मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७८ असार ७ सोमबार २०:५५:००
Read Time : > 2 मिनेट
खेलकुद

नेदरल्यान्ड्सको लक्ष्य समूहविजेता बन्ने 

Read Time : > 2 मिनेट
एजेन्सी
२०७८ असार ७ सोमबार २०:५५:००

युरोकप २०२० च्याम्पियनसिपअन्तर्गत सोमबार राति ९ः४५ बजे समूह ‘सी’का दुई खेल हुँदै छन् । नेदरल्यान्ड्सले युरोकपमा नर्थ मेसेडोनियासँग प्रतिस्पर्धा गर्दै छ । दुई खेल गुमाएको मेसेडोनिया प्रतियोगिताबाट बाहिरिसकेको छ । मेसेडोनिया समूह ‘सी’मा अंकविहीन छ ।

नेदरल्यान्ड्स भने लगातार दुई खेलमा जित निकालेर प्रिक्वार्टरफाइनल स्थान पक्का गरिसकेको टोली हो । आजको खेलमा नेदरल्यान्ड्सको लक्ष्य नै लगातार तीन जित निकाल्ने हो । 

मेसेडोनियासँग बराबरी नतिजा निकाले पनि सात अंकका साथ नेदरल्यान्ड्स समूहविजेता नै हुनेछ । मेसेडोनियासँगको हारले भने समूहविजेता बन्ने वा नबन्ने युक्रेन र अस्ट्रियाबीचको नतिजामा भर पर्नेछ । युक्रेन र अस्ट्रियाबीच बराबरी भए पनि नेदरल्यान्ड्स समूह ‘सी’ विजेता हुनेछ । 

एक खेलअगाडि नै नकआउट चरणमा प्रवेश गरिसकेको नेदरल्यान्ड्सले नर्थ मेसेडोनियाविरुद्ध नयाँ खेलाडीलाई समेत मौका दिनेछ । किनभने नेदरल्यान्ड्सले मेसेडोनियाविरुद्ध दबाब लिएर प्रतिस्पर्धा गर्नुपर्दैन । दबाब कम भएको खेलमा पहिलो रोजाइका खेलाडी घाइते हुँदा नकआउट चरणमा समस्या हुन सक्छ । 

युरोकपमा मेसेडोनिया भने पहिलो जितको प्रतीक्षामा छ । लगातार दुई खेलमा पराजित भएका कारण साख रक्षाका लागि पनि जितको खोजीमा छ । मेसेडोनिया पहिलो खेलमा अस्ट्रिया तथा दोस्रो खेलमा युक्रेनसँग पराजित भएको थियो । 

फुटबल इतिहासमा मेसेडोनिया र नेदरल्यान्ड्सबीच यो पाँचौँ खेल हो । नेदरल्यान्ड्सविरुद्धको अघिल्ला खेलमा मेसेडोनियाले गतिलो प्रदर्शन गरेको छ । नेदरल्यान्ड्सले मेसेडोनियालाई दुईपटक हराएको छ । दुई खेलमा मेसेडोनियाले नेदरल्यान्ड्सलाई रोकेको छ । 

युक्रेन र अस्ट्रिया दुवैलाई मौका

युरोकप २०२० अन्तर्गत समूह ‘सी’को अर्को खेलमा युक्रेनले अस्ट्रियाको सामना गर्नेछ । युक्रेन र अस्ट्रियाले समान दुईबाट तीन अंक बटुलेका छन् । यसकारण बुचारेस्ट मैदानमा दुवै टोली हार वा बराबरी नतिजा आत्मसात् गर्न चाहँदैनन् । बुचारेस्टको मैदानमा जसले स्पष्ट जित हासिल गर्छ, उही नै समूहविजेता वा उपविजेताका रूपमा अन्तिम १६ को स्थानमा जान सक्छ । समूह ‘सी’मा नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेनबीच समूहविजेताको सम्भावना अझै बाँकी नै छ । 

नर्थ मेसेडोनियाले नेदरल्यान्ड्सलाई हराउँदा युक्रेन र अस्ट्रियाका शीर्ष स्थानमा पुग्ने सम्भावना बढ्नेछ । नेदरल्यान्ड्स बराबरीमा मात्र रोकिँदा पनि युक्रेन र अस्ट्रियाबीच समूह उपविजेताको छिनोफानो हुनेछ । 

अस्ट्रिया र युक्रेनले दुई खेलबाट केवल तीन अंक मात्र जोडेका छन् । विजयी हुने टोली सीधै प्रिक्वार्टरफाइनलमा पुग्नेछ । पराजित टोली उत्कृष्ट तेस्रोमा रही अन्तिम १६ मा पुग्न सक्छ । त्यो समीकरणबाट नकआउट चरणमा जानुभन्दा स्पष्ट जितका साथ अर्को चरणमा प्रवेश पाउने लक्ष्य नै युक्रेन र अस्ट्रियाले लिएका छन् । युक्रेनविरुद्धको आजको खेलमा अस्ट्रियाका स्ट्राइकर मार्को अर्नाउटोभिक फर्केका छन् । 

नेदरल्यान्ड्सविरुद्धको खेलमा लगातार दुई कार्ड पाएकाले उनी एक खेलमा प्रतिबन्धमा परेका हुन् । वेस्ट हामको पूर्वखेलाडी मार्कोस चीनको संघाई पोर्टबाट लिग खेल्छन् । युक्रेनले मुख्य डिफेन्डर डेन्सी पोपोभलाई मिस गर्नेछ । उनको ‘कफ’मा समस्या छ । युक्रेनका प्रशिक्षक एन्ड्रेय सेभ्चेन्कोले पोपोभ नखेल्ने बताइसकेका छन् । अस्ट्रिया र युक्रेनबीच अहिलेसम्म दुई मैत्रीपूर्ण खेल भएको छ । 

यी दुवै टोलीले मैत्रीपूर्ण खेलमा एक–एक जित निकालेका छन् । विश्वकप वा युरोकपमा युक्रेन अस्ट्रिया पहिलोपटक आमने–सामना हुन लागेका हुन् । पछिल्लो दुई भेटमा उनीहरूका खेलाडीले आठ गोल गरेका थिए । 

सन् २००६ को विश्वकप फुटबल प्रतियोगितामा युक्रेनले साउदी अरेबिया तथा ट्युनिसियालाई हराएको थियो । यो दुवै खेलमा वर्तमान टोलीका प्रशिक्षक एन्ड्रेसले गोल गरेका थिए । अस्ट्रियाले मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगतामा १७ खेल खेल्दा केवल दुईमा मात्र जित निकालेको छ । युरोकप र विश्वकपमा गरी अस्ट्रियाले १७ खेल खेलेको हो । युरोकपमा आठ मध्ये एक खेलमा जित निकालेको अस्ट्रिया सन् २०१६ को युरोकपमा तीन वटै खेल गुमाएको थियो ।

मेजर फुटबल प्रतियोगिता अस्ट्रियाको रेकर्ड त्यति राम्रो छैन । सन् १९९८ को विश्वकप र सन् २००८ को युरोकपमा पनि अस्ट्रियाले समूह चरणका खेल गुमाएको थियो । चालू युरोकपमा अस्ट्रियाको फिनिसिङ निकै कमजोर देखिन्छ । दुई खेलमा अस्ट्रियाले विपक्षी पोस्टमा सातपटक मात्र सट्स टार्गेटमा प्रहार गरेको छ । अस्ट्रियाका लागि एलेसान्डर ड्रागोभिक पहिलो दुई खेलमा स्थान बनाउँदै राष्ट्रिय टोलीबाट ९३औँ क्याप जिते ।