मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Thursday, 19 December, 2024
काबुलस्थित अमेरिकी दूतावासले उद्धार गरेर पठाएका नेपाली मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
मुना कुँवर काठमाडाैं
२o७८ भदौ २ बुधबार o६:३९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अफगानिस्तानबाट ११८ नेपाली आइपुगे 

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार o६:३९:oo

- फर्किएकाहरू भन्छन्– क्याम्पबाहिर रहेका नेपाली जोखिममा छन्, सरकारले शीघ्र उद्धार गरोस्

दिल्लीस्थित नेपाली दूतावास भन्छ– बिहीबारसम्म हजारजना आइपुग्छन्

‘काबुलमा ग्रिन जोनमा रहेका करिब १५ सय नेपालीको उद्धार र सुरक्षाको सबै प्रबन्ध सुनिश्चित भएको छ, उहाँहरूको चिन्ता मान्नुपर्ने अवस्था अब छैन,’ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘बिहीबारसम्म ग्रिन जोनमा रहेका सबैको व्यवस्थापन भइसक्छ । त्यसपछि अवैधानिक रूपमा त्यहाँ रहनुभएकाहरूलाई उद्धार गर्नेतर्फ हामी अघि बढ्छौँ ।’ 

 

अफगानिस्तानमा वैधानिक रूपमा रहेका नेपालीलाई धमाधम स्वदेश फर्काइँदै छ । मंगलबार अमेरिकी सैन्य क्याम्प र दूतावासमा रहेका एक सय १८ नेपाली काठमाडौं ओर्लिएका छन् । 

सोमबार काबुलबाट कतारको दोहा पु र्‍याइएका उनीहरूलाई (काबुलस्थित अमेरिकी राजदूतावासमा कार्यरत) मंगलबार उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को दुबईस्थित बेसमा पु र्‍याएर दुईवटा उडानमार्फत काठमाडौं ल्याइएको हो । मंगलबार राति पनि दुबईस्थित नेटो सैन्य बेसबाट नेपालीहरू स्वदेश फर्किएका छन् । 

उद्धार गरेर ल्याइएका सबैलाई नेपाली सेनाले सुरक्षाका साथ सामाखुसीस्थित राधेराधे क्वारेन्टिनमा पु र्‍याएको थियो । कोभिड परीक्षणमा पजिटिभ आएका र निकट सम्पर्कमा रहेकाहरूलाई क्वारेन्टिनमा राखेर अन्यलाई घर पठाइएको छ । 

मंगलबार नेपालीहरूबाहेक नौजना भारतीय नागरिक पनि काबुलबाट आइपुगेका छन् । उनीहरूलाई भारतीय राजदूतावासको जिम्मा लगाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बिहीबारसम्म हजार नेपाली फर्काइँदै
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार अफगानिस्तानमा वैधानिक हैसियतमा रहेकामध्ये विभिन्न मुलुकका दूतावासमा कार्यरत एक हजार नेपाली बिहीबारसम्म स्वदेश आइपुग्नेछन् । काबुल र दिल्लीस्थित सम्बन्धित मुलुकका कूटनीतिक निकायसँग दूतावासले छलफल गरेर नेपालीहरूको उद्धार र सुरक्षा सुनिश्चित गरेको हो । 

सरकारी तथ्यांकअनुसार त्यहाँ एक हजार पाँच सय नेपाली वैधानिक रूपमा रहेकोमा संयुक्त राष्ट्रसंघीय कार्यालय र युनिसेफमा कार्यरत एक सयजना बिदामा घर आउनेछन् भने चार सय तत्काल काबुलमै रहनेछन् । ‘काबुलमा ग्रिन जोनमा रहेका करिब १५ सय नेपालीको उद्धार र सुरक्षाको सबै प्रबन्ध सुनिश्चित भएको छ, उहाँहरूको चिन्ता मान्नुपर्ने अवस्था अब छैन,’ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘बिहीबारसम्म ग्रिन जोनमा रहेका सबैको व्यवस्थापन भइसक्छ । त्यसपछि अवैधानिक रूपमा त्यहाँ रहनुभएकाहरूलाई उद्धार गर्नेतर्फ हामी अघि बढ्छौँ ।’ 

