मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Thursday, 19 December, 2024
कञ्चनपुरको त्रिनगर नाकामा मजदुरीका लागि भारत जान लाइनमा बसेका नेपाली ।
दीपक अधिकारी काठमाडाैं
मोहन विष्ट कञ्चनपुर
२o७८ श्रावण ५ मंगलबार ११:१६:oo
Read Time : > 7 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकार फेरियो, मजदुरी गर्न भारत जानेको दिन फेरिएन

Read Time : > 7 मिनेट
दीपक अधिकारी, काठमाडाैं
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार ११:१६:oo

रोजगारीका लगि भारत जानेहरूको नाकामा घुइँचो, कोरोनाकालको १७ महिनामा पाँच लाख ६८ हजार नेपाली मजदुरी खोज्दै भारत पसे

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार प्रतिनिधिसभामा विश्वासको मत आर्जन गर्दै थिए, उनकै गृहजिल्ला डडेल्धुरा पर्शुराम नगरपालिका–५, परिगाउँका हर्कबहादुर सिंह मजदुरीका लागि भारत जान झरीमा रुझ्दै नित्रगर नाकाबाट लाइनमा थिए । हरियाणा जान लागेका उनले परिवारको गुजाराका लागि मुग्लान भासिनु बाध्यता भएको सुनाए । आफ्नै गृहजिल्लाका देउवा पाँचौँपटक प्रधानमन्त्री बनेका छन् । तर, उनलाई यो खबरले खासै खुसी बनाएको रहेनछ । आइतबार नयाँ पत्रिकासँगको कुराकानीमा उनले देउवाको यस कार्यकालमा पनि रोजगारीको यो बाध्यता हट्ने आशा नरहेको सुनाए । 

‘देउवा यसअघि पनि प्रधानमन्त्री भएकै हुन् । स्वदेशमै रोजगारी पाइएको छैन । गुजाराका लागि भौँतारिरहनुपरेको छ,’ सिंहले भने, ‘अहिले पनि केही गर्लान् भन्ने आशा छैन ।’ डडेल्धुरानजिकैको जिल्ला अछामको साँफेबगर नगरपालिका–५, का धनेश महरा गत जेठमा घर आए । गाउँमा खेतीपाती लगाउने काम सकेर आइतबार उनी पुनः मुम्बई फर्कदै थिए । बेरोजगार बस्दा घरखर्च चलाउन समस्या पर्न थालेपछि पहिलेकै काममा फर्कन लागेको उनले बताए । उनले पनि अर्काको देश जानु बाध्यता रहेको बताए । 

‘जोसुकै प्रधानमन्त्री र मन्त्री आए पनि हामीजस्ताका दुःख कसैले बुझ्ने होइन, सुदूरपश्चिमकै नेता प्रधानमन्त्री भए पनि यहीँ रोजगारी दिन केही गर्लान् भन्नेमा आशा छैन,’ उनले गुनासो गरे, ‘चुनावका वेला हरेक नेताले आशा देखाउँछन् । त्यसपछि फर्केर हेर्दैनन् ।’ उनले देउवा यसअघि पनि पटकपटक प्रधानमन्त्री भएको तर, रोजगारीका लागि केही नगरेको दुःख पोखे ।

गरिबीले सुदूरपश्चिमबाट भारतीय रोजगारीमा जानेको संख्या देशभरमै बढी छ । यही क्षेत्रबाट देशले अहिले प्रधानमन्त्री पाए पनि भारत जानुपर्ने बाध्यता अन्त्य हुनेमा यहाँबाट मजदुरीका लागि भारत जाँदै गरेकाहरू आशावादी छैनन् । विपन्न मजदुरको हितमा काम गर्ने कोही प्रधानमन्त्री नआएको उनीहरू बताउँछन् ।

