नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको संसदमा उपस्थिति मान्य नहुने बताएको छ। बुधबार बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत पूर्वएमालेका १४ जना सांसदलाई पार्टीबाट निष्कासन गरिएको भन्दै संसद् बैठकमा ती गैरसांसदको उपस्थिति आफूहरूलाई मान्य नहुने बताए।
सभामुखले कसैलाई सांसदबाट निष्कासन गर्ने र कसैलाई नगर्ने पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले माधव नेपाललगायतका सांसदहरू बैठकमा आउने भए रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलगायतका सांसद पनि संसद् बैठकमा आउन पाउनुपर्ने बताए।
ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भूमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताए।
सभामुख सापकोटा एमाले फुटाउने असंवैधानिक र गैरकानुनी काममा संलग्नता रहेको भन्दै आफूहरू सभामुखलाई निष्पक्ष रूपमा मानेर अगाडि बढ्न नसक्ने प्रस्ट्याए। उनले सभामुखको एमालेविरोधी गतिविधिको विरुद्धमा एमालेको गम्भीर प्रश्न रहेको उल्लेख गर्दै सभामुखलाई निष्पक्ष मानेर संसद् चल्न नसक्ने पनि स्पष्ट पारे।
उनले दार्चुलामा भारतीय पक्षले तुइनबाट खसाली जयसिंह धामीको मृत्यु भएको भन्ने छानबिन समितिको प्रतिवेदन आइसक्दा पनि सरकारले यस विषयमा बोल्न रोक लगाएको भन्दै जनताको जिउधनबारे बोल्न रोक लगाउने वर्तमान गठबन्धन सरकार भत्काउने पनि बताए।