मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २४ बिहीबार
  • Thursday, 19 December, 2024
सुरेन्द्रसिंह रावल
२o७८ भदौ २४ बिहीबार १o:३o:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

समृद्ध मुलुक, सुदृढ राष्ट्रिय सुरक्षा

Read Time : > 4 मिनेट
सुरेन्द्रसिंह रावल
नयाँ पत्रिका
२o७८ भदौ २४ बिहीबार १o:३o:oo

राष्ट्रिय सुरक्षा बहुआयामिक र संवेदनशील विषय हो । यसमा प्रतिरक्षालगायत राजनीतिक, आर्थिक, सामाजिक तथा मानवीय सुरक्षाका समग्र पाटाहरू पर्छन् । तर, मुलुकको सुरक्षालाई हेर्ने दृष्टिकोण र समझदारीको गहनता व्यक्ति, काल र परिस्थितिअनुसार फरक–फरक हुने गरेको पाइन्छ । यो आलेखमा कौटिल्यको अर्थशास्त्रमा उल्लिखित विषयवस्तुको आधारमा नेपालको राष्ट्रिय सुरक्षालाई हेर्ने जमर्को गरिएको छ ।

अर्थशास्त्र इसापूर्व दोस्रो शताब्दी र इसाको तेस्रो शताब्दीबीच कौटिल्यद्वारा लेखिएको मानिन्छ । उक्त ग्रन्थमा १५ खण्ड, १५० अध्याय तथा १८० विषयवस्तु समेटिएका छन् । संस्कृतमा लेखिएको सो पुस्तकलाई थुप्रै किसिमबाट अनुवाद गरिए पनि डा. शामशास्त्रीद्वारा सन् १९१५ मा गरिएको पहिलो र सन् १९२९ को चौथो अंग्रेजी अनुवादलाई विद्वान्हरूले सन्दर्भसामग्रीको रूपमा लिएको पाइन्छ । उक्त अनुदित अर्थशास्त्रको समग्र खण्डको विश्लेषण गर्दा करिब ७० प्रतिशत विषयवस्तु राष्ट्रिय सुरक्षासँग सम्बन्धित रहेको मुहम्मद साद र प्राध्यापक लिउ वेनसियाङले उल्लेख गरेका छन् ।

मुलुकको आर्थिक विकासलाई राष्ट्रिय सुरक्षाको मेरुदण्ड उल्लेख गर्दै यसले मुलुकको बार्गेनिङ क्षमता मात्र अभिवृद्धि नभई सेनाको विकासलाई पनि योगदान पुग्ने कौटिल्यको भनाइ छ । वास्तवमा जब मुलुक समृद्ध हुन्छ, राष्ट्रिय सुरक्षा स्वतः सुदृढ हुँदै जान्छ । जनता र अर्थतन्त्रलाई राष्ट्रिय सुरक्षाको हिसाबबाट सेनाभन्दा पनि माथि राख्छन्, कौटिल्य । जनता, अर्थतन्त्र र सेनाको सही तालमेल हुन सकेमा मात्र मुलुकको राष्ट्रिय सुरक्षा र आर्थिक विकास सँगसँगै अघि बढ्न सक्छ । सेनालाई ‘दण्ड’ र अर्थतन्त्रलाई ‘कोष’ भन्दै उनले देशको समुन्नतिका लागि ‘कोषदण्ड’लाई जोड दिएको पाइन्छ । मुलुकका मूर्त र अमूर्त सबै स्रोतसाधनको समुचित उपयोग गरी राष्ट्रिय शक्ति अभिवृद्धि गर्नुपर्ने कौटिल्यको भनाइ छ । अर्थशास्त्रमा थुप्रै सिद्धान्तहरू समेटिएका भए पनि राष्ट्रिय सुरक्षाको प्रसंगमा ‘मण्डल’ र ‘सप्तांग’का बारेमा अधिक चर्चा पाउँछौँ ।

मण्डल सिद्धान्तअन्र्तगत मण्डल (गुट वा समूह)को केन्द्रमा एउटा राजाको परिकल्पना गरिएको छ, जो अन्य राज्यलाई जित्न उत्सुक रहन्छ । यस्तो राजालाई ‘विजिगीषु’ भनिन्छ । विजिगीषुको मार्गमा आउने पहिलो राज्य ‘अरि’ अर्थात् शत्रु हो । अनि, शत्रुसँग जोडिएको राज्य ‘शत्रुको शत्रु’ मानिन्छ, जो विजिगीषुको मित्र हुन्छ । आफ्नो ‘नजिकको छिमेकी प्राकृत शत्रु’ तथा ‘शत्रुको शत्रु प्राकृत मित्र’ हुन्छ भन्ने नै यो सिद्धान्तको सार हो । विजिगीषु आधुनिक ‘हेजेमोन’ जस्तै हो, जसले विभिन्न राज्यहरूसँग शत्रुता तथा मित्रताको आधारमा मण्डल तयार गर्छ । मण्डललाई आधुनिक राजनीतिक यथार्थवादको ‘ब्यालेन्स अफ पावर’ ‘सेक्युरिटी डिलेमा’ र ‘एलायन्स’सँग तुलना गर्न सकिन्छ । कौटिल्यले ‘उदासीन’ अर्थात् तटस्थ राज्यको पनि वर्णन गरेका छन्, जसले विजिगीषुको रणनीतिमा भाग लि“दैन । त्यस्तैगरी, ‘मध्यम’ एक प्रकारको ‘बफर’ राज्य हो । जसको मुख्य ध्येय दुई शक्तिशाली राज्यको झडपबाट परै रहने र दुवैसँग राम्रो सम्बन्ध बनाइराख्ने हुन्छ । तर, मध्यम राज्यलाई आफूसँग मिलाउने विजिगीषुको सोच रहन्छ ।

