चीनमा १८ वर्षमुनिका बालबालिकाले एक घन्टा मात्र अनलाइन गेम खेल्न पाउने भएका छन्। चीनको भिडियो गेम नियामक निकायले अनलाइन गेममा कडाइ गर्दै यस्तो नियम लागू गरेको हो।
उनीहरूले अबदेखि शुक्रबार, शनिबार र छुट्टीको समयमा राति ८ देखि ९ बजेको बीचमा एक घन्टा मात्र अनलाइन गेम खेल्न पाउने यहाँको नेसनल प्रेस एन्ड पब्लिकेसन एडमिनिस्ट्रेसनलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। योभन्दा बाहेकको समयमा गेम खेल्नबाट बालबालिकालाई रोक्न गेमिङ कम्पनीहरूलाई समेत निर्देशन दिइएको छ।
यसअघि बालबालिकाले दैनिक ९० मिनेट र छुट्टीको समयमा तीन घन्टासम्म अनलाइन गेम खेल्न पाउने नियम थियो। एक महिनाअघि मात्र यहाँको सरकारी आर्थिक पत्रिकाले अनलाइन गेमले बालबालिका र युवाहरूमा नकारात्मक असर पारेको दाबी गरेको थियो।
पत्रिकामा प्रकाशित सो लेखका कारण चीनको सबैभन्दा ठूलो गेमिङ कम्पनीको सेयर मूल्य ठूलो अंकले गिरावट आएको थियो।