मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २५ शुक्रबार
  • Thursday, 19 December, 2024
भवानीश्वर गौतम काठमाडाैं
२o७८ असार २५ शुक्रबार o९:५८:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अनलाइन कक्षा : १६ प्रतिशत  बालबालिकामा तनावजन्य समस्या

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o७८ असार २५ शुक्रबार o९:५८:oo

मनोचिकित्सकको अध्ययन : उदास छन् केटाकेटी, घटेको छ शारीरिक अभ्यास, बढ्दै छ मानसिक समस्या

लामो समयसम्म घरका कोठामा बसेर ल्यापटप वा मोबाइलबाट पठनपाठन गर्दा बालबालिकामा मानसिक, सामाजिक, शारीरिक समस्या बढेको छ । आफ्नो शिक्षक र साथीहरूसँग अन्तक्र्रिया गर्दै अध्ययन गर्ने बालबालिका भर्चुअल अध्ययन गर्न बाध्य हुँदा उनीहरूको समग्र विकास प्रक्रियामा प्रभाव परेको छ ।

क्लिनिकल साइकोलोजिस्ट नर्मदा देवकोटाका अनुसार स्क्रिनमा साथीहरूलाई देख्न पाउनु, तर उनीहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गर्न नपाउनुले बालबालिकामा तनाव बढाएको छ । देवकोटा भन्छिन्, ‘एन्जाइटी भएका बालबालिका पनि साथीहरूसँग खेलेर निको हुन्थे । अहिले अनलाइन कक्षाले बालबालिकामा एन्जाइटी बढाउने काम गरेको छ ।’ 

डा. देवकोटाले गरेको अध्ययन (सार्वजनिक नभएको)मा अनलाइन कक्षाको प्रभावले १६ प्रतिशत बालबालिकामा तनावजन्य समस्या देखिएको छ । उनले ६ देखि १८ वर्षका दुई सय ६० जना बालबालिकामा अध्ययन गर्दा यस्तो समस्या पाइएको हो । यद्यपि, उनीहरूमा तनावको हिस्ट्री थियो कि थिएन भन्ने विषयलाई अध्ययनमा समेटिएको छैन । 

कक्षाकोठामा आफ्ना साथीहरूसँग खेल्दै, जिस्कँदै अध्ययन गर्ने बालबालिका लाइभ भिडियोमा हलचल नगरी अध्ययन गर्न बाध्य छन् । पढाइमा हुने अन्तक्र्रिया, कक्षाका बीचमा हुने ब्रेकमा साथीहरूसँगको गतिविधि विद्यार्थीले सबैभन्दा ‘मिस’ गर्छन् । त्यो नपाउँदा उनीहरूमा बढेको तनाव लिएर कान्ति अस्पताल जाने अभिभावक अहिले बढेका छन् ।

डा. देवकोटाका अनुसार अनलाइन कक्षाले बालबालिकासँग खोसेको सबैभन्दा ठूलो कुरा सामाजिकीकरणको समय हो । ‘अरूसँग घुलमिल गर्ने, सामाजिक सद्भाव विकास गर्ने, अरूप्रति विनयी हुने, स्वार्थीपनामा कमी आउनेजस्ता गुण समूहबाट सिक्न सकिन्छ । पहिलोपटक विद्यालय जाने समूहका बालबालिका यो सिकाइबाट वञ्चित भएका छन्,’ देवकोटाले नयाँ पत्रिकासँग भनिन् । 

समूहमा बस्दा बालबालिकालाई अरूप्रति बढी संवेदनशील र आत्मीय हुन सिकाउँछ । कम्प्युटर, रेडियो, टेलिभिजनअगाडि एक्लै बसेर पढ्नुपर्दा एक वर्षको अवधिमा उनीहरूमा चिडचिडाहटपन बढ्ने, झर्किने, पढाइप्रति एकाग्र हुन नसक्नेजस्ता समस्या विकसित भएको पाइएको लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल मुकुन्द शर्माले बताए । 

