदायिक विद्यालयका शिक्षक राजनीतिमा लागेका छन्, जसले विद्यालयको पठनपाठनलाई नकारात्मक असर पुर्‍याएको छ । राजनीतिक प्रभाव र सोर्सफोर्सका आधारमा नियुक्त भएका शिक्षकको कार्यक्षमता कमजोर रहेको विभिन्न शोध तथा अनुसन्धानले खुलाएका छन् । सामुदायिक विद्यालयमा खानेपानी, शौचालय, डेस्कबेन्चजस्ता भौतिक पूर्वाधारको अवस्था कमजोर देखिन्छ । 

नेपालमा गुणस्तरीय शिक्षा प्रणाली विकासका लागि विभिन्न सुधारका उपाय अपनाउनुपर्ने देखिन्छ । विश्वविद्यालयबाट प्रवाह गरिने शिक्षा वैज्ञानिक, खोजमूलक र अनुसन्धानमूलक बनाउन आवश्यक छ । विश्वविद्यालयका पाठ्यक्रम अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने देखिन्छ । शिक्षण विधि, पद्धति एवं प्रक्रियामा विश्वका उत्कृष्ट एवं विख्यात विश्वविद्यालयको अध्ययन गरी परिमार्जन गर्नुपर्छ । विश्वविद्यालयमा हुने अनुचित राजनीतिक अभ्यास बन्द गरी प्राध्यापक, विद्यार्थी एवं अभिभावकको ध्यान शैक्षिक गुणस्तर वृद्धितर्फ केन्द्रित गर्नुपर्छ । 
विद्यालयस्तरमा शैक्षिक गुणस्तर वृद्धिमा शिक्षकको भूमिका अथाह हुन्छ ।

शिक्षक शिक्षण सिकाइ प्रक्रियाको मियो हो । शिक्षामा सुधारका लागि विवेकशील, अध्ययनशील र ऊर्जाशील शिक्षकको आवश्यकता पर्छ । शिक्षक शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सक्षम, उत्कृष्ट वक्तृत्वकला र सहनशील क्षमता भएको हुनुपर्छ । शिक्षकको विशेष गुण हो, विद्यार्थीलाई विषयवस्तु बुझाउने कला, जुन सबैमा हुँदैन । विषयवस्तुको अथाह ज्ञान भएर मात्रै शिक्षक पूर्ण हुन सक्दैन । शिक्षकमा विषयवस्तुको ज्ञानका अलावा त्यसलाई बुझाउने कलासमेत हुनुपर्छ । अतः शिक्षक सेवा आयोगले शिक्षक छनोट गर्दा लिखित र मौखिक परीक्षाका अलावा अवलोकनात्मक परीक्षाको पनि थालनी गर्नुपर्छ, जसमार्फत शिक्षकको विषयवस्तु बुझाउने कलाको मापन गरी योग्य शिक्षकको छनोट हुन सक्छ । 

सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्न सक्षम नेतृत्वकर्ताको आवश्यकता पर्छ । त्यसका लागि समन्वयकारी, अध्ययनशील, उत्प्रेरक, क्षमतावान् खुबीको मापन गरी प्रतियोगितात्मक परीक्षाद्वारा सक्षम र योग्य प्रधानाध्यापक छनोट गर्नुपर्छ । निजी विद्यालयसँग प्रतिस्पर्धा गरी सम्पन्न र शिक्षित अभिभावकका छोराछोरीको आवागमन गराउनु सामुदायिक विद्यालयको मुख्य चुनौती हो । त्यसका लागि उत्कृष्ट पाठ्यपुस्तक र पाठ्यसामग्री छनोट गरी पढाउने व्यवस्था गरिनुपर्छ । साथै सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा समेत पठनपाठन गर्न सकिएमा निजी विद्यालयतर्फ विद्यार्थी पलायन हुने समस्या समाधानमा सहयोग पुग्छ । 

गुणस्तरीय शिक्षाविना मुलुकको विकास र समृद्धिको कल्पनासमेत गर्न सकिँदैन । विश्वका प्रत्येक समृद्ध मुलुक गुणस्तरीय शिक्षाका कारण नै समृद्धिको शिखर चुम्न सफल भएका हुन् । शिक्षक र शिक्षाक्षेत्रको सम्मानविना गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिँदैन । विश्वका विकसित मुलुकमा शिक्षकको विशेष सम्मान र सुविधा रहेको देखिन्छ । नेपालमा शिक्षकको सम्मान र सुविधामा देखिएको कमीले गर्दा मुलुकका सक्षम, दक्ष, योग्य र मेधावी जनशक्ति शिक्षा क्षेत्रतर्फ आकर्षित नभएको गुनासो सुनिन्छ । यसर्थ मुलुकका मेधावी जनशक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न शिक्षकको सेवा र सुविधा रोजगारीका अन्य क्षेत्रमा भन्दा बढाउनुपर्ने देखिन्छ । शिक्षकले कलिला बालबालिकालाई ज्ञान, सीप, क्षमता र सभ्यता प्रदान गरी देश विकासका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्ने हुँदा व्यक्ति, समुदाय र राज्यले शिक्षक एवं सो पेसालाई विशेष सम्मान गर्नुपर्छ ।

(दाहाल नेपाल सरकारका अधिकृत हुन्) [email protected]