जो जतिपटक प्रधानमन्त्री भए पनि भारतमै मजदुरी गएर गुजारा चलाउनुपर्ने बाध्यता उस्तै रहेको भीमदत्त नगरपालिका–१ रौटेलाका करन कामीले बताए । ‘कोही प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री हुँदैमा हाम्रा दिन फेरिने होइनन्,’ भारत जाने क्रममा गड्डाचौकी नाकामा भेटिएका उनले भने । १६ वर्षको उमेरदेखि आफूले भारतमा गएर काम गरिरहेको कामीले बताए ।

रोजगारीका लागि भारत जानेहरूमा सबैभन्दा बढी सुदूरपश्चिम र कर्णाली प्रदेशका छन् । डडेल्धुरा गृहनगर भएका शेरबहादुर देउवा प्रधानमन्त्री र रुकुम घर भएका जनार्दन शर्मा अर्थमन्त्री बने पनि उनीहरूलाई स्वदेशमै रोजगारी पाउने आशा छैन

गरिबीले भारत जानुपर्ने सुदूरपश्चिमेलीको बाध्यता अन्त्यका लागि केही गरेर देखाउने अवसर भने देउवाले पाएको भारत जानेहरू बताउँछन् । ‘सरकारले गरिबलाई हेरेन । रोजगारी दिएको भए अर्काको देश जानु पर्थेन,’ त्रिनगर नाकामा भेटिएका कैलाली लालपुरका पदम साउदले भने, ‘अब सरकारले गरिबका लागि केही गर्नुपर्छ ।’  

देउवासँग मात्र होइन, सीमामा भेटिएकाहरू सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग पनि रुष्ट देखिन्छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट कुनै समय आफैँ भारतमा मजदुरी गर्थे । त्यसैले मजदुरीका लागि भारत जानुपर्ने बाध्यतासँग उनीभन्दा बढी को जानकार होला ? तर, उनले प्रदेश सरकार सम्हालेको साढे तीन वर्ष हुना लाग्दा पनि रोजगारी सिर्जनाका लागि खासै काम गर्न सकेका छैनन् । केही स्वरोजगारमूलक कार्यक्रम घोषणा गरे पनि त्यसबाट नेताका आफन्त र कार्यकर्ता मात्र फाइदा लिएका छन् । 

‘चुनाव जितेर सांसद भए, कोही मन्त्री भए, गरिबका लागि कसैले केही गरेनन्,’ सीमामै भेटिएका भानसिंह बिकले भने, ‘अहिले सुदूरपश्चिमकै नेता प्रधानमन्त्री भएका छन् । कुनै दिन भारतमा मजदुरी गरेका मुख्यमन्त्री छन् । तर पनि हाम्रा लागि केही गर्लान् भन्ने आशा छैन किनभने यसअघि पनि धेरै मन्त्री भए, कसैले केही गरेनन् ।’ सीमानाका भएर भारत जाने हरेकसँग अनगिन्ती पीडा छन् । भोको पेटको सवाल छ । त्यसैले कोरोना महामारी मत्थर नहुँदै पनि जोखिम मोलेर भारत गइरहेका छन् ।

सुदूरपश्चिमका डडेल्धुरा, डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुरबाट रोजगारीका लागि भारत जानेहरू धेरै छन् । सुदूरपश्चिमपछि कर्णाली प्रदेशका कालिकोट, दैलेख, मुगु, हुम्ला, जुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, सुर्खेत, सल्यानबाट पनि भारत जानेको संख्या ठूलो छ । यतिवेला प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्को प्रारम्भिक रोजाइमै कर्णालीका जनार्दन शर्मा अर्थमन्त्री छन् । 

