नेपाललाई धेरै खोप उपलब्ध गराउनेमा चीन, अमेरिका र भारत
चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डोज खोप दिने भएको छ । यसअघि उसले १८ लाख डोज सहयोग गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सहयोगको निर्णय सुनाएकी हुन् ।
‘राजदूतले कोभिडविरुद्धको खोप उपलब्ध गराउनेलगायत थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चिनियाँ खोपबाट १७ लाख नेपाली लाभान्वित हुने भएका छन् ।
नेपालले चीनबाट खरिद गरेको ४० लाख खोपमध्ये आठ लाख डोज आइसकेको छ भने बाँकी ३२ लाख खोप आउने प्रक्रियामा छ । नेपालले खोप उपलब्ध हुने विदेशी बजारमा खरिदका लागि प्रयास गर्दै आएको छ ।