१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २ सोमबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत २ सोमबार o६:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बरामद वस्तु युरेनियमको कच्चा पदार्थ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत २ सोमबार o६:५१:oo

काठमाडौंको बौद्धबाट प्रहरीले हालै बरामद गरेको वस्तु युरेनियम नभई युरेनियमको कच्चा पदार्थ मात्र भएको परीक्षणमा खुलेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भएको परीक्षणमा कच्चा पदार्थ भएको रिपोर्ट आएको छ । प्रहरीले भने प्रारम्भिक अनुसन्धानमा युरेनियम २३८ भएको जनाएको थियो । नास्टका वरिष्ठ वैज्ञानिक डा. बुद्धराम शाहले यसलाई धेरै प्रशोधन गरेपछि मात्र युरेनियम २३८ बन्ने बताए । 

नास्टको रिपोर्टमा बरामद वस्तुमा थोरै मात्रामा युरेनियम देखिएको छ । ‘हामीले काठमाडौंको माटोमा परीक्षण गर्दा एक केजीमा सय बेक्युरेल युरेनियम पाइएको थियो,’ शाहले नयाँ पत्रिकासँग भने, ‘बरामद वस्तुमा प्रतिकेजी ६७ सय बेक्युरेल पाइएको छ ।’ उनका अनुसार केही ग्राम युरेनियम २३८ निकाल्न धेरै टन यस्तो कच्चा पदार्थ प्रशोधन गर्नुपर्ने हुन्छ । जसअनुसार बरामद कच्चा युरेनियमको मूल्य ज्यादै नै न्यून हुने नास्टका वैज्ञानिकको भनाइ छ । प्रहरीले करिब पाँचदेखि आठ अर्ब पर्ने बताएको थियो । 

ग्राहक बनेर प्रहरीले गत बिहीबार बौद्धस्थित एक घरबाट युरेनियमको कच्चा पदार्थ बरामद गरेको थियो । बिक्री गर्न खोज्ने नारायणसिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान र मनोज न्यौपानेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
हाल अमेरिकामा रहेका अमरबहादुर लामाले करिब २० वर्षअघि सो पदार्थ भारतबाट ल्याएको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

उनकै बुहारी जानुका तामाङले नारायणमार्फत ग्राहक खोजी गरेपछि प्रहरी आफैँ ग्राहक बनेर गएका थिए । प्रहरीले अमेरिकामा रहेका लामासँग समेत यसबारे बुझ्ने प्रयास गरेको, तर उनी बोल्न नसक्ने अवस्थामा भएकाले विस्तृत खुल्न सकेको छैन । उनी भारतमा खानीमा काम गर्ने र त्यही वेला लुकाएर ल्याएर घरमा राखेको उनको परिवारले जनाएको छ । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ ऐनअनुसार प्रहरीले कारबाही अघि बढाएको छ । 

यो घटनाले युरेनियमको दुरुपयोगको ठूलो जोखिम नदेखिएको, तर यसको दुरुपयोगबारे भने गम्भीर छानबिनको खाँचो देखिएको वैज्ञानिकहरूले बताएका छन् । भारतबाट ल्याइएको बताइए पनि नेपालमै कतै उत्खनन भएको हुन सक्नेसमेत आकलन गरिएको छ । नेपालका विभिन्न हिमाली जिल्लामा युरेनियम रहेको वैज्ञानिकहरूले बताएका छन्, जसको उत्खनन हुन सकेको छैन ।