अनलाइन कक्षाले सिकाइमा पनि कुनै फाइदा नगर्ने देखिएको छ । हेरेर, सुनेर, छलफल गरेर, अभ्यास गरेर, आफैँ संलग्न भएर मात्रै सिकाइ प्रभावकारी हुने र अहिले अधिकांश विद्यार्थी एकोहोरो सुनेर सिक्ने दबाबमा छन् । शिक्षकले पनि आफ्ना विद्यार्थीका क्रियाकलापमा ध्यान दिन पाएका छैनन् । कक्षाकोठामा गलत र सही बुझ्ने अवसरबाट बालबालिका वञ्चित भएका छन् । कतिपय बालबालिका अनलाइन कक्षाका नाममा छुट्टै कोठामा बस्ने र भिडियो अफ गरेर अनावश्यक अनलाइन पोर्टल हेर्ने गरेकोसमेत अभिभावकको गुनासो छ । 

साइन्स जर्नल मेडिकल साइन्स मोनिटरमा छापिएको चीनमा कक्षा १ देखि ९ कक्षासम्म अध्ययन गर्ने बालबालिका, तिनका अभिभावक र शिक्षकको कोभिड महामारीमा अनलाइन कक्षा अनुभवबारे गरिएको अनुसन्धानात्मक लेखमा अठार प्रतिशत बालबालिकालाई अनलाइन कक्षाले तनाव सिर्जना गरेको निचोड निकालिएको थियो । त्यो अनुसन्धानले निषेधाज्ञाको समयमा अनलाइन कक्षाले स्कुलमा पढ्ने विद्यार्थीको कक्षाको समय र गृहकार्यमा विद्यार्थीको सहभागितालाई खस्काएको पाइयो । 

मे २०२१ मा ‘जर्नल अफ मेडिकल इन्टरनेट रिसर्च’मा छापिएको ‘कोभिडको समयमा प्राथमिक स्कुलका विद्यार्थी र अभिभावकको अनुभव’मा प्राथमिक तहमा पढ्ने विद्यार्थीका अभिभावकहरूमा अनलाइन कक्षाले तनाव बढाएको देखाएको थियो । साना बालबालिकाले समयमा गृहकार्य गर्न नसकेको त्यो अनुसन्धानात्मक लेखको निष्कर्ष थियो । 

डा. देवकोटा नेपालका बालबालिकामा बढ्दो ग्याजेट प्रयोगले मानसिक समस्या बढाएको बताउँछिन् । ‘ग्याजेट बन्द गराउँदा पिट्ने, रिसाउने र आक्रमण गर्ने समस्या छ । नेपालगन्जमा एउटा बालकमा यस्तै समस्या देखिएको थियो । ग्याजेटको लतबाट सुत्न नमान्ने, रातभर जागा बस्ने, अभिभावकले सुताउन खोज्दा नटेर्ने समस्या बढेको छ,’ देवकोटाले भनिन् । 

उनको अनुसन्धानमा अनलाइनमा बस्ने बालबालिकाको पढाइभन्दा अन्यत्रसमेत ध्यान गएको देखिएको छ । १२ वर्षमाथिका बालबालिकामा निरन्तर अनलाइनमा बस्ने, पढाइमा ध्यान नदिने, कक्षा सकिएपछि साथीसँग ग्रुप बनाएर च्याट गर्ने समस्या पनि देखिएको छ ।

ह्यान्डराइटिङमा पनि समस्या
काठमाडौंका फरक स्कुलमा अध्ययन गर्ने विद्यार्थीमा लामो समयको अनलाइन कक्षासँगै अहिले एउटा समान समस्या देखिएको छ, ह्यान्डराइटिङको समस्या । विद्यार्थीमा लामो समय लेखिरहन, बुझ्ने भाषामा लेख्न मुख्य समस्या देखिएको अभिभावक र शिक्षक बताउँछन् । 

काठमाडौंको एलआरआई स्कुलमा कक्षा १० मा अध्ययन गर्ने आफ्नो छोराको अक्षर नराम्रो हुँदै गएकोमा संगीता भण्डारी चिन्तित छन् । अनलाइन कक्षा सुरु भएयता अक्षर कमजोर हुँदै गएकोमा आफूलाई चिन्ता लागेको भण्डारीले बताइन् । उनी भन्छिन्, ‘स्कुलमा लेखिरहन्थ्यो, अक्षर राम्रो थियो । अहिले कमजोर भएको छ । स्कुलमा उसले लेखेको शिक्षकले हेर्थे, नराम्रो हुँदा सच्याउन भन्थे । उसलाई राम्रो बनाउने दबाब थियो । अहिले झन् नराम्रो हुँदै गएको छ ।’ 