कोरोनाको पहिलो लहर (०७६ फागुनदेखि ०७८ असार मसान्तसम्म) यता कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, बाँकेको नेपालगन्ज र रूपन्देहीको बेलहिया नाका भएर मात्र पाँच लाख ६८ हजार तीन सय ४० नेपाली जीविकाका लागि भारत गएका छन् । भारतमा कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि गत वैशाखमा स्वदेश फर्किएकाहरूसमेत धमाधम काम खोज्न उतै फर्किरहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार ०७६ फागुनदेखि ०७८ असार मसान्तसम्ममा गड्डाचौकी र गौरीफन्टा नाकाबाट तीन लाख ७२ हजार एक सय १९ नेपाली भारत गएका छन् । साउन लागेयता दैनिक साढे पाँच हजारभन्दा बढी बाहिरिएका छन् । रूपन्देहीको बेलहिया नाका भएर यही अवधिमा एक लाख ६ हजार दुई सय २१ जना बाहिरिएका छन् । बाँकेको नेपालगन्ज नाका भएर ९० हजार नेपाली भारत गएका छन् । 

त्रिनगर नाकामा लालाबाला बोकेरै भारततिर
जीवनका उर्बर ४० वर्ष भारतमा मजदुरी गरेर बिताएका तुलाराम सुनार (५७) फेरि मुग्लान नभासिने प्रण गर्दैै गत माघमा घर फर्किएका थिए । ढल्कँदो उमेर र बढ्दो शारीरिक कमजोरीले उनलाई यस्तो प्रण गर्न बल दिएको थियो । तर, शुक्रबार उनी त्रिनगर नाकामा भेटिए । गाउँमै जीविकाको जोहो हुन नसकेपछि उनको प्रण पाँच महिना पनि टिकेन । 

कैलालीको गोदावरी नगरपालिका–१२, ओलानी घर भएका तुलारामले नयाँ पत्रिकासँग भने, ‘गाउँमा गुजारा गर्ने कुनै विकल्प भेटिएन । आफ्नो खेतीपाती छैन, दाउरा बेचेर गुजारा गर्छु भन्दा पनि पाइनँ । परिवार, केटाकेटी भोकै मार्नुभन्दा भारत फर्किनु नै उपयुक्त लाग्यो ।’ भारतको गुजरात जान लागेको बताएका उनले त्यहाँ होटेलमा खाना पकाउने पुरानै काममा फर्किने सुनाए । 

सीमानाका भएर भारत जाने हरेकसँग अनगिन्ती पीडा छन् । भोको पेटको सवाल छ । त्यसैले कोरोना महामारी मत्थर नहुँदै पनि जोखिम मोलेर भारत गइरहेका छन् । 

त्रिनगर नाकामै भेटिए, कैलाली टीकापुरका जमाने बिक । नाबालक दुई छोराछोरी र श्रीमती छाडेर उनी मजदुरी गर्न भारतको हरिद्वार जाँदै रहेछन् । केही महिनाअघि मात्र भारतबाट फर्किएका उनले पनि गाउँमै जीविकाका लागि धेरै प्रयास गरे । तर, यसपटक पनि कुनै बाटो भेटिएन । अन्ततः दुई लालाबाला र श्रीमतीको माया पोको पारी झोला भिरेर मुग्लान हान्निए । ‘पहिलोपटक मजदुरी गर्न भारत जाँदा झन्डै दश वर्षको थिएँ हुँला,’ उनले मनको पीडा खोले, ‘उता हुन्जेल यसपटक घर पुगेपछि उतै केही न केही गर्छु, फर्किन्नँ भन्ने सोच्छु । तर, यहाँ आएपछि साँझबिहान छाक टार्नै मुस्किल पर्छ । अनि बाध्य भएर यसरी हिँड्नुपर्छ ।’ यति भनिसक्दा उनका आँखा भरिसकेका थिए । 

...                                                ...