हुन त वर्तमान सन्दर्भमा कौटिल्यको यो सिद्धान्तको उपयोगिता र औचित्य कति छ, यकिन भन्न सकिँदैन । तथापि, भारतीय जनता पार्टीलगायत अखण्ड भारतका दाबेदारहरूले मण्डल सिद्धान्तलाई बढी महत्व दिएको देखिएकाले यसलाई बुझ्न जरुरी छ । मण्डल सिद्धान्तको व्याख्या गर्दै केही भारतीयले नेपाललाई तटस्थ राज्यको रूपमा नभई मध्यम राष्ट्रको रूपमा हेरेको पाइन्छ ।

जनता, अर्थतन्त्र र सेनाको सही तालमेल हुन सकेमा मात्र मुलुकको राष्ट्रिय सुरक्षा र आर्थिक विकास सँगसँगै अघि बढ्न सक्छ 

यस्ता विचार राख्नेहरूको दृष्टिमा नेपाल र भारतबीचको १९५० को सन्धिका कारण नेपाल तटस्थ राज्य हुन सक्दैन, अपितु मध्यम राज्य हुन्छ भन्ने भनाइ रहेको छ । विगतमा नेपालको शान्तिक्षेत्रको प्रस्ताव पनि यिनै कारणले भारतले अस्वीकार गरेको हो । यदि यो मण्डल सिद्धान्तलाई नै मान्ने हो भने पनि नेपाल मध्यम राज्यबाट तटस्थ राज्यमा रूपान्तरण हुन १९५० को सन्धिलाई खारेज वा संशोधन गर्नुपर्ने देखिन्छ । जसरी कौटिल्य ‘गरिबी मृत्यु हो’ भन्ने कुरामा विश्वास गर्थे, त्यसरी नै उनी कुनै पनि मुलुक विदेशीको हैकममा रहेर कहिल्यै समृद्ध हुन सक्दैन र सार्वभौमिकता राष्ट्रको समृद्धिका लागि पूर्वसर्त हो भन्ने मान्यता राख्थे । 

मण्डल सिद्धान्तमा उल्लिखित ‘उदासीन’ राज्यले चुपचाप नबसी तटस्थता अपनाउ“दै र सन्तुलन कायम गर्दै अघि बढ्ने परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ । जसलाई यदुनाथ खनालले ‘सन्तुलन’ वा ‘निरन्तर गतिशीलता’ र लियो रोसले ‘डाइनामिक न्युट्रालिटी’का रूपमा पनि अथ्र्याएका छन् । तटस्थ रहन सकेन भने कौटिल्यकृत कूटनीतिमा नेपाल घुनझै“ पिसिन सक्ने सम्भावना रहन्छ । गोर्खा राज्यले एकीकरणको दौरान मण्डल सिद्धान्त उपयोग गरे पनि वर्तमान नेपालले सक्रिय सुरुआत गर्न सक्ने देखिँदैन, किनभने यो मुख्य रूपमा आधिपत्य जमाउन अग्रसर राष्ट्र (हेजमोन)ले प्रयोग गर्ने रणनीति हो ।

यद्यपि, नेपालले मण्डलअनुसार आफ्नो स्थान (अरि, मित्र, मध्यम वा उदासीन राज्यमध्ये आफूलाई कहा“ उभ्याउने) यकिन गर्नुपर्ने देखिन्छ । उनको अर्थशास्त्रको अर्को चर्चित सिद्धान्त ‘सप्तांग’ हो । उनका अनुसार राज्यका सात मुख्य अंग हुन्छन्– शासक, मन्त्रिमण्डल, जनता र भूमि, रणनीतिक पूर्वाधार, अर्थतन्त्र, सेना र मित्र । चाणक्यकालमा अहिलेजस्तो राष्ट्र–राज्यको परिकल्पना थिएन, तापनि मुख्य रूपमा यी सात तत्वहरू बलिया भएमा नै राज्यको सुरक्षा दह्रो हुने कुरामा शंका छैन । आधुनिक रणनीतिक शास्त्रमा पनि यिनैलाई राष्ट्रिय शक्तिको तत्वका रूपमा व्याख्या गरेको पाइन्छ । कौटिल्यद्वारा वर्णित पहिलो पाँच तत्वले आन्तरिक आयामलाई महत्व दिन्छ भने अन्तिम दुईले बाह्य पक्षलाई जोड दिन्छ । 

