म्यानमारको सेनाले शनिबार मच्चाएको नरसंहारविरुद्ध १२ देशका विदेशमन्त्रीहरूले भर्त्सना गरेका छन् । सशस्त्र प्रहरी बल दिवसकै दिन म्यानमारका सेनाले निःशस्त्र प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एक सय १४ जनाको निधन भएको थियो । मृत्यु हुनेमा बालकालिकासमेत छन् । लोकतन्त्र बहाली र प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको माग गर्दै म्यानमारको ४४ वटा सहरमा १ फेब्रुअरीदेखि विरोध प्रदर्शन जारी छ ।
सैनिकले निर्दोष व्यक्तिहरूको हत्या गरिरहँदा सैनिक प्रमुख मिन आङले राजधानीमै सैनिक अधिकारीसँग शनिबार भव्य पार्टी आयोजना गरेको बिबिसीले उल्लेख गरेको छ । सो पार्टीमा सेनाप्रमुख आङले अन्तर्राष्ट्रिय जगत् तथा सोसियल मिडियामा आएका प्रतिक्रियाबाट खुसी नभएको जनाइएका छन् । नरसंहार गरेको दिनमै सेनाप्रमुख मिन आङले आयोजना गरेको पार्टी अशोभनीय भएको प्रतिक्रिया सामाजिक सञ्जालमा आएका छन् ।
सशस्त्र प्रहरी बल दिवसका अवसरमा आयोजित सैनिक परेडमा रसिया, चीन, भारत, पाकिस्तान, बंगलादेश, भियतनाम, लाओस तथा थाइल्यान्डका उच्च प्रतिनिधिहरू उपस्थित थिए । अमेरिकाले म्यानमारमा शनिबार भएको घटनालाई ‘आतंकको शासन’ भनी प्रतिक्रिया दिएको छ । गत महिनाको सैनिक ‘कु’पछि शनिबारको घटनालाई अमेरिकाले सबैभन्दा घातक दिन भनेको छ । शनिबार मत्यु भएका प्रदर्शनकारीहरूको शोकसभा तथा अन्त्येष्टिमा समेत सेनाले हस्तक्षेप गरेको बिबिसीले उल्लेख गरेको छ ।
चीन र रसिया मौन
अमेरिका, बेलायतलगायतले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सेनाको हिंसात्मक कार्यको भत्र्सना गरेका छन् । जापान र अस्ट्रेलियाले व्यावसायिक सेनाले अन्तर्राष्ट्रिय नियम पालना गर्नुपर्ने जनाएका छन् । ‘व्यावसायिक सेनाले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्छ, उनीहरू सधैँ राष्ट्र र जनताप्रति जिम्मेवार रहन्छन्,’ जापान र अस्ट्रेलियाद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘सेनाले कसैको हानी गर्दैन, राष्ट्र सेवकले जनताकै पक्षमा काम गर्छ ।’
अमेरिकाका परराष्ट्रसचिव एन्टोनी ब्लाइन्केनले सेना जनताप्रति उत्तरदायी नभई ज्यान लिइरहेको आरोप लगाएका छन् । यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले म्यानमारमा भएको नरसंहार दृश्यपछि स्तब्ध र गहिरो शोकमा परेको प्रतिक्रिया दिएका छन् । ‘यो घटनापछि म स्तब्ध र शोकमा परेको छु,’ महासचिव गुटेरेसले भने ।
संयुक्त राष्ट्रसंघकै टम एन्ड्रयुजले तत्कालै म्यानमारको समस्या हल गर्न आपत्कालीन शिखर सम्मेलनको आह्वान गरेका छन् । बेलायतका विदेशमन्त्री डोमिनिक रावले तल्लोस्तरको कार्य भएको बताए । सेनाको कार्यप्रति सर्वत्र विरोध र भत्र्सना भइरहँदा चीन र रसियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले भविष्यमा डाक्न सक्ने बैठकमा रसिया र चीनको भूमिका महत्वपूर्ण रहन सक्ने अनुमान गरिएको छ ।
मृतकका परिवार शोकमा
सेनाको कारबाहीमा मृत्यु हुनेमा ११ वर्षीया बालिका आये माय थु पनि छिन् । आइतबार राजधानीको दक्षिण पश्चिममस्थित घरमा आये मायको पार्थिव शरीर राखिएको थियो । विहानदेखि नै उनलाई श्रद्धाञ्जली दिन स्कुलका साथीहरू र आफन्तको भिड लागेको थियो । आये मायलाई राखिएको कफिनमा स्कुलको किताब, बार्विडल्स तथा हेलो किटीको चित्र सजाइएको थियो । हेलो किटीको चित्र आय मायले हालै मात्र बनाएकी थिइन् ।
यही चित्र उनको जीवनकै अन्तिम बन्यो । जुन उनीसँगै गाडियो । चिरनिद्रामा रहेकी आय मायको अनुहार तेजिलो थियो । दुहलीझैँ सिँगारिएको उनको शवलाई साथीहरूले भावविभोर हुँदै श्रद्धाञ्जली दिएका थिए । उनको शवयात्रामा हजुरआमा पनि उपस्थित थिइन् ।
यसैगरी, मन्डालेमा सेनाको गोलीबाट निधन भएका क्वाउ विन माउङनको पार्थिव शरीर उनकै सुत्ने कोठामा राखिएको थियो । जहाँ आफन्तले श्रद्धाञ्जली दिएका थिए । क्वाउ विनको कोठामा सरसामान छरिएका छन् । उनको शवमा राष्ट्रिय लिग फोर डेमोक्रेसीको झन्डा राखिएको थियो । उनको शवयात्राअघि भिक्षु गुरुले प्रार्थना गरेका थिए ।
नेतृ सुकीको रिहाइको माग गर्दै क्वाउ १ फेब्रुअरीदेखि नै आन्दोलनरत थिए । उनले शनिबार अन्तिम लडाइँ लड्दै प्राण त्याग गरे । सेनाले उनको छातीमै गोली प्रहार गरेको म्यानमार नाउले जनाएको छ । पेसाले क्वाउ विन आर्किटेक इन्जिनियर हुन् ।
सेनाले शनिबार बालबालिका पनि छाडेनन् । सेनाले १६ बालकालिकाको हत्या गरेको न्युज सर्भिस म्यानमार नाउले जनाएको छ । शनिबार निधन भएका अधिकांश अन्त्येष्टीसभामा उपस्थितहरूले तीन औँलाको सलाम दिएका थिए । यो भनेको सेनाविरुद्धमा अवहेलनाको प्रतीक हो ।
एजेन्सीको सहयोगमा