डोटीको निरौली घरभएका दिनेश बोहरा (१८) नौ कक्षामा पढ्दापढ्दै दुई वर्षअघि सिम्ला पुगेका थिए । कमजोर आर्थिक अवस्थाको कारण उनले मुग्लान र पढाइमध्ये एक रोज्नुपर्ने भयो । अरू विकल्प थिएन, त्यसैले जीविकाका लागि उनले मुग्लान रोजे । त्यसयता उनी सिम्ला जाने–आउने गरिरहेका छन् । शुक्रबार भारत जान लागेका निरौलीका अरू थुप्रै युवासँगै नाकामा भेटिएका दिनेशले मन भारी बनाउँदै पीडा पोखे, ‘पेट पाल्न समस्या हुने थिएन भने पढेर केही गर्ने रहर थियो । तर, हामीजस्ताको रहर सिम्लाका स्याउ बगैँचामा थन्किने रहेछन् । अब त पढाइको ध्यान पनि आउँदैन । मजदुरी गरेर दुई–चार पैसा कमाउन सके खानेलाउने समस्या टथ्र्यो भन्ने मात्र सोच्छु ।’

सीमानाका भएर भारत जाने हरेकसँग अनगिन्ती पीडा छन् । भोको पेटको सवाल छ । त्यसैले कोरोना महामारी मत्थर नहुँदै पनि जोखिम मोलेर भारत गइरहेका छन् । कैलालीको सुखडका भुवन बिष्ट (२२) ६ महिनापछि भारत फर्कंदै छन् । उनी हरियाणामा एक व्यापारीको घरमा लामो समय खाना पकाउने काम गरेर बसेका थिए । अब आफ्नै गाउँघरमा बसेर केही गर्ने सोच बनाएर उनी गत माघमा फर्किए । तर, कमाएर ल्याएको पैसा सकिँदै गयो, काम पाइएन । ‘यता आएपछि धेरै ठाउँ काम खोजेँ, ज्यामी काम पनि पाइनँ,’ उनले भने, ‘ल्याएको पैसा सकियो । अब साँझ–बिहानको छाक नटर्ने स्थिति भयो । बाध्य भएर पहिलेकै काममा जाँदै छु ।’

अछामको कमलबजारका हरि तिरुवा (६०) भारतको पुना जाँदै थिए । उनी यसअघि गर्दै आएको ‘वाचमेन’को काममा फर्कन लागेका हुन् । बाल्यावस्थामै कामको खोजीमा भारत छिरेका उनले जीवनको अधिकांश समय उतै मजदुरी गरेर बिताए । ‘पैसा नभई घर चल्दैन, पैसा कमाउन भारत नगइहुँदैन, यहाँ काम पाएको भए बुढेसकालमा किन अर्काको देश जानुपथ्र्यो ?’ तिरुवाले आक्रोश पोखे, ‘जुन सरकार आए पनि विपन्नलाई केही हुँदैन । हाम्रा दुःख हामीसँगै हुनेरहेछ ।’

कालीकोटको रासकोटका कालीबहादुर बिक (६०) अब त भारत फर्कन्नँ भन्ने ठानेर केही महिनाअघि फर्किएका थिए । तर, उनको पनि दुःख अरूजस्तै भयो । गाउँमा काम पाइएन । घरमा बेरोजगार बसिरहँदा छाक टार्न मुस्किल भयो । अन्ततः मुम्बईमा पहिले गर्दै आएको चौकीदारी काममा फर्कन बाध्य भए । ‘परिवारको गुजारा मात्र चलेको भए पनि जाने थिइनँ,’ नाकामै भेटिएका कालीबहादुरले भने, ‘बुढेसकाल लाग्यो, अब बम्बई जाने रहर थिएन । तर, बाध्यताले उतै डोहोर्‍यायो ।’ 

जीविकाका लागि मुलुक छाड्नेहरूको दुःख यहाँबाटै सुरु भएको छ । नाकामा अव्यवस्थित भीडका कारण एकातिर कोरोनाको त्रास छ, अर्कोतिर टन्टलापुर घाममा लामो समयसम्म लाइनमा बस्नुपर्छ । विशेष गरी ज्येष्ठ नागरिक र दूधेबाबुनानी च्यापेर हिँडेका महिलाले निकै सास्ती खेप्नु परिरहेको छ ।

