मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २ शनिबार
  • Thursday, 19 December, 2024
२o७८ श्रावण २ शनिबार १२:१७:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिकमा नेपालको ६९ वर्ष 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २ शनिबार १२:१७:oo

एथलेटिक्सका वैकुण्ठ मानन्धर लगातार चार ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपालकै पहिलो खेलाडी हुन्, छनोट चरण पार गरी ओलम्पिकमा स्थान सुरक्षित गर्ने तेक्वान्दोका संगिना वैद्य पहिलो र दीपक विष्ट दोस्रो खेलाडी हुन्

नेपालले आधिकारिक रूपमा गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा पदक जितेको छैन । सन् १९८८ मा दक्षिण कोरियामा भएको ओलम्पिकमा तेन्वान्दोका विधान लामाले प्रदर्शन खेलमै नेपाललाई कांस्यपदक दिलाएका थिए । यो वेला तेक्वान्दो प्रदर्शनी खेलका रूपमा थियो । हरेकपटक ओलम्पिकमा पदक जित्ने लक्ष्यका साथ नेपाली खेलाडी सहभागी भइरहेका छन् । नेपाली खेलाडी ओलम्पिक खेल्नु नै ठूलो मान्छन् । 

धावक वैकुण्ठ मानन्धरले लगातार चारपटक ओलम्पिकमा सहभागी हुँदै इतिहास बनाएका छन् । ओलम्पिक इतिहासमा नेपालबाट दुईजना मात्र खेलाडी छनोट चरण पार गरी स्थान सुरक्षित गरेका छन् । तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरणबाट ओलम्पिकमा स्थान सुरक्षित गरेका हुन् । सन् २००४ एथेन्समा संगीना र सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपकले छनोट चरण पार गरी ओलम्पिकमा स्थान पक्का गरेका थिए । 

अन्य खेलका खेलाडी भने वाइल्ड कार्ड वा अन्य विभिन्न माध्यमबाट प्रतिस्पर्धा गर्दै आइरहेका छन् । ओलम्पिकमा नेपालको सहभागिता ६९ वर्ष भएको छ । तर, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले आधिकारिक रूपमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि मात्र नेपालले अफिसियल रूपमा प्रतिस्पर्धा गरेको मानेका छन् । इतिहासको पाना पल्टाउँदा सन् १९५२ को हेलन्सिकी ओलम्पिकदेखि नै नेपालको सहभागिता देखिन्छ । 

ऐथलेटिक्स खेलाडी कृष्णबहादुर बर्माले लेखेको ‘जापानमा मैले के–के पाएँ’ भन्ने पुस्तकमा हेलन्सिकी ओलम्पिकको उल्लेख गरेका छन् । हेलन्सिकीमा नेपालबाट बर्मा र नेपाली खेलकुदकै जन्मदाता भनिने नरशमशेर राणाले सहभागिता जनाएका थिए । सन् १९६० को इटालीको रोममा नेपालको सहभागिता पर्यवेक्षकका रूपमा मात्र रह्यो । आसन्न टोकियो ओलम्पिकसमेत गरी नेपालको यो १४औँ यात्रा हो । सन् १९६४ को टोकियोदेखि ७९ जना खेलाडीले ओलम्पिकमा अवसर पाएका छन् । ओलम्पिकमा नेपालको यात्रा यसरी हेर्न सकिन्छ । 

१९६४ टोकियो
टोकियो ओलम्पिकमा नेपालबाट दुई खेलमा ६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । म्याराथनमा गंगाबहादुर थापा र भूपेन्द्र बहादुरले आफ्नो इभेन्ट्स पूरा गर्न सकेनन् । बक्सिङमा नसिंह थापा, भीमबहादुर थापा, रामप्रसाद गुरुङ तथा ओमप्रसाद पुनले प्रतिस्पर्धा गरेका थिए । नसिंह प्लाइवेभको प्रिक्वार्टरफाइनल, भीमबहादुर फेथरवेथको अन्तिम ३२, रामप्रसाद र ओमप्रसाद दुवै खेलाडी लाइटवेटको अन्तिम ३२ बाट बाहिरिए । 

