१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कारा स्विसर
२o८१ बैशाख २० बिहीबार o९:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जेफ बेजोस भर्सेस मजदुर युनियन

Read Time : > 2 मिनेट
कारा स्विसर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२७:oo

अमेजन स्थापना भएको अढाई दशकमा जेफ बेजोस प्रविधि क्षेत्रमा सर्वशक्तिमान बने । स्थापनादेखि अमेजनले विस्तारलाई मात्र महत्व दिइरह्यो । यस अवधिमा आलोचनाप्रति समेत बेजोस र उनका सहायकले कमै प्रतिक्रिया दिने गर्थे । यस्तो लाग्थ्यो, अमेजनका उच्च पदाधिकारीको एउटै ध्यान बजार विस्तार तथा नियन्त्रणमा मात्र छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबाट आलोचना हुँदासमेत उनी मौन रहेका थिए । (एउटा अपवाद अहिलेकी प्रेमिकालाई पठाएको यौनजन्य सन्देश लिक हुँदा देखिएको थियो । त्यसवेला बेजोसले आक्रोशित प्रतिक्रिया दिएका थिए ।)

तर, पछिल्लो केही साता अमेजनले शृंखलाबद्ध क्रुद्ध ट्विटहरू गरेको देखियो । यी ट्विटबारे बुझ्न अमेजनभित्रको मजदुर राजनीतिमा नजर लगाउनुपर्छ । अमेजनको अलाबामास्थित प्याकेजिङ केन्द्रका कामदारले श्रमिक युनियन खोल्ने कि नखोल्ने विषयमा मतदान गरेका थिए । त्यसको परिणाम नआउँदै अमेजनको ट्विटर ह्यान्डलबाट आक्रोश पोखिन थाल्यो ।

अलाबामाको चुनावलाई डिजिटल अर्थतन्त्रको विस्तारमाझ त्यहाँका श्रमिकलाई संगठित श्रमतिर आकर्षित गर्न सक्ने वा नसक्ने परीक्षणको रूपमा हेरिएको छ । अमेजनले भने अलाबामा तथा अन्य स्थानका आफ्ना श्रमिकको संगठित हुने प्रयासलाई निको मानेको छैन । कम्पनीको ध्यान ठूला प्रविधि कम्पनीलाई नियमन गर्ने वासिङ्टनका राजनीतिज्ञको चर्चामा पनि छ । छोटोमा भन्दा संगठित श्रमिक र अमेजन दुवैले अलाबामाको संघर्षलाई ठूलो महŒवका साथ हेरेका थिए । 

अमेजनभित्र श्रमिक अधिकारसम्बन्धी संघर्ष केही समयदेखि उठ्न थालेको थियो । अमेजन अमेरिकाकै सबैभन्दा ठूलो रोजगारदाता बन्ने क्रममा छ । महामारीकालमा थपिएका लाखौँ कामदारसमेत गरेर अमेजनमा अहिले १३ लाख पूर्णकालीन र पार्टटाइम कामदार काम गर्छन् । आफ्ना सामान र सेवाको मागमा भएको वृद्धिलाई सम्बोधन गर्न अमेजनले यति धेरै कर्मचारी राखेको हो ।

कामदार संख्याको वृद्धिसँगै कम्पनीभित्र काम गर्ने स्थितिबारे पनि गुनासो बढ्न थाल्यो । धेरै श्रमिक कम्पनीले आफूलाई गर्ने निगरानी र काममा धेरै धपेडी हुने कुराबाट असन्तुष्ट थिए । यसले अमेजनमा युनियनकरणको माग उठ्न थाल्यो । कामदारलाई गर्ने व्यवहारलाई लिएर आलोचना बढ्न थालेसँगै अमेजनले केही कदम पनि उठाएको थियो । उसले केही अघि नै श्रमिकहरूको न्यूनतम ज्याला १५ डलर पुर्‍याएको थियो भने स्वास्थ्य सुविधा पनि बढाएको थियो । तर, यसले पनि पर्याप्त माग सम्बोधन गरेन । 

अमेजनका लागि श्रमिक युनियनभन्दा कमजोर नियमन कानुन धेरै राम्रो हुनेछ 

अमेरिकाका दुवै पार्टीका कैयौँ शक्तिशाली नेताहरूले अमेजनको आलोचना गर्दै आएका थिए । विगतमा यी आलोचनाप्रति अमेजन मौन रहन्थ्यो । तर, दुई साताअघि भने कम्पनीले अमेरिकी सिनेटर बर्नी स्यान्डर्स र एलिजाबेथ वारेनले आफूलाई गरेको आलोचनाहरूको आक्रामक रूपमा जवाफ दिने निर्णय ग¥यो । अमेजनको कन्जुमर बिजनेस विभागका शक्तिशाली प्रमुख डेभ क्लार्कले बर्नी स्यान्डर्सले अमेजनका श्रमिकसँग गरेको एक भेटपछि व्यंग्यात्मक ट्विट गरे– ‘सिनेटर स्यान्डर्सलाई विरमिङ्घमा स्वागत छ र उनले प्रगतिशील कार्यस्थलको पक्षमा गरेको प्रयासलाई पनि सराहना गर्छौं ।

