१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अन्तरिक्षमा बेजोस र मस्कको चाख यति धेरै किन ?

पृथ्वी छोडेर अन्यत्र बसोवास खोज्नेजस्तो महत्वपूर्ण विषयको सम्पूर्ण नियन्त्रण केही अर्बपतिको हात हुनुहुँदैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३o:oo

विश्वका सबैभन्दा धनी दुई व्यक्ति पृथ्वी छाड्न किन यति धेरै व्यग्र छन् ? टेस्लाका मालिक इलोन मस्क र अमेजनका संस्थापक जेफ बेजोसको कुल धन जोड्ने हो भने ३५० अर्ब डलर हुन आउँछ । दुईजना इतिहासकै सबैभन्दा बहुमूल्य कम्पनीको नेतृत्व गर्छन् । र, दुईजना अहिले मानव जातिलाई बहु–ग्रहीय बासिन्दा बनाउने सपना साकार बनाउनेमा अघि बढेका छन् । 

मस्कले आफ्नो कम्पनी स्पेस–एक्समार्फत अन्तरिक्ष परियोजना अघि बढाएका छन् । यो कम्पनी अहिले निजी अन्तरिक्ष प्रविधि क्षेत्रमा पहिलेभन्दा ठूलो खेलाडी बनिसकेको छ । भू–उपग्रहीय प्रक्षेपण तथा नयाँ प्रविधिको रकेट निर्माणमा सफलता हासिल गरिसकेको स्पेस–एक्सले यो वर्षको अन्तिमसम्म मानवसहितको रकेट पृथ्वीको कक्षमा पुर्‍याउने योजना बनाएको छ । स्पेस–एक्सले नासा अन्तरिक्षयात्रीलाई अन्तरिक्ष स्पेस स्टेसन पुर्‍याइसकेको छ ।

अब उसले पर्यटकसहित थप मानिसलाई अन्तरिक्षमा पुर्‍याउने योजना बनाएको छ । स्पेस–एक्सको सबैभन्दा महत्वाकांक्षी योजना सन् २०२६ सम्म मंगल ग्रहमा मानिस उतार्ने रहेको मस्कले बताएका छन् । कम्पनीले यसमा झन्डै तीन अर्ब डलरको ठुलो धनराशि खर्चनेछ । यो हप्ता कम्पनीले सोही योजनाका लागि ८५ करोड डलरको घोषणा गर्‍यो । 
अमेजनको प्रमुख कार्यकारी पद छाड्न लागेका बेजोसले त्यसपछि उनको अन्तरिक्षसम्बन्धी काम हेर्ने ‘ब्लु ओरिजिन’को कामलाई तीव्रता दिने अनुमान छ ।

स्पेस–एक्सजस्तै ब्लु ओरिजिन अन्तरिक्ष सामान पुर्‍याउने र पुनप्र्रयोग गर्न सकिने वाहनमा काम गरिरहेको छ । साथै, कम्पनीले आफूले चन्द्र अवतरणमा पनि काम गरिरहेको जनकारी दिएको छ । बेजोसले आफ्नो कम्पनीको दीर्घकालीन लक्ष्य ‘अन्तरिक्ष यात्रालाई न्यून मूल्य’मा झार्ने रहेको बताए । ब्लु ओरिजिनका पदाधिकारीले केही समयमा मानिसलाई अन्तरिक्षमा पुर्‍याउन कम्पनी तयार हुन लागेको बताएका छन् ।

सन् २०१९ मा बेजोसले एक दिन आफूले दशौँ लाख मानिस अट्ने विशाल वृत्ताकार यानहरू अन्तरिक्षमा छोड्न चाहेको बताए । ‘ती निकै ठूला हुनेछन् । वाहनभित्र विभिन्न प्रकारको वातावरणसमेत हुनेछ । कैयौँ माइल व्यासका प्रत्येक वाहनमा दश लाख वा सोभन्दा बढी मानिस हुनेछन्,’ त्यसवेला बेजोसले भनेका थिए ।

