एकपटक एक राजाले संसारमा कुन–कुन जीव पटक्कै उपयोगी छैनन्, तिनको खोज, अनुसन्धान गर्न आफ्ना कर्मचारीलाई आदेश दिए । राजाको आदेशअनुसार लामो खोज, अनुसन्धानपछि कर्मचारीले विशेष प्रतिवेदन तयार गरेर राजालाई बुझाए । प्रतिवेदनमा जंगली झिँगा र माकुरा पटक्कै उपयोगी नभएको उल्लेख थियो । प्रतिवेदन पढिसकेपछि राजाले मनमनै सोचे– कुनै उपयोगमा आउन नसक्ने झिँगा र माकुरालाई नष्ट गर्नुपर्ला । यिनलाई बेकारमा किन राखिरहनु ?
यसैबिच ती राजाको राज्यमा अर्को एक शक्तिशाली राज्यका राजाले आक्रमण गरे । युद्धमा उनको हार भयो । उनी ज्यान बचाउँदै भागेर एउटा घना जंगलमा पुगे । शत्रु राजाका सिपाही उनलाई खोज्दै पछि लागे । भाग्दाभाग्दै राजा जंगलको भित्री भागमा पुगे । उनी निकै थाकिसकेका थिए । तिर्खा पनि लागेको थियो । एउटा खोल्सामा पानी पिएर उनी नजिकैको रुखको शीतल छहारीमा पल्टिए । थकाइले चुर भएका राजा एकै छिनमा भुसुक्कै निदाए ।
राजा निदाएको धेरै भएको थिएन, एउटा जंगली झिँगाले उनको नाकमा टोकिदियो । पीडाले रन्थनिँदै उठेपछि उनलाई लाग्यो– ओहो ! यसरी खुला स्थानमा सुतियो भने शत्रु सेनाले एकैछिनमा भेटिहाल्छ नि ! यस्तो सोचेर उनी अघि बढे । नजिकै गुफा भेटियो । उनी गुफाभित्र पसे । राजा भित्र पसेपछि एउटा माकुरो गुफाको मुखमा जाल बुन्न थाल्यो । केहीबेरमा जाल पनि तयार भयो । शत्रु सेना राजालाई खोज्दै त्यहीँ आइपुगे । गुफाको मुखमा माकुराको जाल देखेर एक सिपाहीले भने– यो गुफामा त माकुराको जाल जस्ताको तस्तै छ । राजा यहाँ आएको थियो भने त यो जाल नष्ट भइहाल्थ्यो नि ! ‘हो हो’ भन्दै सिपाहीहरू अर्कैतिर लागे । गुफामा लुकेका राजाले यो सबै सुनिरहेका थिए । उनलाई लाग्यो– यो संसारमा कुनै पनि प्राणी उपयोगहीन हुँदैन रैछन् । आज जंगली झिँगा र माकुरा नहुँदा हुन् त मेरो प्राण गइसकेको हुने थियो ।