त्यस्तै, युलेन्स स्कुलमा कक्षा ४ र ९ मा पढ्ने सिल्भा बानियाँका छोरा र छोरीको ह्यान्डराइटिङ कमजोर हुँदै गएको छ । ‘उनीहरूले लेखेको अक्षर अस्पष्ट हुँदै गएको छ,’ उनले दुःखेसो गरिन् । भण्डारी तथा बानियाँजस्तै धेरै अभिभावकलाई अहिले आफ्ना छोराछोरीको अक्षरबारे चिन्ता थपिएको छ । अनलाइनमार्फत पठनपाठन हुने, तर नियमित होमवर्क नहुने र लेखन कार्यमा समेत ध्यान नपुग्दा बालबालिकाको ह्यान्डराइटिङ बिग्रिँदै गएको अभिभावकको निष्कर्ष छ । 

कक्षाकोठामा पढ्दा लेखिरहनुपर्ने बाध्यता अनलाइन कक्षाले हटाएकाले विद्यार्थीका अक्षर बिग्रिँदै गएको शिक्षकहरू बताउँछन् । ‘विद्यालयमै पुगेर पढ्दा धेरै होमवर्क गर्नुपथ्र्यो, नोट बनाउनुपथ्र्यो । त्यसैले राम्रो र स्पष्ट हुन्थ्यो,’ लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्मा भन्छन्, ‘अनलाइनमा विद्यार्थीले रेडिमेड प्याकेज पाउँछन्, सार्न पर्दैन । होमवर्क तुलनात्मक रूपमा कम गर्नुपर्छ, त्यसैले लेख्ने काम कम भएको छ । लेखाइ घट्नु भनेको ह्यान्डराइटिङको गतिविधि घट्नु हो ।’ 

त्यस्तै, नेरिक एकेडेमीका प्रिन्सिपल मन खत्रीले ह्यान्डराइटिङ र पढाइ कमजोर हुँदै गएको बताए । सामान्य अवस्थामा शिक्षकले विद्यार्थीको कपी हेरेर प्रतिक्रिया दिने, स्याम्पल देखाउने गरे पनि अनलाइनमा प्रत्यक्ष निगरानी नहुने र विद्यार्थीले छिटो सकेर उम्किने प्रवृत्तिले ह्यान्डराइटिङ कमजोर भएको उनको भनाइ छ । 

कक्षामा उपस्थित हुँदा अर्को साथीको ह्यान्डराइटिङ र विभिन्न स्याम्पल देखाएर अभ्यास नियमित गराइन्थ्यो । विद्यार्थीसँग नियमित भेट नहुँदा फलोअप कम हुने र शिक्षकले स्लाइड बनाएर पढाउने र त्यही अध्ययन सामग्रीका रूपमा पाउँछन् । 

कोभिड– १९ का कारण ०७६ चैतदेखि विद्यालयमा भौतिक रूपमा पठनपाठन बन्द भएको थियो । पहिलो लहरमा कोभिडको संक्रमण घटेपछि केही महिना भौतिक रूपमा सञ्चालन भए पनि दोस्रो लहर सुरु भएपछि पुनः शैक्षिक संस्था बन्द भएका छन् । असारदेखि सुरु भएको नयाँ शैक्षिक सत्रमा भर्चुअल माध्यमबाट पठनपाठन भइरहेको छ । सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगे पनि कोभिडको संक्रमण दर अझै पनि २० प्रतिशतभन्दा माथि छ । तत्काल भौतिक रूपमा पठनपाठन हुने सम्भावना देखिँदैन । 

यसरी हस्तलेखन राम्रो बनाउन सकिन्छ : गौतम श्रेष्ठ, आर्ट एन्ड हस्तलेखन शिक्षक
–    सबै अक्षर एउटै कोणमा ढल्किनुपर्छ 
–    कुनै पनि हस्तलेखन गर्दा अक्षरको आकार र संरचना समान हुनुपर्छ
–    शब्द वा अक्षरको ढाँचा पनि एकसमान हुनुपर्छ
–    नेपाली हस्तलेखनमा शब्द लेखिसकेपछि डिको दिन भुल्नुहुँदैन
–    नेपाली हस्तलेखनमा डिको दिँदा सीधा र अक्षर पूरा छोपिनुपर्छ
–    एउटा अक्षरले अर्को अक्षर र एउटा शब्दले अर्को शब्द छुनुहुँदैन
–    अक्षर र शब्दबीचको दूरी समान हुनुपर्छ
–    हस्तलेखन राम्रो बनाउन निरन्तर अभ्यास गर्नुपर्छ

