मालपोत कर्मचारीको मिलेमतोमा जग्गा दलालले नक्कली कागजात बनाई काठमाडौंको थानकोटमा एक रोपनी चार आना जग्गा बिक्री गरेको खुलेको छ । विदेशमा रहेका जग्गाधनीको नक्कली कागजात बनाई सो जग्गा एक करोड सात लाख रुपैयाँमा बिक्री गर्न सहयोग गर्ने मालपोत कार्यालयका कर्मचारी पक्राउ परेपछि यो तथ्य सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार मिलेमतोमा जग्गा बिक्री गर्ने कलंकीस्थित मालपोत कार्यालयका अधिकृत दीपक दाहाल, नायब सुब्बा नारायण श्रेष्ठ र खरिदार दीपा पंगेनी पक्राउ परेका हुन् । उनीहरूले धादिङ–५ पतेनीका बालप्रसाद भट्ट र काभ्रे पनौतीका पुण्यप्रसाद काफ्लेलगायतसँगको मिलेमतोमा थानकोटस्थित मीना खड्काको नाममा रहेको जग्गा बिक्री गरेका थिए ।
अनुसन्धानका क्रममा पक्राउ परेका अधिकृत दाहाल र नासु श्रेष्ठ चार–चार लाख र खरिदार पंगेनी एक लाख रुपैयाँ धरौटीमा हिरासतमुक्त भइसकेका छन् । उनीहरूसँगै पक्राउ परेका भट्ट, काफ्लेसहितका नौजना प्रहरी हिरासतमा छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले विदेशमा रहेका जग्गाधनीको नाममा नक्कली कागजात बनाई जग्गा बिक्री गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको बताए । ‘विदेशमा रहेका व्यक्तिको नाममा रहेको जग्गा बिक्री गरेको देखियो । यसका लागि सम्पूर्ण कागजात नक्कली बनाइएको रहेछ । सो कार्यमा मालपोतकै कर्मचारी संलग्न रहेछन् । अनुसन्धानका क्रममा सबै पक्राउ परे । अनुसन्धान जारी छ,’ उनले भने ।
जग्गाधनी विदेशमा,नक्कलीधनी बनाएर जग्गा बिक्री
प्रहरीका अनुसार बिक्री गरिएका जग्गाका धनी खड्का बेल्जियममा बस्छिन् । उनी विदेशमा रहेको सुइँको काफ्ले र भट्टले पाएका थिए । त्यसलगत्तै उनीहरूले खड्काको नाममा रहेको जग्गाको नक्कलीधनी खडा गर्ने र उनकै नाममा किर्ते कागजात बनाई बिक्री गर्ने योजना बनाए । उनीहरूको योजनालाई मालपोत कार्यालय कलंकीका अधिकृत दाहाल, नासु श्रेष्ठ र खरिदार पंगेनीले सहयोग गरे ।
‘जग्गाधनी खड्का विदेशमा बस्ने रहिछिन् । त्यसको सुइँको पाएपछि काफ्ले र भट्टले नक्कलीधनी खडा गरे । कागजात बनाए । र, एक करोड सात लाख रुपैयाँमा बिक्री गरेछन्,’ काठमाडौं परिसर प्रमुख सिंहले भने, ‘नयाँ जग्गाधनीले संरचना बनाउन खोज्दा धनीलाई नै थाहा नदिई बिक्री भएको खुल्यो । जाहेरी परेपछि अनुसन्धान गर्दा यस्तो धन्दामा गिरोह नै संलग्न रहेको पाइयो ।’
प्रहरीका अनुसार नक्कली कागजातका आधारमा जग्गा खरिद गर्ने भक्तपुर थिमि–४ का कृष्णगोपाल श्रेष्ठ, रत्नकेशरी श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र विजयलक्ष्मी श्रेष्ठ हुन् । उनीहरूले ७२ लाख रुपैयाँमा जग्गा खरिद गरेका थिए । सोही जग्गा उनीहरूले काभ्रे धुलिखेलका कुमार दाहाललाई बिक्री गर्न खोजेका थिए । यसका लागि उनीहरूले दाहालसँग बैनाबापत ३५ लाख रुपैयाँसमेत लिइसकेका थिए । दुई पक्ष गरी घटनाका मुख्य योजनाकार मानिएका काफ्ले र भट्टको टोलीले एक करोड सात लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।
संगठित तवरले नक्कली धनीपुर्जा र कागजात बनाई जग्गा बिक्री गरिएकाले संगठित अपराधअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए । ‘घटनामा १२ जना संलग्न छन् । उनीहरूले चलाखीपूर्ण तवरले योजना बनाई जग्गा बिक्री गरेको देखिन्छ । उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान हुँदै छ,’ उनले भने ।
