मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विश्वराज पछल्डङ्ग्या बाँके
२०७८ भदौ १९ शनिबार १७:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्ज विमानस्थलमा बरामद भएको सुनको अनुसन्धान गर्न समिति गठन

Read Time : > 1 मिनेट
विश्वराज पछल्डङ्ग्या बाँके
२०७८ भदौ १९ शनिबार १७:५३:००

नेपालगन्ज विमानस्थलमा शुक्रबार बरामद भएको चार किलो बढि सुनको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरीले छानबिन समिति बनाएको छ। त्रिभुवन विमानस्थल हुँदै शुक्रबार नेपालगन्ज पुगेको सुनलाई विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरीले बरामद गरेपछि उक्त सुन काठमाडौँ विमानस्थलबाट कसरी बाहिरियो भन्ने विषयमा छानबिन गर्न त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

नेपालगन्ज विमानस्थलमा कार्यरत प्रहरीले सुनसहित झापा खुदुनाबारी–६ का २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ्ग लेटाङ्ग–२ का २६ वर्षीय बुद्धिमान खातीलाई शुक्रबार दिउँसो नेपालगन्ज विमानस्थल परिसरबाट पक्राउ गरेको थियो ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार समितिमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षक सदस्य रहेका छन्। यति ठूलो परिमाणको सुन त्रिभुवन विमानस्थलबाट कसरी बाहिरियो भन्ने बारे समितिले छानबिन गरेपछि प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने बास्तोलाले बताए।

अलमलमा परेको देखेपछि खानतलास
शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको थियो। सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलायन्सको विमानबाट ३ बजे नेपालगन्ज पुगेका थिए।

उनीहरु विमानबाट ओर्लेर अलमलमा परेको देखेपछि शंका लागेर खानतलासी गर्दा जुत्ताको तलुवामा सुनका बिस्कुटलगायत सुनका गहना फेला परेको थियो। पक्राउ परेका खातीले यसअघि आफू सेम्पुको व्यापारी भएको प्रहरी समक्ष बताएका छन्।

विमानस्थलमा अलमल परेको देखेपछि केहि गढबड हुनसक्ने अनुमान पहिले नै लगाएको एक प्रहरी जवानले बताए। ‘खातीसँग पहिले पनि परिचय भएको थियो। उनले हामीलाई सेम्पुको कारोबार गर्ने बताएका थिए। सेम्पुको व्यापारी किन अलमलमा परे भन्ने लागेर सोधपुछ अगाडी बढायौँ,’ ति प्रहरी जवानले भने।
 
सुनसहित पक्राउ परेकाहरु भरिया हुन्ः बाँके प्रहरी
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी पक्राउ पर्नेहरू सुन बोक्ने भरिया भएको बताउँछन्। उनले उक्त सुन नेपालगन्जका व्यापारीको भएको बताए।  तीन जना व्यापारीको नाममा बिल भएको बताउँदै एसपी अधिकारीले बिल पनि शंकास्पद भएको जिकिर गरे। थप अनुसन्धान गरेर उनीहरुलाई सुनसहित राजस्व अनुसन्धान कार्यालयमा बुझाउने उनले बताए। ‘शंकास्पद लागेर हामीले सुन र भरियालाई नियन्त्रणमा लियौँ। अगाडीको थप अनुसन्धान र कारबाही राजस्व अनुसन्धानले नै गर्ला,’ उनले भने।

नेपालगन्जका चार व्यापारीको नाममा बिल
सुनचाँदी व्यवसायी संघ, बाँकेका अध्यक्ष सलाउद्दिन जसगढले प्रहरीले बरामद गरेको भनिएको सुन नेपालगन्जका चारजना व्यापारीले मगाएको जनाएका छन्। आफूहरुसँग सुन किनेको बिल भएको बताउँदै उनले प्रहरीले अनाहकमा अवैध भन्दै नियन्त्रणमा लिएर दुख दिएको बताए।

प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष जसगढ राति नै प्रहरी कार्यालय पुगेका थिए। पक्राउ परेका विश्वकर्मा र खातीले पनि नेपालगन्जका व्यापारीलाई सुन ल्याइदिएको प्रहरी समक्ष बयान दिएका छन्।