म अक्सर भन्ने गर्छु, अमेजन रोजगारदातामध्येमा ‘बर्नी स्यान्डर्स’ हो । तर, त्यसो भन्नु अझै सही भएन होला । खासमा हामीले आफ्ना मतदातालाई (बोलीले मात्र होइन) साँच्चैको प्रगतिशील कार्यस्थल दिएका छौँ : १५ डलर न्यूनतम ज्याला, पहिलो दिनबाटै स्वास्थ्य सेवा, वृत्ति विकास र सुरक्षित तथा समावेशी कामको वातावरण ।’

प्रतिक्रिया अपमानजनक भए पनि अमेजनको न्युज ह्यान्डलले एलिजाबेथ वारेनबारे गरेको टिप्पणीका अघि यसलाई शालिन नै मान्नुपर्छ । ट्रम्पको शैलीमा गरिएको उक्त टिप्पणीमा भनिएको थियो, ‘अमेरिकाको सबैभन्दा शक्तिशाली राजनीतिज्ञ एउटा अमेरिकी कम्पनी टुक्र्याउन चाहन्छिन्, ताकि तिनले उनको आलोचना गर्न नसकून् ।’ यस्तै अरू पनि टिप्पणी थिए । अमेरिकाका ठूला कर्पोरेसनबाट यस्ता टिप्पणी विरलै हुने गर्छ ।

अमेजनको टिप्पणीबारे मेरो बुझाइ छ :  विश्वको सबैभन्दा शक्तिशाली कम्पनी राजनीतिज्ञको आलोचना सुन्न नसकेर बच्चाजस्तो करायो । यी ट्विटहरू सार्वजनिक भएपछि एउटा ठूलो प्रविधि उद्योगका पिआरले मलाई लेख्दै भने, ‘अमेजनका ती ट्विट गलत अभ्यास हो । उनीहरू आन्तरिक निराशालाई सम्हाल्न नसकेर यस्तो सन्देश प्रवाह गरिरहेका छन् । अनुशासनहीन कार्य !’ निश्चय नै अमेजनको कार्य भावनाप्रेरित र जोखिमपूर्ण देखिन्छ । यसले गर्दा आक्रामक प्रत्युत्तर दिने निर्णय जेफ बेजोसबाटै आएको स्पष्ट हुन्छ । किनकि, उनी गल्ती गर्दा पनि समस्यामा नपर्ने व्यक्ति हुन् । 

आखिर बेजोसले यस्तो शैली किन अपनाए ? मेरो विचारमा उनले अलाबामाको युनियन मतदानलाई प्रभावित पार्न त्यसो गरेका थिएनन् । उनको खास उद्देश्य प्रगतिशील सिनेटरमाथि दबाब राख्नु थियो । बेजोसले प्रगतिशीललाई सक्ने भए तथ्यांक गोपनीयता र १५ डलरको न्यूनतम ज्यालासम्बन्धी कानुन ल्याऊ भन्ने हाँक दिएका थिए । त्यस्तो कानुन पास हुँदैन भन्ने उनलाई थाहा छ ।

महामारीको समयमा सबैभन्दा मन पराइएको ब्रान्डको हैसियत बनाएर असाधारण शक्ति हासिल गरेपछि अमेजनले अहिले वासिङ्टनका विधायकहरूलाई ‘सक्ने भए हामीलाई नियमन गर’ भनिरहेको छ । अमेजनका लागि श्रमिक युनियनभन्दा कमजोर नियमन कानुन धेरै राम्रो हुनेछ ।

भावी दिनमा बेजोसकै रणनीति पछ्याउँदै अन्य प्रविधि मालिकहरूले पनि प्रविधि उद्योगका नियमनको माग गर्नेछन् । तर, त्यस्ता कानुन आफ्नो पक्षमा होस् भनेर उनीहरूले भरमग्दुर प्रयास गर्नेछन् । बेजोसले सुरुदेखि नै उच्च जोखिमयुक्त कदम उठाएर पछि फाइदा लिएको देखिन्छ । यो त्यस्तै कदम हुन सक्छ । बेजोसले अमेरिकी विधायकलाई ‘गफ गर्ने काम नगर्ने’ दोष लगाएर आफूलाई युनियनविनै मजदुरको पक्षमा काम गर्ने व्यक्तिको रूपमा देखाउने प्रयास गरेर आफ्नो रणनीति चालेका छन् । अब रणनीति बनाउने पालो राजनीतिज्ञको छ । 

ad
ad