१९७२ म्युनिख
सन् १९६८ मा नेपालले सहभागिता नै जनाएन । आठ वर्षपछि नेपालले म्युनिख ओलम्पिकमा भाग लियो । यसपटक दुईजना खेलाडीले मात्र प्रतिस्पर्धा गरे । पुरुष म्याराथनमा जितबहादुर केसीले दुई घन्टा ५७ मिनेट ५८.८ सेकेन्डमा दौड पूरा गर्दै ६०औँ स्थान हात पारे । भक्तबहादुरले दौड नै पूरा गरेनन् । म्युनिख ओलम्पिकमै इजरायलका ११ खेलाडीलाई एथलेटिक्स भिलेजमै आतंककारीहरूले गोली हानी हत्या गरेका थिए । संयोगले नेपाली खेलाडीहरू बसेकै कोठानजिकै यो घटना भएको थियो । त्यसवेलाको घटनाको सम्झनाले अहिले पनि जितबहादुर झस्किेन गर्छन् ।

१९७६ मोन्टेरियल
मोन्टेरियलमा नेपालबाट एकजना मात्र खेलाडीले भाग लिए २३ वर्षीय युवा वैकुण्ठ मानन्धरले आफ्नो पहिलो ओलम्पिक यात्रामा ५०औँ स्थान हात पारे । उनले पुरुषतर्फको म्याराथनमा २ घन्टा ३० मिनेट सात सेकेन्डमा दौड पूरा गरेका हुन् । 

१९८० मस्को
मस्कोमा नेपालका नौ खेलाडीले अवसर पाए । बक्सिङमा रविराज थापाले ५१ केजी, पुष्करध्वज शाहीले ६४ केजी, नरेन्द्र पुमाले ५७ केजी र विष्णु मलाकारले ६३ केजीमा प्रतिस्पर्धा गरेका थिए । पुष्कर ध्वज र रविराजले पहिलो चरणमा बाई पाए, तर उनीहरू दोस्रो चरणभन्दा माथि पुग्न सकेनन् । म्याराथनमा वैकुण्ठ मानन्धरले आफ्नो स्थान सुधार गरी ३७औँ स्थानमा रहँदा दुई घन्टा २३ सेकेन्ड ५१ मिनेटमा दौड सकाए । मुकुन्दधारी श्रेष्ठले दुई घन्टा ३८ मिनेट ५२ सेकेन्ड लगाएर ४५औँ स्थान रक्षा गरे । 

१९८४ लसएन्जलस
लसएन्जलसमा नेपालले एथलेटिक्समा मात्र प्रतिस्पर्धा गरेको थियो । वैकुण्ठ मानन्धरले लगातार तेस्रोपटक ओलम्पिकमा प्रतिस्पर्धा गरे । योपटक उनी दुई घन्टा २२ मिनेट ५२ सेकेन्डका साथ ४६औँ स्थानमा रहे । यसैगरी अर्जुन पण्डित ६३औँ तथा अमिरप्रसाद यादव ६९औँ स्थानमा रहे । आठ सय मिटरमा जोधा गुरुङ र चार सय मिटरमा पुष्पराज ओझा पहिलो चरणबाटै बाहिरिए । 

१९८८ सोल
सोल ओलम्पिकमा नेपालले एथलेटिक्स, बक्सिङ, जुडो, सुटिङ तथा भारोत्तोलमा भाग लियो । एथलेटिक्समा वैकुण्ठ मानन्धरले कीर्तिमानी रूपमा लगातार चौथोपटक ओलम्पिकमा भाग लिए । उनी दुई घन्टा २५ मिनेट ५७ सेकेन्डका साथ ५४औँ स्थानमा रहे । एथलेटिक्समा कृष्ण बस्न्यात, डम्बर कुँवर, हरिबहादुर रोकायाले भाग लिए । तेक्वान्दो खेललाई प्रदर्शनीका रूपमा राखिएको थियो । नेपाली खेलाडी विधान लामाले आफ्नो खेल कौशल देखाउँदै कांस्यपदक जितेका थिए । लामाले यस पदकलाई ऐतिहासिक रूपमा लिएका छन् । सोल ओलम्पिकमा २१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

