गोलरक्षक विकेश कुथूको गल्तीमा त्रिभुवन आर्मी फुटबल क्लब पहिलो झापा कपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । उपाधि दाबेदार मानिएको आर्मी सोमबार सिराहाको सलहेश फुटबल क्लबसँग २–० को अन्तरले स्तब्ध हुँदै अन्तिम आठबाट बाहिरिएको हो । कुथू नेपालको क्लब स्तरीय खेलमा अनुभवी र सफल गोलरक्षक हुन् । तर, डोमालाल राजवंशी रंगशालामा उनको प्रदर्शन स्तरीय हुन सकेन । उनले सहलेशविरुद्ध पहिलो हाफमा बारम्बार गल्ती गरे ।
पहिलो रोजाईका गोलरक्षकको सामन्य गल्तीमा गोल व्यहोरेपछि प्रशिक्षक मेघराज केसीले उनलाई दोस्रो हाफमा मैदानबाट निकाले कुथूको स्थानमा अर्का गोलरक्षक समित श्रेष्ठले मौका पाए । यस रंगशालामा आर्मी कुनै पनि प्रतियोगिताबाट सुरुवातमै बाहिरिएको इतिहास छैन । यसै रंगशालामा आयोजना हुने झापा गोल्डकपमाथि आर्मीले चारपटकसम्म उपाधि उचालेको रेकर्ड छ । तर, पहिलो संस्करणको झापा कप भने आर्मीले झापाली समर्थकलाई निराश बनायो ।
बलियो आर्मीविरुद्ध सलहेशले खेलको १८औँ र २६औँ मिनेटमा गोल गरेको थियो । खेलको १८औँ मिनेटमा सलहेशका अभि लामाले अग्रता गोल गरे । पोस्टभन्दा २७ यार्डबाट उनको फितलो प्रहार आर्मीका गोलरक्षक कुथूले राम्रोसँग जज गर्न सकेनन् । बल नियन्त्रणमा लिन कुथूले डाइभ गर्दा मैदानमा बल ड्रप भयो । खेलको २६औँ मिनेटमा गोलरक्षक कुथुले यस्तै असमान्य गल्ति गरे । सलहेका आदित्य शाक्यले आर्मीका डिफेन्डरको गल्तीमा बल अघि बढाउँदा कुथू अनावश्यक बिट हुन पुगे ।
खेलको ३७औँ मिनेटमा फगुराम थारूको प्रहारलाई कुथूले ठम्याउन सकेनन् । थारूले दोस्रो बार च्यापेर बल प्रहार गरेका थिए । कुथूबाट रिवाउन्ड भएको बलमाथि सलहेशका जोन्हा ग्लोरीले प्रहार गरेको बल पहिलो बारमा लागेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा पराजित भए पनि आर्मीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखेको आर्मी फिनिसिङमा चुकेको थियो । अनुभवी खेलाडी भरत खवासको कप्तानीमा रहेको आर्मीका स्ट्राइकर जेलस्पीजंग कार्की र नवयुग श्रेष्ठ चल्न सकेनन् ।
गोलरक्षक दीपको उत्कृष्ट बचाउ
खेलको २०औँ मिनेटमा आर्मीका जेलस्पीजंगले दिएको पासमा डिबक्सभित्र रहेका नीरजकुमार घिसिङ गोल गर्न चुके । निरजले फितलो प्रहार गर्दा सहलेशका गोलरक्षक दीप कार्कीले सहजै नियन्त्रणमा लिए । खेलको ५५औँ मिनेटमा आर्मीका नीरज चौधरी कर्नर किकमा आयुश तिम्सिनाको हेडिङ गोलप्रयासलाई गोलरक्षक दीपक कार्कीले विफल पारे । खेलको ७३ औँ मिनेटमा आर्मीका स्टाइकर जेलस्पीजंगले डिबक्सभित्रबाट प्रहार गरेको बल आकाशियो ।
यस वर्ष आर्मीले मोफसलमा खराब प्रदर्शन गर्दै आएको छ । गत वैशाखमा भएको भीमनारायण गोल्डकपको पहिलो चरणबाटै आर्मी बाहिरिए थियो । भोजपुर गोल्डकपमा उपविजेता भएको आर्मी ताप्लेजुङ गोल्डकपमा क्वार्टरफाइनलमै रोकिएको थियो । केही समयअगाडि भएको इलामा गोल्डकपबाट आर्मी पहिलो खेलमै बाहिरिएको थियो । प्रतियोगिताको मंगलबार दोस्रो क्वार्टरफाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबिच हुनेछ ।
खेल सकिएपछि भरतलाई रातो कार्ड
निकै प्रतिस्पर्धात्मक खेलमा फिफा रेफ्री श्याम दनुवारका केही निर्णयप्रति आर्मीका खेलाडीले चित्त बुझाएका थिएनन् । मैदानमा पनि उनीहरूले रेफ्रीमाथि असन्तुष्टि पोखिरहेका थिए । खेल सकिएपछि आर्मीका कप्तान भरत खवासले रातो कार्ड पाएका छन् । खेल सकेर मैदानबाट बाहिरिने क्रममा रेफ्री दनुवारलाई गाली गरेपछि उनले रातो कार्डपाएका हुन् ।