मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख १ बुधबार ०७:४८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनाङमा दिवा खाजाको प्रभाव : सामुदायिक विद्यालयमा विद्यार्थी नियमित, निजीमा गएकासमेत फर्किए

Read Time : < 1 मिनेट
२०७८ बैशाख १ बुधबार ०७:४८:००

मनाङका सामुदायिक विद्यालयमा दिवा खाजाका कारण विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर सुधार गर्न भन्दै सरकारले कक्षा पाँचदेखि मुनिका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको छ । 

यो कार्यक्रमका कारण हिमालपारिको जिल्ला मनाङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित रूपमा आउन थालेका छन् । मनाङका २६ वटा सामुदायिक विद्यालयका पाँच सय ४० जना विद्यार्थी दिवा खाजाबाट लाभान्वित भएका छन् । जिल्लाभित्र रहेका सबै सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्मका बालबालिकाहरूलाई दिवा खाजाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले जानकारी दिए । 

उनका अनुसार विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थितिमा वृद्धि भएको विद्यालयहरूले जनाएका छन् । मनाङको सदरमुकाम चामेमा रहेको नेपालकै नमुना विद्यालय लोकप्रिय माविमा दिवा खाजाले नियमित विद्यालय नआउने विद्यार्थीहरू पनि अहिले नियमित विद्यालय आउने गरेको र नयाँ विद्यार्थीको संख्या पनि बढेको शिक्षक सुरेश थापाले बताए । ‘दिवा खाजाले अहिले विद्यालयमा विद्यार्थीहरू नियमित आउन थालेका छन्, यसले विद्यालयको शैक्षिक गतिविधि पनि बढेको छ,’ उनले भने । 

विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएपछि विद्यार्थी उपस्थितमा नियमितता आएको छ । सरकारी विद्यालयमा सञ्चालन गरेको दिवा खाजाले निजी विद्यालयमा गएका कतिपय विद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा फर्किएका शिक्षकहरू बताउँछन् । 

मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङ जिल्लाभर चारवटा मावि, आठवटा आधारभूत र १५ वटा प्रावि छन् ।  प्रारम्भिक बालविकास शिक्षामा दुई सय १० र १ देखि पाँचसम्म तीन सय ३० जना विद्यार्थी दिवा खाजाबाट लाभान्वित हुँदै आएका छन् । मनाङका २६ वटा सामुदायिक विद्यालयमा ६ सय ५१ जना विद्यार्थी अध्ययनरत छन् । मनाङका चारवटै स्थानीय तहले सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरेका छन् ।