क्रिप्टोकरेन्सीको उत्पादन (माइनिङ), कारोबार गरे कारबाही हुने भन्दै चार वर्षपछि राष्ट्र बैंकले पुनः चेतावनी दिएको छ । हालका दिनमा क्रिप्टोकरेन्सीहरूको कारोबार, प्रयोग र माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहित गर्ने–गराउनेसमेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरू ठगिएको वा ठगिन सक्ने देखिएकाले कसैले यस्ता कार्य नगर्न–नगराउन भन्दै राष्ट्र बैंकले सूचना सार्वजनिक गरेको हो ।
साउन ०७४ मा राष्ट्र बैंकले बिटक्वाइनको कारोबार र माइनिङ नेपालमै हुन थालेपछि चेतावनीसहित सूचना जारी गरेको थियो । गत चैतमा पनि खुसिबुमा र करिब चार वर्षअघि दोलखामा क्रिप्टोमाइनिङमा संलग्न रहेकाहरूलाई पक्राउ गरेको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालहरूमा समेत मुलुकभित्र र बाहिर रहेका नेपालीहरूले समेत लगानी प्रस्ताव गर्दै म्यासेज गर्ने, लिंकहरू दिनेजस्ता काम गरिरहेको पाइएको छ । टर्की, नाइजेरिया, भियतनामलगायत मुलुकमा क्रिप्टोकरेन्सीमा रोक लगाइएको छ ।
भारतमा समेत यसमा रोक लगाउने गृहकार्य भइरहेको छ । भारतमा एक करोड ५० लाख मानिससँग क्रिप्टोकरेन्सी रहेको र उनीहरू कारोबारमा संलग्न रहेको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतको केन्द्रीय बैंकले भने क्रिप्टोकरेन्सीको विकल्पमा डिजिटल करेन्सीको सुरुवात गर्ने तयारी पनि गरिरहेको छ । आगामी पुस (डिसेम्बर) बाट यस्तो करेन्सीको प्रयोग हुने अनुमान त्यहाँ गरिएको छ ।
नेपालमा समेत सेन्ट्रल बैंक डिजिटल करेन्सी जारी गर्ने लक्ष्य चालू आवको मौद्रिक नीतिले लिएको छ । केन्द्रीय बैंकहरूले मुद्राको प्रवाह नियन्त्रण गर्ने र यसैका आधारमा मूल्यमा स्थिरता कायम राख्ने गर्छन् । क्रिप्टोकरेन्सीको बढ्दो प्रयोग र यसका प्रचारकहरूले भनेजसरी यसको कारोबारमा व्यापकता आउने हो भने विश्व अर्थतन्त्रले नै धान्न नसक्ने गरी समस्या आउने प्रक्षेपण गरिएको छ । विशेष गरी नियमनको दायराभन्दा बाहिर हुने भएकाले पनि यसको कारोबारलाई लिएर केन्द्रीय बैंकहरू चिन्तित हुने गरेका छन् ।