सिर्जना बोकेर अमेरिका, युरोप, बंगलादेश, भारत, श्रीलंका, कोरियालगायत देशमा पुग्ने कलाकार डेढ वर्षदेखि भर्चुअलमै सीमित भएका छन् । कुची र रङमा रमाउने कलाकारका पेन्टिङ कोठामा बन्द छन् ।
सधैँ पेन्टिङ र कलाकारले भरिने म्युजियम र आर्ट ग्यालरी बन्द भएको डेढ वर्ष भइसक्यो । आफ्नो सिर्जना बोकेर अमेरिका, युरोप, बंगलादेश, भारत, श्रीलंका, कोरियालगायत देशमा पुग्ने कलाकार भर्चुअलमै सीमित भएका छन् । खुला ठाउँ खोज्दै कुची र रङमा रमाउने कलाकार पेन्टिङ कोठामै बन्द छन् । कहिले कला प्रदर्शनी त कहिले कार्यशालातिर व्यस्त भइरहने कलाकारहरूको दैनिकी बदलिएको छ ।
कलाकारहरूले पेन्टिङहरूलाई भर्चुअल्ली प्रदर्शन त गरिरहेका छन् । तर, आर्ट सेन्टर, आर्ट ग्यालरीमै प्रदर्शनी गरेर भौतिक रूपमा चित्रकलाको आनन्द लिने अवस्था बनेको छैन । भौतिक उपस्थितिमा जस्तो दर्शकले चित्रलाई अनुभूत गर्न नपाएपछि चित्रप्रतिको आकर्षण घट्ने अनुभव छ कलाकार एनबी गुरुङको । ‘भर्चुअल्ली प्रदर्शनी गरिरहे पनि भौतिक उपस्थितिमा जस्तो प्रभावकारी हुन सकेनौँ । दर्शकको भौतिक उपस्थितिसहितको प्रदर्शनीको प्रभावकारिता र आकर्षण नै अर्कै हुन्छ ।’ उनी भन्छन्, ‘प्रत्यक्ष देखेर, नजिकबाट महसुस गरेर चित्रकलाको आनन्द लिनुको मजा नै अर्को हुन्छ । कलाकारले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँछन् ।’
यो अवधिका नेपाली चित्रकारहरूले भर्चुअल्ली रूपमा पनि निकै राम्रो कोसिस गरेका छन् । अहिले पनि उनीहरू डिजिटल प्लेटफर्ममार्फत बजारको खोजीमा जुटिरहेका छन् । तर, कलाकृतिलाई माया गर्नेहरू बढ्दै गएको अवस्थामा कोरोना महामारीले ठूलो क्षति पुगेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्मचार्यको विश्लेषण छ । उनी भन्छन्, ‘अहिले ललितकलाको क्षेत्र शून्य छ । कलाकारहरूको सिर्जनात्मक काममा प्रत्यक्ष असर नगरे पनि भौतिक रूपमा प्रदर्शन गर्न नसक्दा यसको असर दीर्घकालसम्मै रहन्छ ।’
कलाकार एरिना ताम्राकारको अनुभवले पनि यस्तै छ–अहिले समग्र कलाक्षेत्रको बजार नै खुम्चिएको छ । सिर्जनाहरू बढे पनि बजार ठप्प छ । एकाध भर्चुअल प्रदर्शनी भए पनि त्यसले आर्ट ग्यालरीमा कलाकार र दर्शकको उपस्थितिमा प्रदर्शन गरेजस्तो आनन्द नभएको ताम्राकारको अनुभूति छ । कर्मचार्यको बुझाइ पनि ताम्राकार र गुरुङकै जस्तो छ । भर्चुअल प्रदर्शनीले विश्वभरको असीमित कलाप्रेमी तथा दर्शकमाझ पुगे पनि व्यावसायिकताको पाटोमा भने शून्य नै रहेको बताउँछन् । अहिलेको संकटको अवस्थामा ‘पर्ख र हेर’को अवस्था मात्रै सिर्जना भएको उनको भनाइ छ । तैपनि आशावादी हुँदै भन्छन्, ‘जमघट हुने, चित्र प्रदर्शनी गर्ने अवस्था बनिनहालेकाले भर्चुअल प्रदर्शनी पनि उपयुक्त विकल्प हुन सक्छ ।’
भर्चुअल्ली प्रदर्शनी गरिरहे पनि भौतिक उपस्थितिमा जस्तो प्रभावकारी हुन सकेनौँ । दर्शकको भौतिक उपस्थितिसहितको प्रदर्शनीको प्रभावकारिता र आकर्षण नै अर्कै हुन्छ । प्रत्यक्ष देखेर, नजिकबाट महसुस गरेर चित्रकलाको आनन्द लिनुको मजा नै अर्को हुन्छ । कलाकारले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँछन् ।
‘दर्शकको पेन्टिङ किन्ने बानी हट्दै छ’
कोरोना महामारी र भर्चुअल प्रदर्शनीका कारण दर्शकको पेन्टिङ किन्ने बानी पनि हट्दै गएको र यसले कलकारको जीवनयापनमै असर गर्न सक्ने कलाकार दीपेन्द्र बनेपालीको अनुमान छ । उनले पनि अन्य कलाकारले झैँ सिर्जनालाई निरन्तरता त दिइरहेका छन्, तर बाहिर ल्याउन भने सकेका छैनन् । ‘भर्चुअल प्रदर्शनी पनि गरे, तर भौतिक रूपमा गरेजस्तो सफल भएन,’ भन्छन्, ‘सामान्य अवस्थामा हो भने स्टुडियोमा पेन्टिङ थन्किनु पर्दैनथ्यो । अझै महामारी लामो समयसम्म रहने हो भने पेन्टिङ राख्ने ठाउँ हुँदैन ।’ तर, सम्भावना अझै धेरै भएकाले कलाकारलाई नआत्तिन कर्मचार्यको सुझाब छ । अहिले धैर्यको खाँचो भएको बताउँछन् उनी । भन्छन्, ‘अहिले परिस्थिति जटिल छ । कलाक्षेत्र पुरानै लयमा फर्किन समय लाग्छ । तर, सधैँ यही अवस्था रहँदैन । एकदिन फेरि पुरानै दिनमा आउनेछ ।
पेन्टिङले भरिन थाले स्टुडियो
महामारीका कारण कलाकारको अवस्था र दैनिकी समस्याग्रस्त भएको बताउँछन् कलाकार एनबी गुरुङ । ‘कतिपय कलाकारहरूको पेन्टिङले स्टुडियो भरिएका छन् । अधिकांश कलाकारको पेन्टिङले स्टुडियो भरिपछि थप संकट हुन थालेको छ,’ गुरुङ भन्छन्, ‘कतिपय कलाकार काठमाडौंबाहिरबाट आएर कोठा भाडामा लिएर निर्माण गरेको स्टुडियो छ । पेन्टिङ बिक्री नभएपछि स्टुडियोमै राख्नुपर्ने बाध्यता छ ।’
ताम्राकार नियमित स्टुडियो त गएकी छिन्, तर पहिलाजस्तो काम गर्ने जाँगर छैन । कला क्षेत्र खुल्ने अवस्था नआएसम्म जाँगर यस्तै भइरहला कि भनेर शंका गर्छिन् । भन्छिन्, ‘तर, डर र त्रासमा बसेर मात्र समस्या समाधान हुँदैन । आफूलाई जतिसक्दो सिर्जनशील बनाउन प्रयत्नरत छु । एक दिन फेरि कलाकारका लागि दिन उज्यालो बनेर आउनेछ । त्यसैको प्रतीक्षमा छु ।’