पहिलो दिन काठमाडौंबाट १ हजार सार्वजनिक सवारी बाहिरिए, बागमती प्रदेशबाट सवारीसाधनको नवीकरण र राजस्व तिर्न डिजिटल भुक्तानी सुरु
शनिबारदेखि लामो र मध्यम दूरीका सार्वजनिक सवारी चल्न थालेका छन् । १६ वैशाखदेखि ग्यारेजमा थन्किएका सवारीसाधन करिब ३ महिनापछि सञ्चालनमा आएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार पूर्व काँकडभिट्टादेखि पश्चिम महेन्द्रनगरसम्म लामो तथा मध्यम दूरीका सवारी चलेका छन् । ‘पहिलो दिन काठमाडाैँबाट देशका विभिन्न जिल्लाका लागि १ हजार सार्वजनिक सवारीसाधन प्रस्थान गरेका छन्,’ महासंघका महासचिव सरोज सिटौलाले भने । यो नियमित चल्ने सवारीसाधनको तुलनामा २० देखि ३० प्रतिशत मात्र रहेको उनको भनाइ छ । तत्काल चालक, सहचालक घरघर पुगेकाले पनि न्यून सवारीसाधन सञ्चालनमा आएको महासंघको भनाइ छ ।
कानुनअनुसार लामो दूरी भन्नाले २ सय ५० किलोमिटरभन्दा टाढाको यात्रालाई जनाउँछ । त्यस्तै, २५ किमिसम्मलाई छोटो र २ सय ५० किमिसम्मलाई मध्यम दूरी परिभाषित गरेको छ । यसअघि ४ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकमा लामो र मध्यम दूरीका सवारीसाधन सञ्चालनको सहजीकरण तथा आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले ५ साउनमा सबै ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो । पत्रमा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायत सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । त्यसै निर्देशनअनुसार जिल्ला प्रशासनहरूले ८ साउनसम्म सूचना निकाली सरकारले तोकेको जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने बताए ।
सूचनामा यात्रा गर्ने यात्रुले अनिवार्य रूपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न अनुरोध छ । लामो र मध्यम दूरीका सवारीसाधन आवश्यक मापदण्डसहित खुलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ३१ असारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सुझाब दिएको प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए ।
सवारी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने
सरकारले स्थानीयजस्तै लामो र मध्यम दूरीका सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पन्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारीसाधन दैनिक निसंक्रमित गर्नुपर्ने निर्णय गरेको छ । यस्तै, अनिवार्य टिकट काट्नुपर्नेछ । नाम र मोबाइल नम्बर अनिवार्य दिनुपर्नेछ । खाजा र खाना खाने ठाउँमा सफाइमा ध्यान दिने विषयमा स्थानीय प्रशासनको सहयोगमा व्यवस्थित बनाउने तयारी छ ।
काठमाडौंदेखि बाहिर जाने चारै नाका खुला
राजधानी काठमाडौंदेखि बाहिर जाने लामो तथा मध्यम दूरीका चारै नाका खुलेका छन् । बल्खु, पासाङल्हामु, नागढुंगा, अरनिको र साँखु नाका खोलिएको छ । अलिकति अन्योल छ । मुख्यत बल्खु, नागढुंगा र अरनिको नाकाबाट सबैभन्दा धेरै सवारी बाहिरिन्छन् ।
सवारीसाधनको डिजिटल भुक्तानी सुरु
बागमती प्रदेश सरकारले शुक्रबारदेखि सवारीसाधनको डिजिटल भुक्तानी थालेको छ । सरकारले अनलाइनमार्फत सवारीसाधन नवीकरण र राजस्व भुक्तानी सेवा थालेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्थापन सूचना प्रणालीको सुरु गरे । यस प्रणालीको कार्यान्वयनले पारदर्शिता आउने र सेवाग्राहीको समय बचत हुने विश्वास छ । यो सेवा प्रदेश सरकारअन्तर्गत रहेका ६ वटा यातायात कार्यालयबाट प्रदान हुनेछ । ती कार्यालयहरूमा यातायात व्यवस्था सेवा कार्यालय हेटौँडा, भक्तपुर, सानो भर्याङ, भरतपुर छन् । त्यस्तै, साना–ठूला सवारी ललितपुर र मोटरसाइकल कार्यालय काठमाडौंमै छन् । अन्य प्रदेशमा पनि क्रमशः विस्तार गर्दै लैजाने सरकारको योजना छ ।
कक्षा ११ देखि क्याम्पस तहको र लोकसेवालगायतका परीक्षा केन्द्रित गरेर यातायात खुला
सरकारले गरेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायहरूबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षार्थी तथा सर्वसाधारणहरूको आवतजावतलाई सहज बनाउन सार्वजनिक यातायात सञ्चालन गरिएको छ । यसपटक मन्त्रिपरिषद्ले निर्णय गरेर खोलेको नभई जिल्ला प्रशासनलाई अधिकार प्रत्यायोजन गरिएको छ । यसअनुसार जिल्ला प्रशासनले कोभिड–१९ को अवस्था हेरी सार्वजनिक यातायात रोक्न वा सञ्चालनको निर्णय गर्न सक्नेछन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार कक्षा ११ देखि क्याम्पस तहको र लोकसेवालगायतका परीक्षा सञ्चालन गर्न पनि आवश्यक लामो दूरीका सवारीसाधन सञ्चालन गर्न आवश्यकता देखिएको हो । विभिन्न जिल्लाबाट लामो र मध्यम दूरीका यातायात खोल्नेबारे निरन्तर दबाबसमेत सिसिएमसीमा परिरहेको थियो । यसकारण कडा सर्त राखेर भए पनि यातायात सञ्चालनमा प्रतिस्पर्धा गर्ने हिसाबले नभई आवश्यक आवतजावत गर्ने गरी लामो दूरीको सवारी चलाउनुपर्ने देखिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।
यसअघि वैशाख महिनामै गर्ने भनिएको कक्षा ११ र १२ को परीक्षा अझै हुन सकेको छैन । त्यस्तै, स्नातक र स्नातकोत्तर तहका परीक्षाहरू पनि सञ्चालन हुन सकेका छैनन् । कक्षा १२ को परीक्षा ३१ साउनदेखि गर्ने परीक्षातालिका सार्वजनिक भइसकेको छ । यससँगै अब घरघर पुगेका विद्यार्थी काठमाडाैं फर्किनेछन् ।
अर्कोतर्फ साढे २ महिनादेखि लामो दूरीको यातायात बन्द हुँदा आर्थिक क्रियाकलापमा पनि गम्भीर असर परिरहेको सिसिएमसीको विश्लेषण छ । यसकारण पनि एकैचोटि सबै नभएर बिस्तारै खोल्दै जानुपर्नेमा सिसिएमसी रहेको छ । अवस्था गम्भीर हुँदै गएको खण्डमा रोक्ने गरी अहिले खोल्न सकिने सुझाब दिएको सिसिएमसीका प्रवक्ता खतिवडाको भनाइ छ ।