इस्मा गाउँपालिका ४ दोहली स्वास्थ्यचौकीका एम्बुलेन्सचालक ३८ वर्षीय दानबहादुर पाण्डेयमाथि कुटपिट भएको छ । पाण्डेयलाई बिहीबार राति स्थानीय लीलबहादुर अछामीले निर्घात कुटपिट गरेका हुन् । गम्भीर घाइते पाण्डेयको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।
कुटपिटबाट उनको आँखामाथिको हड्डी भाँच्चिएको, दाँत झरेको, खुट्टा र शरीर सुन्निएको, आँखा निलो साथै नाक र मुखबाट रगत बगेको अवस्था फेला पारिएको इस्मा कोभिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले जानकारी दिए । इस्मा कोभिड १९ अस्पतालबाट बिरामी घरमा लैजान स्वास्थ्यचौकी हिँडेको वेला कार्यालय नजिकै एक्कासि कुटपिट भएको पीडित दानबहादुर पाण्डेयले बताए ।
पीडित पाण्डेयले एक हप्ता पहिले पनि मदिरा सेवन गरेका अछामीले इस्मा ३ नयाँपोखरामा एम्बुलेन्स रोकेर कुटपिटको प्रयास गरेको गुनासो गरे । पाण्डेय र संयुक्त एम्बुलेन्सचालक संघले जिल्ला प्रहरी कार्यालयमा घटनाका दोषीहरूलाई कारबाहीको माग गरेर उजुरी दिएका छन् । इस्मा कोभिड १९ अस्पतालले पनि विज्ञप्ति जारी गरेर दोषीलाई कडा कारबाहीको माग गरेको छ । ‘कोभिड १९ को बिरामी बोक्ने एम्बुलेन्सचालकमाथिको हमलाले स्वास्थ्यकर्मी पनि असुरक्षित भएका छौँ,‘इस्मा कोभिड अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले भने, ‘आरोपितलाई अविलम्ब कारबाहीको माग गर्छौँ ।’
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले घटनामा संलग्नको खोजीकार्य जारी भएको बताए । केही महिनाअघि पनि रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्सचालक कुटिएका थिए । संयुक्त एम्बुलेन्सचालक संघ गुल्मीका सचिव युवराज बस्नेतले पटक–पटक आफूहरूमाथिको आक्रमण अब सहेर नबस्ने बताए । उनले केही महिनाकै अन्तरालमा दुई एम्बुलेन्सचालक कुटिएकोप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई कडा कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिए ।