काठमाडौं महानगरपालिकाले अनुपयुक्त समयमा तालिम राखेको भन्दै नेपाल शिक्षक महासंघ र काठमाडौं महानगरअन्तर्गतका सबैजसो सामुदायिक विद्यालयले विरोध जनाएका छन् । यो समयमा तालिम उपयुक्त नहुने र यस्तो तालिम एसइई परीक्षा सकिए लगत्तैको खाली समयमा राख्नुपर्ने उनीहरुकाे माग छ ।
महानगर, शिक्षा विभागले जाडो बिदामा शिक्षकहरूलाई तालिम र विद्यार्थीलाई थप सिकाइ दिने भन्दै १६ पुसमा सूचना जारी गरेको थियो । सूूचनाअनुसार महानगरले आजदेखि दुई दिन कक्षा १० का गणित, विज्ञान, नेपाली, सामाजिक, अंग्रेजी र अर्थशास्त्रका विषय शिक्षकका लागि तालिम राखेको छ । तर, आइतबार ६ स्थानमा राखिएको तालिममा निकै कमले सहभागीता जनाएका छन् । सहभागीमध्ये धेरैजसो निजी विद्यालयका शिक्षक थिए ।
सामुदायिक विद्यालयका शिक्षक सहभागी नभएपछि महानगरले निजीका शिक्षकलाई समेत उक्त तालिममा सहभागी गराएको थियो । आइतबार पद्मकन्या माविसहित ६ विद्यालयमा तालिम आयोजना गरिएको थियो ।
‘यो तालिम महानगरले सही समयमा राखेन, सामुदायिक विद्यालयलक्षित भए पनि आइतबारको तालिममा निजीका शिक्षकहरू धेरै थिए । के त्यो तालिम निजी विद्यालयका लागि थियो ?,’ महानगरअन्तर्गतको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले भने, ‘सामुदायिक विद्यालयलक्षित तालिममा निजीलाई राख्नु राम्रो होइन ।’
तालिमको नेपाल शिक्षक महासंघमा आबद्ध शिक्षकहरूले समेत विरोध जनाएका छन् । शुक्रबार यसबारेमा महानगरका सामुदायिक विद्यालयका प्रअहरूले बैठक नै गरेर विरोध जनाएका थिए । यस्तै, शिक्षक महासंघ र प्रअसहितको टोलीले शुक्रबार महानगरको शिक्षा विभागलाई ध्यानाकर्षण र मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।
हाल काठमाडौं महानगरपालिकाले यहाँका सामुदायिक विद्यालयहरूमा महानगर गौरवको योजनाअन्तर्गत शिक्षामा सीप र बुक फ्री फ्राइडेलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, केही साता कार्यक्रम सञ्चालन गरेपछि बल्ल तालिम सुरु गरिएको छ ।
पहिले तालिम दिएर मात्रै कार्यक्रम सुरु गर्नुपर्नेमा कार्यक्रम सुरु गरेर तालिम दिनु उपयुक्त नभएको शिक्षकहरूको भनाइ छ । महानगरसँग शिक्षक महासंघ र सामुदायिक विद्यालयहरूले विभिन्न मागसमेत राखेका छन् । जसमा शिक्षामा सीप, बुक फ्री फ्राइडेको रकम, हटाइएका सटरबापतको रकम, फेस्टिभल क्याम्प सञ्चालन गरेको रकम, हरित र सुन्दर विद्यालय रकम, दिवाखाजाको रकम, त्रैमासिक परीक्षा रकम, अतिरिक्त कक्षा सञ्चालनको रकमलगायत शिक्षकलाई मासिक रूपमा तलबको व्यवस्था गर्नुपर्नेसहितका ६ बुँदे माग राखिएको छ ।
काठमाडौं महानगरपालिकाले जाडो बिदाको समयमा विषयगत शिक्षकलाई तालिम, प्रारम्भिक बालविकासका शिक्षकलाई तालिम दिने र विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्नेलगायतको योजना सूचनामार्फत जारी गरेको थियो । जसमा २१ र २२ पुसमा विषय शिक्षकलाई तालिम, २३ पुसदेखि ७ माघसम्म इच्छुक विद्यार्थीलाई एसइईलक्षित सिकाइलगायत कार्यक्रम सञ्चालन गर्ने योजना महानगरको छ । तर, जाडो बिदामा विद्यार्थी पनि घरघर जाने भएकाले अन्य समयमा राख्न शिक्षक महासंघ र काठमाडौं महानगरका सामुदायिक विद्यालयहरूले महानगरको ध्यानाकषर्ण गराउँदै आइरहेका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरले यो विषय बैठकबाट पास भएर लागू गरिएको बताए । उनले यो तालिम राम्रो वा नराम्रो भन्नेबारे आफूलाई त्यति जानकारी नभएको बताए ।
महानगरपालिका सहरी योजना आयोगका विज्ञ सदस्य शैलेन्द्र झाले तालिमको विषयमा शिक्षक महासंघले र केही शिक्षकले आपत्ति जनाएको बताए । यद्यपि, यो कार्यक्रम सकारात्मक रहेको बताए । ‘हामीले जाडो बिदालाई थप उपलब्धिमूलक बनाउन खोजेका हौँ, शिक्षकलाई पनि आवश्यक तालिम दिने भनेको हो । नयाँ पाठ्यक्रमको तालिम शिक्षकलाई दिन लागिएको हो,’ उनले भने, ‘आइतबारको तालिममा निकै कम उपस्थिति थियो, सिट खाली भएपछि निजीका शिक्षकलाई राखेका हौँ ।’