यो वर्ष हरेक विधामा मनोनीत अधिकांश फिल्म फिल्महलमा नभएर नेटफ्लिक्सजस्ता स्ट्रिमिङ सेवामा प्रदर्शित थिए
९३औँ एकेडेमी अवार्ड समारोह विगतको भन्दा भिन्न देखियो । यसको कारण कोभिड मात्र थिएन । ओस्कार पुरस्कारलगायत हिजोका दिनका परिचित सांस्कृतिक परिदृश्य फिल्महल खुल्न थालिसकेपछि पनि उस्तै रहलान् कि नरहलान् भन्ने प्रश्न पनि छ ।
आइतबार राति सम्पन्न ओस्कार समारोहमा वितरित केही शीर्ष पुरस्कारले पुरानो र नयाँ परिवर्तनको मिश्रित सन्देश प्रदान ग¥यो । एन्थोनी हप्किन्स र फ्रान्स म्याक्डोरमान्डले दोहोर्याएर जितेको पुरस्कार यसको उदाहरण थियो । हप्किन्स र म्याक्डोरमान्डले क्रमशः उत्कृष्ट अभिनेता र अभिनेतृको पुरस्कार हात पारे ।
हप्किन्सले दोस्रोपटक ओस्कार जितेका हुन् । उनले ‘द फादर’मा निभाएको अल्जाइमरपीडित बिरामीको अभिनयलाई उनको करियरकै उत्कृष्टमध्ये एक मानिएको छ । त्यस्तै म्याक्डोरमान्डको यसपटकको ओस्कार अवार्ड तेस्रो हो । उनले ‘नोम्याडल्यान्ड’मा रोजगारी र वासस्थान खोज्दै हिँडेकी कामबाट निकालिएकी एक उद्योग कामदारको भूमिकाका लागि यसपटक ओस्कार जितिन् ।
समारोहमा उत्कृष्ट फिल्मको उपाधि हासिल गरेको ‘नोम्याडल्यान्ड’बाट यसकी निर्देशकले पनि उत्कृष्ट निर्देशकको उपाधि जितिन् । बेइजिङमा जन्मिएकी निर्देशक क्लोई झाओ ओस्कार जित्ने दोस्रो महिला र पहिलो गैरश्वेत महिला हुन् ।
पुरानो ‘हलिउड’ र योसँग जोडिएका हरेक कुरा बिस्तारै हराउँदै छन् । त्यो आफैँमा भने नराम्रो कुरा होइन । कथा र क्यामेरा अगाडि र पछाडिका प्रतिभामा विविधता बढेको छ । अधिकांश परिर्वतन स्थायी हुने संकेत पनि देखिन्छ ।
‘द फादर’मा हप्किनले गरेको अभिनय सर्वत्र प्रशंसित भए पनि पुरस्कार भने अर्कैले जित्ने अनुमान गरिएको थियो । दिवंगत अभिनेता चाडविक बोसम्यानले ‘मा रेनिज ब्ल्याक बटन’मा निभाएको क्रुद्ध ज्याज ट्रम्पेट बादकको भूमिकामा धेरैको नजर टिकेको थियो । (बोसम्यानको ४३ वर्षको उमेरमा अघिल्लो अगस्टमा आन्द्रामा भएको क्यान्सरका कारण मृत्यु भयो ।) म्याडोरमान्डलाई पनि भायोला डेभिस र क्यारे मुलिगनले कडा टक्कर दिएका थिए । ओस्कारमा आमअपेक्षाविपरीतको जितले सामाजिक सञ्जालमा आश्चर्य र आक्रोश निम्त्याउने गर्छ । तर, ओस्कारबारे गुनासो गर्नु त चर्चित बसिबियाँलो नै मानिन्छ ।
लामो समयदेखि फिल्मसँग फिल्महल अभिन्न रूपमा जोडिँदै आएको छ । कोभिडअघि नै मल्टिप्लेक्स तथा हलहरू विश्वभर बन्द हुन थालेका थिए । स्ट्रिमिङ सेवाले हल व्यवसायलाई धक्का दिन थालेको छ । यो वर्ष हरेक विधामा मनोनीत लगभग अधिकांश फिल्म हलमा नभएर नेटफ्लिक्स, हुलु, अमेजन प्राइम र अन्य स्ट्रिमिङ सेवामा प्रदर्शित भइसकेका थिए । यसैबाट हामी अन्योलग्रस्त भयौँ । यो वर्ष ओस्कारमा मनोनीत फिल्मलाई ‘मुभिज’ मान्न हलमा देखाइन आवश्यक हुन्छ कि हुँदैन ? (किनकि विगतमा हलमा देखाइने फिल्मलाई मुभिज भनिन्थ्यो ?) अथवा अब महामारीपछि पनि फिल्महलमाथि स्ट्रिमिङ सेवा नै हाबी हुनेछ ? त्यसो भयो भने ओस्कार अझै ओस्कार नै रहला ?
