आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा सरकारले खर्चको तुलनामा ६ गुणाभन्दा बढी प्राप्ति (आम्दानी) गरेको छ । साउनमा १६ अर्ब ९ करोड खर्च गरेको सरकारले १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ प्राप्ति गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउन मसान्तसम्ममा सरकारले ९४ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्य ११ खर्ब ५१ अर्बको ८.२५ प्रतिशत हो । यस अवधिमा ७७ अर्ब ८३ करोड कर राजस्व र १७ अर्ब १२ करोड गैरकर राजस्व संकलन गरेको हो ।
राजस्व परिचालन राम्रो हुनुका साथै तल्ला तहले खर्च गर्न नसकेको रकमसमेत फिर्ता भएपछि सरकारको प्राप्ति उच्च देखिएको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । खर्चको तुलनामा स्रोत परिचालन अधिक भएपछि पहिलो महिना सरकारको ढुकुटीको लागि सुखद देखिएको छ ।
आर्थिक वर्षको पहिलो महिना सरकारले १२ अर्ब अन्य प्राप्त गरेको छ । तल्लो तहले खर्च गर्न नसकेको रकम र बेरुजुपछिको रकम अन्य आम्दानी हो । स्थानीय तह र प्रदेश सरकारले खर्च गर्न नसकेर फिर्ता गरेको रकम र बेरुजुपछिको रकम गरेर सरकारले १२ अर्ब ७० करोड रुपैयाँ अन्य प्राप्ति भएको पौडेलले जानकारी दिए । तल्ला तहबाट खर्च नभएको रकम फिर्ता हुने क्रम अझै जारी रहेको उनले बताए ।
चालू आर्थिक वर्षका लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । आवको पहिलो महिना साउनमा सरकारले कुल बजेटको ०.९८ प्रतिशत खर्च गर्न सकेको छ । यस अवधिमा सरकारले १० अर्ब १५ करोड रुपैयाँ चालू खर्च गरेको छ ।