राष्ट्रिय सुरक्षाका सन्दर्भमा आन्तरिक सुरक्षालाई केन्द्रमा राख्नुपर्ने कुरालाई महत्वका साथ औँल्याइएको छ । जसमा देशभित्रका असन्तुष्टि र विग्रहलाई समयमै रोक्नुपर्ने विषयहरू प्रमुख छन् । अर्थशास्त्रमा मुलुकमा आइपर्ने खतरालाई चार प्रकारमा विभाजन गरिएको छ : (१) बाहिरी शक्तिले देशभित्र उत्पन्न गर्ने विपत्ति, (२) देशभित्रका जनता बाहिरी शक्तिसँग मिलेका कारण उत्पन्न हुने विपत्ति, (३) बाह्य शक्तिले मुलुकबाहिर नै गर्ने षड्यन्त्र र (४) देशभित्रकै तत्वले मुलुकभित्रै गर्ने षड्यन्त्र । यी चार आपत्तिमध्ये आन्तरिक विद्रोहलाई पहिले सम्बोधन गर्नुपर्छ भन्छन्, कौटिल्य । उनी भन्छन्, ‘घरमा भएको साँपझैँ देशभित्रैबाट हुने विद्रोह शत्रुको आक्रमणभन्दा धेरै नै खतरनाक हुन्छ ।’ 

भारतमा जवाहरलाल नेहरू, प्रणव मुखर्जी र शिवशंकर मेननजस्ता नेताहरू मात्र नभई समाजको एक हिस्सालाई चाणक्य नीतिले राम्रै प्रभाव पारेको देखिन्छ । स्वतन्त्र भएपछि भारतले पाकिस्तानसँग तीन युद्ध लडेको र थप दुईपटक आणविक शक्ति प्रदर्शनको संघारमा समेत पुगेको थियो भने चीनसँग एक युद्ध लड्नुका साथै तीनपटक अन्तर्राष्ट्रिय सीमामा झडपमा संलग्न भएको थियो । अफगानिस्तान, इरान, रुस, जापानजस्ता ‘छिमेकीका छिमेकी’सँग भारतले सौहाद्र्रपूर्ण सम्बन्ध कायम राखेको छ ।

भारतीय राष्ट्रिय सुरक्षाको यो प्रवृत्तिले अर्थशास्त्रको मण्डल सिद्धान्तसँग तादात्म्यता राख्छ । इतिहासको विभिन्न कालखण्डमा ‘मध्यम’ राष्ट्रबाट बाहिर निस्कन नेपालले प्रयत्न गरेको प्रशस्त उदाहरणहरू छन् । सन् १९५६ मा भारतीय राष्ट्रपति डा. राजेन्द्र प्रसादले नेपालको राजकीय भ्रमणका दौरान सम्बोधनमा ‘भारतले नेपालको मित्रलाई भारतको मित्र तथा नेपालको शत्रुलाई भारतको शत्रु मान्छ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको विरोधमा तत्कालीन राजनीतिक दलहरू नेपाली कांग्रेस, गोर्खा परिषद् र कम्युनिस्टहरू एकबद्ध भएका थिए ।

त्यस्तै, जवाहरलाल नेहरूद्वारा भारतीय पार्लियामेन्टमा सन् १९५९ मा दिइएको ‘नेपालविरुद्धको आक्रमण भारतविरुद्धको आक्रमणसरह मानिने’ अभिव्यक्तिमा बिपी कोइरालाले प्रतिवाद गरेका थिए । कहिले फरक सभ्यता भएका दुई विशाल छिमेकी राष्ट्रहरू चीन र भारतबीच सेतुको रूपमा त कहिले तटस्थ, असंलग्न, समदूरी वा समान मित्रता राख्ने राष्ट्रको रूपमा नेपालले आफूलाई प्रस्तुत गर्ने कोसिस गरेको छ ।

राष्ट्रिय सुरक्षाका सन्दर्भमा कौटिल्यको अर्थशास्त्रबाट नेपालले ग्रहण गर्नुपर्ने केही पाठ छन् । पहिलो, नेपालले तटस्थ राज्य बन्न हरसम्भव प्रयत्न गर्नुपर्छ, जसका लागि १९५० सन्धिको बाधा फुकाउन जरुरी छ । दोस्रो, आर्थिक विकास नै राष्ट्रिय सुरक्षाको भरपर्दो र दीर्घकालीन उपाय भएकाले त्यो नै मुलुकको प्राथमिकता हुनुपर्छ । तेस्रो, आन्तरिक खतरा घरमा लुकेको सा“पझै“ डरलाग्दो हुने भएकाले त्यसका लागि हेलचेक्र्याइँ नगरी पूर्ण तयारी गर्नुपर्छ ।