कर्णालीवासी नेपालगन्ज नाका हुँदै भारत फर्कंदै
सल्यानको दार्मा गाउँपालिका–५, नागार्जुनका खलोवीर खड्का (५५) दुई महिना नबित्दै ३० वैशाखमा नेपालगन्ज नाका हुँदै भारतको पौडी गढवाल गए । उनी फर्किने वेला भारतमा कोरोनाको महामारी थियो । नेपालमा आएपछि कोरोना त्रासबाट त जोगिए, तर खान नपाएर ज्यान जाने खतरा बढ्यो । ‘कोरोनाले भन्दा खान नपाएर ज्यान जाने खतरा बढेपछि ज्यान हत्केलामा राखेर भारतको यात्रा तय गरेँ,’ उनले भने । 

जीविका खोज्दै भारत जानेहरू भन्छन् : प्रधानमन्त्री, मन्त्री जोसुकै बनून्, हाम्रा दुःख हामीसँगै रहन्छन् 

जाजरकोटको नलगाड नगरपालिका–१, कलबटका रञ्जित नेपाली (६०) पनि भारत हिँडेका छन् । नेपालमा बसेर दैनिक गुजारा गर्न समस्या भएपछि कामका लागि भारतीय भूमी रोजेको उनले बताए । ‘कोरोना भन्दा एक छाक खानाको चिन्ता छ । बरु भोकले भन्दा रोगले मर्न उचित सम्झेर भारतीय भूमी रोजेँ,’ उनले भने । 

उनीहरू जस्तै दैनिक गुजारा चलाउन धौ–धौ भएपछि नेपालगन्ज नाका भएर दैनिक एक हजार नेपाली भारत पलायन हुने गरेका छन् । पेटका लागि भारतको हिमाञ्चल प्रदेशको सिम्ला जान लागेका जाजरकोट नलगाड नगरपालिका–५, कल्बटका दयाराम बिक (४०)ले बताए । ‘कोरोनाको डर मानेर के गर्नु पेटले मान्दैन । छोराछोरीलाई भोकै मार्नुभन्दा कामका लागि भारत जान उचित लाग्यो,’ उनले भने । 

कामका लागि भारत जाने नेपालीलाई कोरोनाको जोखिम नेपालभन्दा भारतमा छ भन्ने राम्रोसँग थाहा छ । तैपनि उनीहरू नेपालमा बस्नुभन्दा भारत जान उचित सम्झिन्छन् । सुर्खेतको बबई गाउँपालिका–२, दाङका कर्मबहादुर डाँगी पनि भोको पेट भर्नकै लागि भारत गएका छन् । नेपालगन्ज नाकामा भेटिएका उनले आफूलाई कोरोना भन्दा भोको पेटको डर भएको बताए । ‘अर्काको देशमा उपचार र स्याहारसुसार पाइन्न भन्ने राम्रोसँग जानकारी छ । नेपालमा बसेर भोको पेट भरिँदैन । भोको पेट भर्न भारत जानुको विकल्प छैन,’ उनले भने । 

नेपालगन्जबाट दैनिक १२ सय नेपाली भारततर्फ
नेपालगन्ज नाका भएर भारत जानेको संख्या अत्यधिक बढेको इलाका प्रहरी कार्यालय, जमुनाहका निमित्त इन्चार्ज प्रहरी सहायक निरीक्षक पृथ्वीबहादुर बुढाले जानकारी दिए । उनले लकडाउनको सुरुवाती चरणमा थोरै नेपाली कामका लागि भारत गए पनि जेठ तेस्रो सातादेखि दैनिक ११–१२ सय नेपाली भारत छिर्ने गरेको बताए । भारतमा कोरोनाको संक्रमण दर घटेसँगै लकडाउन खुकुलो भएपछि कामका लागि भारत जाने नेपालीको संख्या बढेको उनले बताए । ‘लकडाउनका वेला पनि नेपालीहरू कामका लागि भारत गए, तर जेठ तेस्रो सातादेखि जानेको संख्या अत्यधिक भएको उनले बताए । ‘जान त लकडाउनका वेला पनि जान्थे, तर जेठ तेस्रो सातादेखि जानेको संख्या अत्यधिक छ,’ उनले भने । 

