राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले नवनियुक्त नेपाली राजदूतत्रय प्रा. कपिल श्रेष्ठ, सुम्निमा तुलाधर र डा. नेत्रप्रसाद तिम्सिनालाई सम्मान गरेको छ । आइतबार राजधानीमा आयोजित विशेष समारोहमा लामो समयसम्म सामाजिक आन्दोलन र मानव अधिकारको क्षेत्रमा क्रियाशील रहेर नयाँ जिम्मेवारी निर्वाह गर्न गइरहेको भन्दै नियोकले सम्मान गरेको हो ।
प्रा. श्रेष्ठलाई सरकारले दक्षिण अफ्रिकाको राजदूत नियुक्त गरेको छ । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील तुलाधरलाई सरकारले डेनमार्कको राजदूत नियुक्त गरेको छ । यस्तै, गैरसरकारी संस्था महासंघ, नेपालका पूर्वअध्यक्ष तिम्सिना मलेसियाको राजदूत नियुक्त भएका छन् । अधिकारकर्मी प्रा. श्रेष्ठ नियोकका निवर्तमान अध्यक्ष तथा तिम्सिना र तुलाधर नियोगका सल्लाहकार हुन् । तीनैजनाले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । चाँडै उनीहरू आफ्नो जिम्मेवारी सम्हाल्न तोकिएको देश जाँदै छन् ।
नियोककी अध्यक्ष स्टेला तामाङले लामो समयसम्म मानव अधिकारको क्षेत्रमा क्रियाशील रहेर नयाँ भूमिका र जिम्मेवारी सम्हाल्न लागेकोमा राजदूत श्रेष्ठ, तुलाधर र तिम्सिनालाई बधाई तथा शुभेच्छा व्यक्त गरिन् । आफ्नो क्षेत्रमा हासिल गरेको अनुभव कूटनीतिक क्षेत्रमा काम लाग्ने भन्दै दक्षिण अफ्रिका, डेनमार्क र मलेसियासँग नेपालको द्विपक्षीय सम्बन्ध बलियो बन्ने अपेक्षा व्यक्त गरिन् । सम्मानित नवनियुक्त राजदूतहरूले नागरिक समाजबाट सरकारले राजदूत नियुक्त गरेकामा थप जिम्मवार महसुस गरेको बताए । उनीहरूले राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिबद्धता जनाए ।