१९९२ बार्सिलोना
स्पेनको बार्सिलोनामा नेपालबाट एथलेटिक्सबाट हरि रोकायाले मात्र प्रतिस्पर्धा गरे । उनी आफ्नो इभेन्ट्समा ७०औँ स्थानमा रहे । उनले दौड दुई घन्टा ३२ मिनेट २६ सेकेन्डमा पूरा गरेका थिए । 

१९९६ एटलान्टा
अमेरिकाको एटलान्टामा भएको ओलम्पिकमा नेपालले एथलेटिक्सका दुई खेलाडीले मात्र प्रतिस्पर्धा गर्न अवसर पाए । पुरुषतर्फ टीका बोगटी र महिलातर्फ विमला रानामगरले भाग लिएका थिए । टीका ७४औँ र विमला ६२औँ स्थानमा रहे । 

२००० सिड्नी
सिड्नी ओलम्पिकमा एथलेटिक्स, सुटिङ र स्विमिङमा नेपालले भाग लियो । पुरुष पाँच हजार मिटर दौडमा ज्ञानबहादुर बोहराले १४ मिनेट ३४.१५ सेकेन्ड समय लगाएर ३४औँ स्थान हात पारे । सुटिङ र स्विमिङका खेलाडी छनोट चरण नै पार गर्न सकेनन् । 

२००४ एथेन्स
एथेन्स ओलम्पिकमा नेपालले चार खेलमा भाग लियो । तेक्वान्दोमा संगिनाले छनोट चरण पारी गरी स्थान सुरक्षित गर्दै इतिहास रचिन् । संगिना ४९ केजी तौल समूहमा चाइनिज ताइपेईकी चेनसँग पराजित भइन् । स्विमिङमा पुरुषतर्फ एलेक्स श्रेष्ठ ५९ तथा महिलामा नयना शाक्य ४७ स्थानमा रहे । 

२००८ बेइजिङ
चीनको बेइजिङले पहिलोपटक आयोजना गरेको ओलम्पिकमा नेपालले एथलेटिक्स, जुडो, सुटिङ, स्विमिङ, तेक्वान्दो र भारोत्तोलोनमा भाग लियो । दीपक विष्टले बेइजिङ ओलम्पिकमै छनोट चरण पार गरी स्थान बनाए । उनी छनोट चरण पार गरी ओलम्पिक खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । दीपक ८० केजी तौल समूहमा इरानी खेलाडीसँग ६–२ ले पराजित भएका थिए । बेइजिङ ओलम्पिकमा ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

२०१२ लन्डन
लन्डन ओलम्पिकमा नेपालले तीन खेलमा भाग लिँदा पाँच खेलाडीले प्रतिस्धर्पा गरे । नेपाली खेलाडी सहभागी भएका सबै इभेन्ट्सको पहिलो चरणबाटै बाहिरिए । 

२०१६ रियो 
ब्राजिलले पहिलोपटक आयोजना गरेको रियो ओलम्पिकमा नेपालले आर्चरी, एथलेटिक्स, जुडो, स्विमिङ र तेक्वान्दोमा भाग लियो । स्विमिङमा गौरिका सिंह यस रियो ओलम्पिकमा सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडीकी रूपमा रेकर्ड राखिन् । सात खेलाडीले यस रियोमा भाग लिएका थिए । 

२०२१ टोकियो
अर्को साताबाट सुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । एथलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरिका सिंह, एलेक्स शाह, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले भाग लिनेछन् ।