पृथ्वी अहिलेसम्म मानिसको एक मात्र बसोवासस्थल हुनुले पनि दुई धनाढ्यलाई यसका विकल्प खोज्न प्रेरित गरेको हुन सक्छ, तर हामीले के बिर्सिन हुँदैन भने मस्क र बेजोस अर्बौं पृथ्वीवासीमध्ये जम्मा दुई प्रतिनिधि मात्र हुन्

आफ्ना विशाल अन्तरिक्ष वाहनले पृथ्वीमाथिको भार कम गर्ने बेजोसको धारणा छ । यी दुई अर्बपतिका चाखका कारण धेरै स्टार्ट–अप, लगानी तथा यस क्षेत्रप्रतिको चाख बढाएको छ । तर, दुईजनाका अन्तरिक्षसम्बन्धी आक्रामक प्रयास पछिल्लो साता नासाका दुई असाधारण सफलताले छायामा परे । 

नासाको पहिलो सफलता थियो, मंगल ग्रहको उच्च गुणस्तरको फोटो । ‘परसअभरेन्स’ नामक कारको आकारको स्वचालित वाहनले मंगल ग्रहमा अवतरण गरेपछि खिचेको फोटो यति स्पष्ट छ, तिनलाई जुम गर्दा फोटोमा देखिने ढुंगाका मसिना छिद्र देखिन्छ ।

मंगल ग्रहको एक ज्वालामुखीको मुखमा अवतरण गरेको रोभरले सोही क्षेत्रको तस्बिर खिचेको थियो । तस्बिरमा देखिने निर्जन मरुभूमिजस्तो भूभाग अर्को ग्रहको भए पनि यही पृथ्वीकै जस्तो पनि देखिन्छ । २.७ अर्ब डलरको मंगल मिसनले प्राचीन समयमा मंगल ग्रहमा रहेको हुन सक्ने जीवनको संकेतहरू खोज्नेछ । यस उद्देश्यका लागि ‘इन्जेनुइटी’ नामक हेलिकोप्टरले ग्रहमा उडान भर्दै छ ।

मंगलको तस्बिरको चर्चा सेलाउन नपाउँदै नासाको बृहस्पति मिसनले पठाएको तस्बिर आयो । केही वर्षअघि बृहस्पति अध्ययनका लागि पठाइएको जुनो नामक प्रोब सन् २०१६ मै ग्रहको कक्षमा प्रवेश गरिसकेको थियो । पछिल्लो समय तिनले बृहस्पतिको अहिलेसम्मकै असाधारण फोटो पठायो । एक वर्षअघि पनि जुनोले बृहस्पतिको फोटो पठाएको थियो । सो फोटोमा बृहस्पति हामीले देखेको सबैभन्दा राम्रो गुच्चाजस्तो देखिएको थियो भने अहिलेको फोटोमा ग्रह चक्रवात र बादलले भरिएको देखिन्छ । 

पृथ्वी अहिलेसम्म मानिसको एक मात्र बसोवासस्थल हुनुले पनि दुई धनाढ्यलाई यसका विकल्प खोज्न प्रेरित गरेको हुन सक्छ । तर, हामीले के बिर्सिन हुँदैन भने मस्क र बेजोस अर्बौं पृथ्वीवासीमध्ये जम्मा दुई प्रतिनिधि मात्र हुन् । मानव जातिले पृथ्वी छाडेर सुदूर यात्रामा निस्कने कुरामा हामी बाँकी मानिसको धारणा राख्न पाउनुपर्छ । पछिल्लो केही दशक हामीले केही सीमित मानिसको हातमा हाम्रो नियतिको साँचो हस्तान्तरण गर्दै गएका छौँ । विशेषतः महत्वपूर्ण प्रविधि क्षेत्रमा त्यस्तो देखिन्छ । पृथ्वी छोड्नेजस्तो महत्वपूर्ण कदममा पनि हामीले केही धनाढ्यको हातमा असीमित विश्वास राख्ने क्रम जारी छ । 
(न्युयोर्क टाइम्सकी स्तम्भकार कारा स्विसर प्रविधिबारेमा लेख्छिन्) न्युयोर्क टाइम्सबाट

ad
ad