मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ६ आइतबार ०९:०२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली नजर : युरोकप विश्वकपभन्दा पनि प्रतिस्पर्धात्मक हुन्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ६ आइतबार ०९:०२:००

सञ्जीव मिश्र, फुटबल विश्लेषक

कोरोना भाइरस (कोभिड–१९) महामारीबीच पनि युरोकप २०२० चलिरहेको छ । युरोकपको एउटा सुन्दर विशेषता यो पनि हो । कोरोना महामारी सुरु भएपछि आयोजना भएको ठूलो प्रतियोगिता नै युरोकप हो । विश्व मानव समुदायले स्वास्थ्य संकट व्यहोरिरहेको समय युरोपका ११ विभिन्न देशमा प्रतियोगिताअन्तर्गतका खेलहरू सञ्चालन भइरहेका छन् । दुईभन्दा बढी देशमा युरोकप आयोजना भएको पनि यो पहिलोपटक हो । यसले खेल हेर्नका लागि दर्शकले गर्नुपर्ने भ्रमणमा कमी आएको छ । दर्शकले आफ्नै सहरमा खेल हेर्न पाएका छन् ।

मलाई युरोकप मन पर्नुको कारण यसका सबै खेल प्रतिस्पर्धात्मक हुन्छन् । विश्वकपलाई फुटबलको ठूलो प्रतियोगिता मानिन्छ । तर, विश्वकपको तुलनामा युरोकपका सबै खेल प्रतिस्पर्धात्मक हुने गर्छन् । 

युरोपेली फुटबल संघ (युइएफए)ले गत संस्करणबाट सहभागी टोलीको संख्या १६ बाट बढाएर २४ पुर्‍याएको छ । त्यसका बाबजुद पनि युरोकपका खेलहरू प्रतिस्पर्धात्मक हुने गरेका छन् । त्यसको कारण हो, युरोपका प्रायः देश फुटबलमा राम्रा छन् । 

युरोपका देशहरूमा फिफा वरीयताले पनि खासै फरक पार्दैन । युरोकप सुरु हुनु केही दिनअघि मात्रै इटालीले सानमारिनोसँग मैत्रीपूर्ण खेल खेलेको थियो । फिफा वरीयतामा इटाली सातौँ र सान मारिनो २१०औँ स्थानको टोली हो । अर्थात्, युरोपको देश सान मारिनो फिफा वरीयतामा अहिलेसम्म रहेका देशहरूमध्ये सबैभन्दा पुछारको टोली हो । 

तर, उक्त मैत्रीपूर्ण खेलमा इटालीले सान मारिनोविरुद्ध सात गोल मात्रै गर्न सक्यो । यसको अर्थ युरोपका जुनसुकै देश सशक्त प्रदर्शन गर्न सक्छन् । जारी युरोकपमा पनि जितको अन्तर ३ गोलभन्दा माथि देखिएको छैन । स्विडेनविरुद्धको खेलमा ८५ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राख्दा पनि स्पेनले जित हात पार्न सकेन । स्पेन, जर्मनी, इंग्ल्यान्डलगायत केही ठूला टोलीहरूलाई अहिले समूहगत चरणमै केही मुस्किल देखिएको छ । 

त्यसका बाबजुद यसपटक नयाँ टोलीले उपाधि जित्ने सम्भावना भने कमै देखेको छु । समूहगत चरणको खेललाई आधार मान्दा इटाली, फ्रान्स, बेल्जियम, पोर्चुगल बलियो देखिएका छन् । पोर्चुगलको टोलीमा एउटै क्लबबाट खेल्ने खेलाडीहरूको बाहुल्य छ । त्यसमाथि उनीहरूसँग क्रिस्टियानो रोनाल्डो पनि छन् । त्यसले गर्दा पोर्चुगललाई पनि उपाधिको दाबेदार टोली देखेको छु । स्पेनलाई अझै कमजोर मान्न मिल्दैन ।

समूहगत चरण पार गरेको अवस्थामा स्पेन, इंग्ल्यान्ड, जर्मनीलगायत टोलीहरूले नकआउट चरणमा सशक्त प्रदर्शन गर्ने निश्चित छ । यसपटकको युरोकपमा एउटा विशेषता देखेको छु । सबै टोलीले तीव्र गतिमा खेलेका छन् । कुनै पनि टोलीको खेल सुस्त छैन । त्यसले पनि खेललाई रोमाञ्चक बनाएको छ ।