काबुलस्थित क्यानडा दूतावासमा कार्यरत नेपालीमध्ये ४० जना नेटोको एयर बेस दुबईमा र २१ जना लन्डन पुगेका छन् । उनीहरूलाई क्यानडाले नै स्वदेश फर्काउने आश्वासन दिएको छ । जापानी राजदूतावासमा कार्यरत नेपाली बुधबार काठमाडौं आइपुग्ने सुनिश्चित भएको छ । संयुक्त राष्ट्रसंघीय कार्यालय र युनिसेफमा कार्यरत चार सय ७० जनामध्ये एक सयजनालाई बिदामा काठमाडौं ल्याइदिने आश्वासन आएको नेपाली राजदूतावासका उपनियोग प्रमुख सुवेदीले जानकारी दिए । बाँकी तीन सय ७० जना भने काबुलस्थित ग्रिन जोनमै रहनेछन् । जर्मनी दूतावासमा कार्यरत नेपालीलाई पनि दुबई पु र्‍याइएको छ । 

अवैधानिक रूपमा काबुलस्थित डेनमार्क दूतावासमा बस्दै आएका दुईजना नेपालीलाई बुधबार भारतले उद्धार गरेर दिल्ली ल्याउँदै छ । एयर इन्डियाको जहाजबाट भारतीय नागरिकसँगै दुईजनाको पनि उद्धार हुने सुनिश्चित भएको उपनियोग प्रमुख सुवेदीले बताए । 

फर्किएकाहरू भन्छन्– क्याम्पबाहिर रहेका नेपाली जोखिममा छन्
सर्लाहीका ४२ वर्षीय देवबहादुर घिसिङ काबुलस्थित अमेरिकी क्याम्पमा सुरक्षागार्ड थिए । नेपाली सेनाबाट अवकाश पाएपछि दुई वर्षअघि अफगानिस्तान पुगेका उनी मंगलबार नेपाल उत्रिएका छन् । उनले काबुलमा क्याम्पभित्रका नेपाली सुरक्षित भए पनि बाहिर भएकाहरू जोखिममा रहेको बताए ।

‘अमेरिकी क्याम्पमै भएकाले सुरक्षित छु भन्ने त थियो । तर, बाहिर बम पड्किएको सुन्दा, आकाशमा बारुदको धुवाँ उडेको देख्दा त्रास हुँदोरहेछ,’ घिसिङले भने, ‘आफ्नै देश आएपछि हामीलाई त अब ढुक्क भयो, तर क्याम्पबाहिर रहेका करिब ६ हजार नेपाली जोखिममा छन् । त्यहाँ हवाई फायरिङ चलिरहेको छ । आकाशमा जहाज उडेका–उड्यै छन् । सरकारले तत्काल उद्धारको पहल गर्नुपर्छ ।’ 

सुनसरीका ४५ वर्षीय युवराज लिम्बूलाई अमेरिकी दूतावासले अफगानिस्तानबाट उद्धार गर्नुभन्दा केही घन्टाअघि १० हजार तालिवान लडाकु काबुल प्रवेश गरेका थिए । क्याम्पभित्रै क्यामेराबाट उनले बाहिरका सबै दृश्य देखिरहेका थिए । तालिवानले क्याम्पमा आक्रमण गरे प्रतिरोधमा उत्रिने मनस्थिति बनाएको लिम्बूले सुनाए । उनलाई पनि बाहिर रहेका नेपालीको चिन्ता छ । 

‘विगतमा आर्मीमै काम गरेका कारण पनि होला, परिआए भिड्नुपर्छ भन्ने मनस्थिति बनाइसकेको थिएँ । तर, त्यही दिन दूतावासले उद्धार गरिदियो,’ उनले भने, ‘क्याम्पबाहिर कम्पनीमा काम गर्ने नेपाली जोखिममा छन् । आफूले भनेजस्तो भएन भने तालिवानले जे पनि गर्न सक्छन् । त्यसैले आफ्ना नागरिकको उद्धारमा सरकारले ढिलो गर्नुहुँदैन ।’ वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठका अनुसार त्यस्ता तीन सय ६० कामदार संघको सम्पर्कमा आएका छन् । 

