मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडाैं
२०७७ फाल्गुण १३ बिहीबार ०५:४९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पशुपतिमा सुनको जहलरी : सर्वोच्चमा रिट परेपछि राष्ट्रपतिको उपस्थितिमा राखियो जलहरी

जलहरी राख्ने सबै प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७७ फाल्गुण १३ बिहीबार ०५:४९:००

सर्वोच्च अदालतमा रिट परेपछि सरकारले हतारहतार पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बिहान जलहरी अनावरण गरेकी छिन् । एक सय आठ किलो सुनको जलहरी राख्न करिब एक अर्ब खर्च गरिएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पर्यटन मन्त्रालयले ३० करोड दिएको छ भने पशुपति विकास कोषले ७० करोड खर्च गरेको छ ।

यसअघि पशुपति क्षेत्र विकास कोषले आगामी शनिबार पशुपतिको मूल शिवलिंगमा सुनको जलहरी लगाउने कार्यक्रम तय गरेको थियो । तर, सरकारले कानुनविपरीत जलहरी राख्न लागेको भन्दै मंगलबार बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्च अदालतमा रिट दायर गरेपछि हतारहतार बुधबार नै कार्यक्रम गरेर जलहरी राखिएको हो । 

सर्वोच्चबाट काम रोक्न आदेश आउन सक्ने आकलन गरी कोषले बुधबार बिहान ११ बजे राष्ट्रपति भण्डारीलाई निम्ता गरेर जलहरी अनावरण गरेको हो । नभन्दै, दिउँसो न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले जलहरी राख्ने सबै प्रक्रिया तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले १७ फागुनमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

वैद्य र ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थानलाई विपक्षी बनाएका छन् । नेपालको संविधान, कानुनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राखेर अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्न खोजेको दाबी रिटमा गरिएको छ । 

‘रिट दायर भएपछि अन्तरिम आदेश आउँछ भन्ने बुझेरै राताराता पशुपति क्षेत्र विकास कोषले जलहरी राखेको छ, यो सरासर बेइमानी हो,’ रिट निवेदक नरोत्तम वैद्यले भने । जलहरी अनावरण गरिएको पनि उनलाई शंका छ । ‘रिट प¥यो भन्ने थाहा पाएपछि राष्ट्रपतिलाई बोलाएर जलहरी अनावरण गरेको प्रचार गरिएको छ, जलहरी राखेकै छैन भन्ने लाग्छ, छलकपट गरिएको हो,’ उनले भने । 

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलन थापाले भने पूर्वनिर्धारित कार्यक्रमअनुसार नै बुधबार जलहरी राखिएको दाबी गरे । ‘हाम्रो पहिलेदेखिकै योजनाअनुसार आज राष्ट्रपतिबाट जलहरी राखिएको हो, जहलरी राख्ने काम सम्पन्न भएको छ,’ उनले भने । 

राष्ट्रपति भण्डारीले पूजा–आराधना गरेर मूल शिवलिंगमा सुनको जलहरी राखिएको उनले बताए । यसअघिको चाँदीको जलहरी जीर्ण भएकाले त्यसलाई सुनको जलहरीले ढाकिएको उनको भनाइ छ । सुनको जलहरी राख्न पाँच दिनदेखि पशुपतिमा पूजाआजा भइरहेको थियो । नेपालका एक सय ३१ र भारतबाट ४२ ब्राह्मण झिकाएर पूजाआजा गरिएको कोषाध्यक्ष थापाले बताए । 

प्रधानमन्त्री केपी ओलीले ९ माघमा पशुपति पुगेर विशेष पूजा गरेका थिए । त्यही दिन उनले सुनको जलहरी राख्न सरकारले ३० करोड तत्कालै दिने घोषणा गरेका थिए । जलहरी निर्माणमा कुनै कसर बाँकी नराख्न पनि उनले मातहतका निकायलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री पशुपति क्षेत्र विकास कोषको संरक्षक रहने व्यवस्था छ । कोषले १० दिनमै जलहरी निर्माण गरेको थियो । 

पशुपति क्षेत्र विकास कोषलाई सरकारले ३० करोड दिने निर्णय गरेपछि पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयसँग ३० करोड माग गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए । ‘आफ्नो बजेटमा नभएकाले अर्थ मन्त्रालयसँग थप बजेट मागेर पशुपति क्षेत्र विकास कोषलाई रकम दिइएको हो,’ उनले भने ।