मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २१ शुक्रबार
  • Thursday, 19 December, 2024
विजयराज खनाल काठमाडौं
२o७८ जेठ २१ शुक्रबार o८:२३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय भुक्तानी कार्डले वार्षिक एक अर्ब जोगिने 

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ २१ शुक्रबार o८:२३:oo

राष्ट्रिय भुक्तानी कार्ड सञ्चालनमा आएपछि वार्षिक १ अर्ब रुपैयाँ बिदेसिनबाट जोगिने प्रक्षेपण गरिएको छ । अहिले एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा प्रतिकारोबार १० देखि १२ रुपैयाँसम्म बाहिरिने सानिमा बैंकका आइटी प्रमुख विक्रम श्रेष्ठले बताए । यसलाई आधार मान्दा वार्षिक १ अर्ब रकम बाहिरिने आकलन गरिएको उनको भनाइ छ । तर, गत वर्षको बजेट भाषणमा समावेश गरिएको राष्ट्रिय भुक्तानी कार्ड प्रयोगमा आएपछि उक्त रकम बाहिरिनबाट जोगिने उनले बताए । यसपटकको बजेट भाषणमा पनि समावेश गरिएको यो कार्यक्रमको तयारी भने केही महिनाअघिदेखि भइरहेको छ । 

‘हामी अहिले राष्ट्रिय भुक्तानी स्विचको विकास गर्न लागिरहेका छौँ, भुक्तानी कार्ड यसैको एउटा पाटो हो,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख भुवन कँडेलले भने, ‘चालू आवभित्र कार्डबाट भुक्तानीबाहेक (मोबाइल बैंकिङ, क्युआर कोड पेमेन्टलगायत) मा बैंकहरूबीच अन्तरआबद्धता कायम गरिसक्नेछौँ ।’ 

अहिले मुलुकभित्र बैंकहरूले अन्तर्राष्ट्रिय कम्पनीहरूले बनाएका भिसा, युनियन पे, मास्टर्स कार्डलगायत प्रयोगमा ल्याएका छन् । यी कार्ड प्रयोग गर्दा शुल्क मात्रै होइन, कारोबारको तथ्यांकसमेत ती कम्पनीहरूमा पुग्छ । त्यसैले पनि राष्ट्रिय कार्डको आवश्यकता रहेको राष्ट्रिय भुक्तानी स्विचको विकासमा काम गरिरहेको नेपाल क्लियरिङ हाउस नेपाल (एनसिएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले बताए । 

‘मुलुकबाहिर अन्तर्राष्ट्रिय कार्ड नै चल्ने भए पनि मुलुकभित्र हुने भुक्तानी कारोबारका लागि राष्ट्रिय भुक्तानी कार्ड नै चाहिन्छ,’ प्रधानले भने, ‘त्यसैले मुलुकभित्र स्वदेशी कार्ड नै प्रयोग गर्न बाध्य पार्न नमिले पनि केही सहुलियतहरू दिएर प्रोत्साहन गर्नुपर्ने हुन सक्छ ।’ 

यद्यपि, राष्ट्रिय भुक्तानी स्विच र राष्ट्रिय भुक्तानी कार्ड बनाउने काम प्रारम्भिक चरणमै छ । अहिले नेपाल क्लियरिङ हाउसले मोबाइल बैंकिङलगायतमा अन्तरबैंक आबद्धता गरिरहेकै छ । राष्ट्रिय भुक्तानी स्विचले भने यस्तै काम ठूलो परिमाणमा गर्नेछ । यसमा खुद्रा कारोबार, क्युआर कोडबाट हुने कारोबार, मोबाइल बैंकिङबाट हुने कारोबारलाई पनि अन्तरआबद्ध गरिनेछ । त्यति मात्रै होइन, राष्ट्रिय भुक्तानी स्विच सञ्चालनमा आएपछि यसमा अन्तर्राष्ट्रिय कार्डबाट हुने मुलुकभित्रको कारोबारको रेकर्ड पनि हुनेछ । यसले नियामकहरूलाई कारोबारहरूलाई नियमनको दायरामा ल्याउन थप सजिलो हुने बताइएको छ । 

भारत र श्रीलंकाको आफ्नै भुक्तानी कार्ड
छिमेकी मुलुक भारत र श्रीलंकामा करिब एक दशकअघि नै राष्ट्रिय भुक्तानी कार्ड प्रयोगमा आइसकेको छ । भारतले सन् २०१२ मै रुपे कार्डको नाममा राष्ट्रिय भुक्तानी कार्ड प्रयोगमा ल्याएको हो । यसको विकास नेसनल पेमेन्ट््स कर्पोेरेसन अफ इन्डियाले गरेको हो । हाल रुपेअन्तर्गतका विभिन्न कार्ड अन्तर्राष्ट्रिय भुक्तानीका लागिसमेत प्रयोग भइरहेको छ । अनलाइन मात्र नभई अफलाइन मोडमा पनि प्रयोग गर्न सकिने यी कार्डमध्ये कतिपयमा नियमित भुक्तानीलाई स्वचालित बनाउन सकिने सुविधादेखि हातमा लगाइने स्मार्ट वाचहरूका माध्यमबाट समेत भुक्तानी गर्न सकिने गरी पनि बनाइएको छ । 

श्रीलंकाको लंका क्लियरले विकास गरेको लंका पे पनि सन् २०१३ देखि प्रयोगमा ल्याइएको छ । श्रीलंकाको केन्द्रीय बैंकको योजनाअनुसार मुलुकको ९५ प्रतिशत कारोबार नगदरहित बनाउने उद्देश्यले लंका क्लियरले जस्ट पे पनि प्रयोगमा ल्याइरहेको छ ।