प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोराले चलाएको कारले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बिहीबार साँझ विराटनगरको एयरपोर्ट रोडमा सांसद कार्कीका छोरा रोबिन कार्कीले चलाएको प्रदेश ३-०१-००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हाे ।
शर्माको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अर्का पैदलयात्री मोरङ कटहरी गाउँपालिका- २ का २२ वर्षीय राजकुमार राजवंशी घाइते भएका छन् । उनको विराटनगर कञ्चनबारीस्थित नोवेल मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।
दुवैजना विराटनगर- ४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगमा काम गर्ने मजदुर हुन् । प्रत्यक्षदर्शीका अनुसार बिहीबार साँझ करिब साढे ७ बजे सांसद कार्कीका छोराले कुदाएको कारले उद्योगबाट काम गरेर फर्कँदै गरेका दुईजना पैदयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक कार्की क्षतिग्रस्त कारलाई सडकमै छाडेर फरार भएका छन् ।
पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका सांसदका छोरालाई प्रहरीले अझै नियन्त्रणमा लिएको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘दुर्घटनाको सूचना आएको छ, तर अहिले नै किटान गरेर भन्न सकिँदैन, हामी अनुसन्धान गर्दैछौँ ।’