बेलहिया नाकाबाट पनि भारत जाने बढ्दै
कोरोनाका कारण भारतबाट स्वदेश फर्किएका नेपालीहरू महामारी नसकिँदै रोजगारीका लागि पुनः भारत जान थालेका छन् । रूपन्देहीको बेलहिया नाका भएर यतिवेला दैनिक ६ सयदेखि ८ सयको हाराहारीमा नेपालीहरू भारत प्रवेश गर्ने गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले बताए । बेलहिया नाका भएर पहिलो लकडाउन भएयता असार मसान्तसम्ममा एक लाख ६ हजार दुई सय २१ जना बाहिरिएका छन् । गत १ वैशाखयता असार मसान्तसम्ममा भने ३७ हजार चार सय ६७ नेपाली भारत गएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिए । वैशाख, जेठभन्दा असार महिनामा बिदेसिनेको संख्या बढी रहेको छ । 

वर्षाका बीच गुजारा चलाउन भारत जानेको लर्को

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ रौटेलाका करन कामीले देशमा जो प्रधानमन्त्री, मन्त्री, प्रदेशको मुख्यमन्त्री भए पनि आफ्ना दिन भारतमै मजदुरी गरेर बितेको बताए । ‘म १६ वर्षको हुँदादेखि भारतमा गएर काम गरिरहेको छु,’ उनले भने, ‘देशमा देउवा पाँचपटक प्रधानमन्त्री भए पनि हामीले परनिर्भर भएरै बाँच्नुपर्ने बाध्यता छ ।’ उनी अहिले ४१ वर्षका भएका छन् । 

शुक्लाफाँटा नगरपालिका १२ कालागौडीका सुकदेव चौधरीले सुदूरपश्चिमकै नेता प्रधानमन्त्री पाए पनि आफूजस्ता विपन्न मजदुरका लागि केही नहुने ठोकुवा गरे ‘हाम्रा लागि जो प्रधानमन्त्री भए पनि हामीले मजदुरी नै गर्नुपर्छ,’ उनले भने, ‘घरमा खेतीपाती लगाइसकेर कालापहाडतिर स्याउ टिप्न नगई जीविका चल्दैन ।’ 

देउवाकै गृहजिल्ला परशुराम नगरपालिका–७ मलासका नरेन्द्र जाग्रीले देउवा पुनः प्रधानमन्त्री हुँदा खुसी लागे पनि गरिबका समस्या समाधान हुने आशा भने नरहेको बताए । ‘भोट माग्दा हात जोडेर आउँछन्, तर जितेपछि सामु पर्दैनन् । गाउँमा अझैसम्म सडक छैन, रोजगारी छैन, के आशा गर्नु ?’ उनले आक्रोश पोखे ।

देउवाको गृहजिल्ला डडेल्धुरालगायतका जिल्लाबाट पश्चिम नाका गड्डाचौकी र गौरीफन्टाबाट भारत जानेको लर्को रोकिएको छैन । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ टाइगरफाँटाका रमेश सुनार गौरीफन्टा नाका भएर भारत जाँदै गरेको भेटिए । उनी गत चैतमा फर्किएका थिए । चार महिनामै भारत नगई सुख पाएनन् । ‘म चार महिनाअघि घर आएको हुँ,’ उनले भने, ‘यहाँ रोजगारी पाइएन । महामारी नरोकिएको भए पनि घरगृहस्थी चलाउन जोखिम मोलेर भारत जाँदै छु ।’ 

केही सातायता त्रिनगर नाकाबाट दैनिक दुई हजारजना कामको खोजीमा भारत गइरहेका छन् । शुक्रबार र शनिबार मात्रै यो नाकाबाट सात हजार भारत गएका छन् । भारत जानेको भिडमा युवा मात्र छैनन्, १४–१५ वर्षका किशोर र ६०–६५ नाघेका ज्येष्ठ नागरिकसमेत पनि देखिन्छन् ।