Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कारा स्विसर
२०७७ फाल्गुण १० सोमबार ०९:०५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अस्ट्रेलिया सरकार र फेसबुक विवादको अन्तर्य

अस्ट्रेलियाले आफ्नो देशमा सञ्चालनमा रहेका इन्टरनेट प्ल्याटफर्ममा देखिने समाचारको पैसा तिर्नुपर्ने कानुन प्रस्ताव गरेको छ

Read Time : > 2 मिनेट
कारा स्विसर
२०७७ फाल्गुण १० सोमबार ०९:०५:००

अस्ट्रेलियामा रुपर्ट मर्डक र मार्क जुकरवर्ग एक–अर्काविरुद्ध उभिएका छन् । यी दुईबीचमा एकजनाको पक्ष लिन निकै कठिन हुन्छ । अस्ट्रेलियाली सरकारले देशभित्र सञ्चालन हुने प्रविधि कम्पनीले आफ्नो प्ल्याटफर्ममा प्रस्तुत हुने समाचारलाई पैसा तिर्नुपर्ने कानुन बनाउँदै छ । सम्भवतः दुई साताभित्र पारित हुन सक्ने यो कानुनका कारण अस्ट्रेलियामाथि विश्वकै नजर छ । 

गुगलले अस्ट्रेलियाका तीन ठूला प्रकाशकसँग सम्झौता हस्ताक्षर गरेर यस झमेलाबाट उम्कियो । सम्झौता भएका मिडिया कम्पनीका सामग्री गुगलको सर्चमा देखिँदा गुगलले रकम तिर्नेछ । गुगल पनि आफ्नो उच्च नाफामूलक सर्च व्यवसाय समाचारका लागि पैसा तिर्नुपर्ने प्रणालीका कारण प्रभावित नहोस् भन्ने चाहन्थ्यो । तर, अतिरिक्त झमेलामा नपर्न गुगलले एक अर्ब डलरको प्रतिबद्धता गरेको हो । 

फेसबुकको व्यावसायिक मोडेल अलग छ । फेसबुकमा हुने पोस्टहरूमा समाचारका लिंकको हिस्सा सानो छ । त्यसैले ती लिंकले फेसबुकको मुनाफामा खासै प्रभाव पार्दैनन् । फेसबुकले विगतमा केही प्रकाशकको समाचार उसको न्युज फिडमा देखाउन रकम तिरेको इतिहास छ । तर, अस्ट्रेलियाको प्रस्तावित कानुनलाई भने उसले स्विकार्न नसकिने मान्यो ।

त्यसैले ऊ सरकारसँगको वार्ताको टेबलबाट उठ्यो र अस्ट्रेलियाका सम्पूर्ण समाचार लिंक आफ्नो प्ल्याटफर्मबाट हटाउने निर्णय ग¥यो । ‘प्रस्तावित कानुनले हाम्रो प्ल्याटफर्म र प्रकाशकबीचको सम्बन्धलाई पूर्णतः नबुझेको देखियो,’ अस्ट्रेलिया र न्युजिल्यान्डका लागि फेसबुकका कार्यकारी निर्देशक विलियक एस्टनले भने । एस्टनका अनुसार अघिल्लो वर्ष मात्र अस्ट्रेलियाका प्रकाशकले सेयर गरेका समाचार पाँच अर्ब क्लिक भएकाले प्रकाशकलाई ३१.६ करोड डलर आर्जन भयो ।

फेसबुकले समाचार लिंकको पैसा तिर्न चाहँदैन र ती लिंक उसको व्यवसायको केन्द्रमा पर्दैन भने उसलाई स्थान दिन कुनै आवश्यकता छैन । 

 फेसबुकले आफ्नो प्ल्याटफर्ममा समाचार बन्द गरेसँगै धेरैले यसलाई सेन्सर्सिप र असीमित एकाधिकारवादी शक्तिसँग तुलना गरे । तर, स्थिति त्यस्तो होइन । यदि फेसबुकले समाचार लिंकको पैसा तिर्न चाहँदैन र ती लिंक उसको व्यवसायको मुख्य केन्द्रमा पर्दैन भने उसलाई स्थान दिन कुनै आवश्यकता छैन । कुनै पनि मिडिया कम्पनीलाई निश्चित प्ल्याटफर्ममा सञ्चालन गर्न दिनैपर्छ भन्ने अनिवार्य छैन । तर, यस प्रकरणमा फेसबुकले चालेको कदमलाई असावधान मान्न सकिन्छ ।

फेसबुकले गलत समाचार नियन्त्रण गर्न नसकेको र त्यसलाई दुरुत्साहन गर्न अस्ट्रेलिया अघि बढेको बताइएको छ । फेसबुकविरुद्ध क्यानडा र युरोपेली संघले पनि अस्ट्रेलियाजस्तै कानुन ल्याउने सम्भावनाबारे चर्चा छ । यस्तो माहोलमा फेसबुकले होसियारपूर्वक कदम चाल्नुपर्ने थियो ।

मर्डक प्रविधि कम्पनीप्रति पहिलेदेखि नै आक्रामक रूपमा प्रस्तुत हुने गरेको इतिहास छ । उनले सिलिकन भ्यालीलाई तथ्यांक चोरहरूको समूह भएको रतिनबाट समाजलाई खतरा रहेको बताउँदै आएका छन् । फेसबुकको पछिल्लो कदमले मर्डकको भावना माथि परेको छ ।

यस प्रकरणमा म जुकरवर्गप्रति नरम हुने पक्षमा छैन । सम्भवतः अहिलेको कुख्यातिलाई सम्बोधन गर्दै फेसबुक पुनः वार्ताको टेबलमा फर्किनेछ । तर, जुकरवर्गले सही निर्णय गर्दा पनि कम्पनीले जुन आक्रोस सामना ग¥यो, त्यसमा ध्यान दिनुपर्छ ।

विभिन्न गलत कार्यका कारण निरन्तर मानिसको निगरानीमा रहेको कम्पनीले कस्तो खालको आक्रोसको सामना गर्नुपर्छ भन्ने उदाहरण हो, फेसबुकमाथिको अहिले देखिएको भावना । यसको अर्थ हो, पछिल्लो समय फेसबुक यसका कार्यकारी अझ विशेष मार्क जुकरवर्गमाथिको विश्वास न्यूनस्तरमा पुगेको छ । निरन्तरको अविश्वासले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । 

सामाजिक सञ्जालका प्ल्याटफर्ममा देखिने समाचारलाई पैसा तिनुपर्ने भन्दै आएको अस्ट्रेलियाको कानुनी प्रस्तावमा पनि समस्या छ । प्रविधि कम्पनीको उदयले आंशिक रूपमा पत्रकारिताको वित्त प्रणालीलाई कमजोर पारेको सत्य हो । तर, अस्ट्रेलिया सरकारको कानुनमा प्रस्तावित गरिएको सुरक्षात्मक व्यवस्थाले मिडियाको वित्त प्रणालीलाई खासै सहयोग गर्दैन । त्यसैले मैले भन्ने गर्छु, मर्डक र जुकरवर्गबीच चयन गर्नुपर्ने निर्णय निकै कठिन हुन्छ । यस बहसमा पत्रकारिताको हातमा बढी रकम कसरी पार्ने भन्ने मुख्य मुद्दा छायाँमा पर्छ । र, दुई मिडियाबीच संघर्ष हुँदा रिपोर्टिङ भने समस्यामा पर्छ । 
(स्विसर न्युयोर्क टाइम्सको विचार पोडकास्ट ‘स्वे’की प्रस्तोता हुन्)  न्युयोर्क टाइम्सबाट