यसरी गरियो नक्कलीधनी खडा
म्याग्दी बरन्जाकी मीना खड्का बेल्जियम बस्दै आएकी छिन् । उनले केही वर्षअघि थानकोटमा एक रोपनी चार आना जग्गा खरिद गरेकी थिइन् । खड्का विदेशमा बस्ने सुइँको भट्ट र काफ्लेले पाए । नक्कली कागजात खडा गरेर जग्गा सुटुक्क बिक्री गर्ने निष्कर्षमा उनीहरू पुगे । दुईबीच काम बाँडफाँड भयो । जग्गाका नक्कलीधनी र मालपोतमा सेटिङ मिलाउने जिम्मा काफ्लेले लिए । त्यसका लागि आवश्यक किर्ते कागजात बनाउने जिम्मेवारी भट्टले पाए ।
योजनाअनुसार नै काफ्ले जग्गाको विवरण बुझ्न मालपोत कार्यालय कलंकी पुगे । यसका लागि कार्यालयका अधिकृत दीपक दाहालसँग्र प्रस्ताव राखे । राम्रै रकम पाउने भएपछि दाहाल पनि सहमत भए । जग्गाको सम्पूर्ण विवरण उनैले काफ्लेलाई दिए ।
काफ्ले अब जग्गाको नक्कलीधनी खोज्न लागे । यसका लागि चिनजानकै विजयप्रकाश सुनुवारलाई प्रस्ताव गरे । सुनुवारले लक्ष्मी घतानीलाई मीना खड्का बनिदिन प्रस्ताव गरे । उनको दाजुको भूमिका निभाउन इन्द्रबहादुर खत्रीलाई भनियो । रकम पाउने प्रलोभनपछि दुवै राजी भए । अब लक्ष्मीको नाममा दुरुस्त देखिने गरी जग्गाको धनीपुर्जा बनाउनुपर्ने भयोे । यसका लागि भट्टले विजयकुमार खड्कालाई भने । उनले सो प्रस्ताव कृष्णबहादुर दर्लामीसँग गरे । उनै दर्लामीले जग्गाधनी मीना खड्काको नाममा नक्कली नागरिकता र धनीपुर्जा बनाइदिए । फोटो भने लक्ष्मी घतानीको टाँसे ।
अब जग्गा बिक्री गर्ने ग्राहकको खोजीमा उनीहरू लागे । यसका लागि मनग्गे रकम खर्च गर्न सक्ने, तर कानुन नबुझेको व्यक्ति आवश्यक थियो । खोज्दै जाने क्रममा उनीहरूको भेट भक्तपुर थिमिका कृष्णगोपाल श्रेष्ठसँग भयो । सोचेझै ग्राहक फेला परेपछि सस्तोमा जग्गा खरिद गर्न उनीसमक्ष प्रस्ताव राखे । श्रेष्ठ परिवारका सदस्यसहित जग्गा हेर्न थानकोट पुगे । जग्गा मन परेपछि जग्गाधनी भेटौँ भने । उनीहरूले ‘मीना खड्का उनै हुन्’ भन्दै लक्ष्मी घतानीसँग श्रेष्ठको भेट गराइदिए ।
खड्काको सहोदर दाजु भनेर उनीहरूले फेरि इन्द्रबहादुर घलेलाई अघि सारे । सस्तोमा जग्गा खरिद गर्न पाउने प्रलोभनमा श्रेष्ठ परिहाले । उनले ७२ लाख रुपैयाँ जम्मा गर्नुपर्ने भयो । त्यति रकम आफूसँग नभएपछि भाइभतिजासँग जग्गा खरिदको प्रस्ताव गरे । सबै उनको प्रस्तावमा राजी भए । र, जग्गा खरिद गर्न मञ्जुर भए ।
नक्कली कागजातका आधारमा बैंकमा खाता
जग्गा बिक्रीपछि प्राप्त रकम जम्मा गर्न पनि उनीहरूले किर्ते कागजात नै प्रयोग गरे । सोही कागजातका आधारमा मीना खड्काको नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोले । मीना खड्का बनेकी लक्ष्मी घतानीले पछि उक्त रकम सबै झिकिन् र लगेर काफ्लेलाई दिइन् ।
यसरी आएको रकम जम्मा गर्न काफ्लेले रामचन्द्र पुडासैनी, रामबहादुर खड्का र पदम काफ्लेको नाममा फरक–फरक बैंक खाता खोलेका थिए । यसका लागि उनले फरक–फरक नागरिकता बनाएका थिए । रकम झिक्न पनि उनले सहयोगी प्रयोग गर्थे । उनलाई प्रहरीले ललितपुरको गोटीखेलबाट पक्राउ गरिसकेको छ । घटनाको अनुसन्धानमा संलग्न परिसरका डिएसपी राजकुमार केसीका अनुसार काफ्ले र भट्टलाई सघाउने विजय खड्का, इन्द्रबहादुर घले, बालकृष्ण बुढाथोकी, विजयप्रकाश सुनुवार, लक्ष्मी घतानी, कृष्णबहादुर दर्लामी, कृष्ण कटुवाललाई पक्राउ परेका छन् ।
जग्गा बिक्रीमा संलग्न अभियुक्तका अन्य अपराध