 

हिंस्रक बन्दै छन्  केटाकेटी, तीसँग खेल्नुहोस् : डा. नर्मदा देवकोटा


बालमनोचिकित्सकहरूका अनुसार बालबालिकामा ग्याजेटको लत बढेको छ । कतिपय त रातभरि नसुतेर ग्याजेटमै रमाउने पनि छन् । ग्याजेट बन्द गराउँदा रिसाउने र अभिभावकमाथि हिंस्रक बन्ने समस्या बढेको छ ।

क्लिनिकल साइकोलोजिस्ट नर्मदा देवकोटा भन्छिन्, ‘अहिले अभिभावकले केटाकेटीलाई झन् धेरै समय दिनुपर्छ । उनीहरूसँग खुलेर कुरा गर्ने र सँगै खेल्ने गर्नुपर्छ ।

घरभित्रै लुँडो, क्यारेमबोर्डलगायत ‘इन्डोर गेम’ खेल्न सकिन्छ । अभिभावकले योगा गर्नुहुन्छ भने बालबालिकालाई पनि सँगै गराउन सकिन्छ । यसले उनीहरूलाई ‘फ्रेस’ बनाउँछ । 

आँखामा समस्या देखिँदै छ, लेन्सदेखि खानेकुरासम्म विचार गर्नुहोस् : डा. शैलेश प्रधान


लामो समयसम्म स्क्रिनमा हेरिरहँदा केटाकेटीमा आँखाको समस्या बढेको छ । पाटन सामुदायिक आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. शैलेश प्रधान भन्छन्, ‘स्क्रिनमा विभिन्न रङको प्रयोगले पनि समस्या बढाएको छ ।

एकोहोरो स्क्रिनमा हेर्दा केटाकेटीले आवश्यक मात्रामा आँखा झिम्क्याउँदैनन्, त्यसले आँखामा पानी सुकाउँछ ।’ बालबालिका पढ्ने कोठा उज्यालो हुनुपर्ने भए पनि बाहिरको प्रकाश सीधै स्क्रिनमा नपर्ने गरी कोठा व्यवस्थापन गर्न डा. प्रधानको सुझाब छ । ‘स्क्रिन र आँखाको दूरी नमिल्दा पनि आँखालाई समस्या हुन्छ ।

कम्प्युटर र मोबाइलको स्क्रिन आँखाको तहभन्दा १४ देखि २५ डिग्री र कम्तीमा २५ इन्च पर हुनुपर्छ,’ उनी भन्छन्, ‘लामो समय स्क्रिन हेरिरहँदा आँखा झिम्क्याउने दरमा कमी आउँछ ।

त्यसैले समय–समयमा कम्प्युटरबाट ध्यान हटाएर वरिपरि हेर्नुपर्छ । स्क्रिनको असर कम गर्न एन्टिग्लेएर चस्मा प्रयोग पनि उपयुक्त हुन्छ । लेन्सले आँखामा पर्ने प्रकाशलाई फर्काउने हुँदा कम असर हुन्छ । आँखा सुक्खा हुन थाले औषधि प्रयोग गर्न सकिन्छ । आँखा स्वस्थ राख्न बालबालिकालाई झोलिलो र ‘भिटामिन–ए’युक्त खानेकुरा खुवाइरहनुपर्छ ।

‘ह्यान्डराइटिङ’ बिग्रियो, झन् लेख्न लगाउनुहोस् : शिक्षक गौतम श्रेष्ठ

होमवर्क, लेखन अभ्यास र शिक्षकको प्रत्यक्ष निगरानी कम नहुँदा धेरै विद्यार्थीको ‘ह्यान्डराइटिङ’ बिग्रेको छ ।

आर्ट एन्ड हस्तलेखन शिक्षक गौतम श्रेष्ठ भन्छन्, ‘केटाकेटीको ह्यान्डराइटिङ राम्रो बनाउन निरन्तर लेख्न लगाइरहनुपर्छ ।

आकार र संरचना उस्तै भयो, दूरी एक समान भयो र एकैतिर ढल्काएर लेख्यो भने अक्षर राम्रा हुन्छन् । जति धेरै अभ्यास, उति राम्रा अक्षर ।’