कागजपत्र नभएकाहरूको उद्धार तयारी
काबुलबाट नेपालीको उद्धार कार्यको समन्वयका लागि परराष्ट्र मन्त्रालयले मंगलबार नायब प्रमुख शिष्टाचार महापाल रेवती पौडेलको नेतृत्वमा शिष्टाचार अधिकृत अनिल लम्साल र नासु ज्ञानहरि ज्ञवाली रहेको ‘सिचुएसन रुम’ स्थापना गरेको छ । ‘नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट अफगानिस्तानमा रहनुभएका नेपाली नागरिक, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग उद्धार कार्यका लागि नियमित सम्पर्क र समन्वय भइरहेको छ,’ परराष्ट्र मन्त्रालयले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार साँझसम्म दुई सय ५६ जना नेपालीले उद्धारका लागि नाम टिपाएका छन् । यद्यपि, यो संख्या पनि दोहोरिएको हुन सक्ने परराष्ट्रका अधिकारीहरूको भनाइ छ ।

‘कन्सुलर सेवा विभागको वेबसाइटमा गएर काबुलबाट मात्र नभएर विभिन्न ठाउँमा रहेका आफन्तले नाम टिपाउनुभएको छ, त्यहाँ नाम टिपाएका कतिपय नेपाली स्वदेश फर्किसक्नुभएको छ र विभिन्न दूतावासले उहाँहरूलाई उद्धार गरिसकेको पनि छ,’ परराष्ट्रका अधिकारीले भने, ‘बिहीबारसम्म ग्रिन जोनमा काम गर्ने हजारजना फर्किने र पाँच सयजना संयुक्त राष्ट्रसंघमा रहने टुंगिन्छ । त्यसपछि के–कतिको उद्धार गर्नुपर्छ भन्ने यकिन हुन्छ । त्यही संख्याका आधारमा उद्धार कसरी गर्ने भन्नेमा हामी जान्छौँ ।’ 

कागजपत्र नभएका नेपालीको संख्या यकिन भएपछि दुईवटा विकल्पमा उद्धार गर्नेबारे छलफल भइरहेको छ । परराष्ट्र स्रोतका अनुसार काबुलमा रहेको आइओएमलाई आग्रह गरेर यो निकायमार्फत उद्धार गर्ने वा नेपालले जहाज पठाएर उद्धार गर्ने भन्ने विषय बिहीबारपछि तय हुनेछ । ‘हाम्रो सम्पर्कमा आएका कागजपत्र नभएका नेपालीलाई हामीले जुनसुकै तरिकाबाट उद्धार गर्ने आश्वासन दिएका छौँ, चिन्ता नलिई धैर्यपूर्वक बस्नुस् भनेका छौँ,’ उपनियोग प्रमुख सुवेदीले भने । 

बोल्यो नेपाल : अफगानिस्तानमा शान्ति र स्थायित्व होस् 
नेपाल सरकारले अफगानिस्तानमा तालिवान नियन्त्रणपछिको अवस्थाबारे पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा सार्कको सदस्य मुलुक अफगानिस्तानका जनताको प्रगति र समुन्नतिका लागि शान्ति र स्थायित्व सुनिश्चित होस् भन्ने नेपालको चाहना रहेको उल्लेख गरिएको छ । ‘नेपाल सरकारले अफगानिस्तानमा भएका विकासक्रमलाई नजिकबाट नियाल्दै आएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्बन्धित सबै पक्षलाई जनताको भलाइ र सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछौँ ।’

नेपालले देश छाड्न चाहेकाहरू सबैको सुरक्षित र क्रमबद्ध बाह्यगमनको सम्मान र सहजीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आह्वानलाई समर्थन गरेको छ । सडक, विमानस्थल तथा सीमापार गरेर बाहिर जान चाहनेलाई सहजीकरण गर्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गर्दै आएको छ । जनजीवन र सम्पत्तिको सुरक्षा, शान्ति स्थापना, स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको चासो र चिन्तालाई नेपालले समर्थन गरेको परराष्ट्रले जनाएको छ ।