यसपटकको ओस्कार समारोह विगतको जस्तो चम्किलो र भव्य थिएन, यो कुनै आत्मीय टिभी सोजस्तो थियो । यसका लागि पनि कोभिड–१९ को सावधानी कदम जिम्मेवार हुन सक्छ । तर, समारोहको आत्मीयताले विगत वर्षमा फिल्म उपभोक्ताले तिनका सामग्रीलाई कसरी लिए भन्नेतर्फ पनि प्रतिबिम्बित गर्याे । कम चमकधमकपूर्ण, कम ग्ल्यामरस, विगतका भन्दा कम अनुपयुक्त चुट्किला पनि यो वर्षको ओस्कारको विशेषता रह्यो । विशेषतः ब्ल्याक प्यान्थरका सहादत प्राप्त नेता फ्रेड ह्याम्प्टनको भूमिका निभाएका डेनियल कलुयाको एसेप्टेन्स भाषणले भने असहज हाँसो निम्त्यायो । खासमा यस्तै मानवीय क्षणले ओस्कारलाई अविस्मरणीय र हेर्नलायक बनाउँछ । सम्भवतः कलुयाले भाषणका क्रममा भनेका हास्यास्पद कुरा पछि रमाइलो रूपमा स्मरण गरिनेछ । कोरियन–अमेरिकी परिवारको कथा बोकेको फिल्म ‘मिनारी’बाट उत्कृष्ट सहअभिनेतृको पुरस्कार जितेकी यह–जुङ युनको एसेप्टेन्स स्पिचले पनि धेरैको ध्यान तान्यो ।
पुरस्कार समारोहको अन्त्यमा म्याक्डोरम्यान्डले ओस्कारमा मनोनीत फिल्मलाई पछि हलमा हेर्न आग्रह गरिन् । तर, अब फिल्म हेर्न दर्शक हलमै जालान् भन्ने कुराको ग्यारेन्टी छैन । ‘पुरानो हलिउड’ र योसँग जोडिएका हरेक कुरा बिस्तारै हराउँदै छन् । त्यो आफैँमा भने नराम्रो कुरा होइन । कथा र क्यामेरा अगाडि र पछाडिका प्रतिभामा विविधता बढेको छ । अधिकांश परिर्वतन स्थायी हुने संकेत पनि देखिन्छ । दिवंगत पटकथा लेखक विलियम गोल्डम्यान फिल्म व्यवसायको पहिलो र एक मात्र नियमबारे बताउँदा भन्थे रे– ‘कसैलाई केही थाहा छैन ।’ सायद फिल्म उद्योगमा कहिले नबदलिने चिज यही होला । सायद यस वर्षको ओस्कार अवार्डबारे सबै बताउन सक्ने सोचेका अधिकांश ओस्कार पण्डित पनि यसमा सहमत होलान् ।
(सेमोर संगीत, फिल्म र संस्कृतिबारे विभिन्न चर्चित पत्रिकामा लेखिसकेका समीक्षक हुन्)
सिएनएनबाट