१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार २ बुधबार ११:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाल्पामा पहिरोले पुरिएर एकको मृत्यु,  सिद्धार्थ राजमार्ग बगायो

Read Time : < 1 मिनेट
२०७८ असार २ बुधबार ११:११:००

अविरल वर्षाका कारण रिब्दीकोट गाउँपालिका ४ मन्छिपमा पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । महेन्द्र भट्टराई क्षेत्रीको घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष कुमार भट्टराइले जानकारी दिए ।

उनको मंगलबार राती मृत्यु भएको हो । निरन्तर वर्षाले खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तानसेन नगरपालिका–८, गौडेपुलनजिकै ५० मिटर सडक बगाएको छ ।

माथिबाट खसेको पहिरोले राजमार्गको जग नै बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको खसेको थियो । खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले बताए । 

वर्षा नरोकिएकाले सडक डिभिजनले काम गर्न नसकेको बताइएको छ । ठूला उपकरण लगाएर काम गर्न सकेको छैन । अत्यावश्यक सवारीसाधनहरू र मालवाहक गाडीहरू राजमार्गकाे लाइनमा छन् । तत्काल बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले बताएको छ ।

पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकको हुमिन र चापगैरामा पनि पहिरोले सडक अवरुद्ध भएको छ । तिनाउ खोलामा बाढीले सतह पार गरेको छ ।  तिनाउ नदीमा आएको बाढीले दायााँबायाँ भागमा कटान गर्दा खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ । पाल्पाकै बाँसटारी, माडी, डुम्रेमा पनि अविरल वर्षासँगै आएको बाढीले खेत पुरिएको छ ।