नेपालबाट चीनमा राँगा–भैँसीको मासु निर्यात गर्न दुई देशका कम्पनीबिच सम्झौता भएको छ । चीनको सांघाई जियान फुड प्रालि र नेपालको हिमालयन फुड इन्टरनेसनलबिच नेपालबाट राँगा–भैँसीको मासु निर्यात सम्झौता भएको हो ।
सम्झौताअनुसार चिनियाँ कम्पनी जियानले नेपाली कम्पनी हिमालयन फुडमार्फत नेपालमा राँगा–भैँसीपालन, मासु प्रशोधन र निर्यातका लागि लगानी गर्नेछ । व्यावसायिक भैँसीपालन, नश्ल सुधार, अन्तर्राष्ट्रियस्तरको बधशाला निर्माण, मासु प्रशोधन हुने उद्योग स्थापनालगायतमा लगानी गरिने बताइएको छ । चिनियाँ कम्पनी जियान मासु प्रशोधन तथा बिक्रीमा अनुभवी कम्पनी हो, चीनमा जियानका ६ हजारभन्दा बढी आउटलेट छन् ।
सम्झौता कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले निर्यात सहजीकरणका लागि सरकारले ऐन–नियम सुधारदेखि पूर्वाधार निर्माणलाई जोड दिने बताए ।
‘हालै सम्माननीय प्रधानमन्त्रीज्यूको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच राँगाको मासु निर्यात गर्नेसम्बन्धी प्रोटोकल सम्झौता सम्पन्न भएको छ । यो नेपाल चीनबिच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोसेढुंगाका रूपमा रहेको छ,’ उनले भने, ‘नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई राँगा–भैँसीपालनका लागि थप प्रोत्साहित गरेको छ ।’
किसानले उत्पादन गरेको राँगाको मासुको गुणस्तर सुनिश्चित गरेपश्चात् नेपाली उपभोक्ताले प्रयोग गर्ने तथा चीन सरकारको मापदण्डअनुसारको निर्यात गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालको प्रशोधित भैँसीको मासुको उत्पादन चीनलाई निर्यात गर्ने परयोजनाका लागि रणनीति सहयोगको ‘गेम चेजिङ’ हस्ताक्षरण भएको सामाजिक सञ्जाल एक्समा लेखेका छन् । यस आयोजनाले नेपालमा एक खर्बभन्दा बढी लगानीको भैँसीपालन उद्योग खुल्ने र हजारौँ ग्रामीण परिवारलाई लाभान्ति हुने उनले लेखेका छन् ।