आजभन्दा करिब एक वर्षअघि मे २०२० मा कोभिड रोगविरुद्ध सशक्त रूपमा लाग्न अमेरिका तथा युरोपमा सहकार्यको सुरुवात भयो । अमेरिकाको स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालय र निजी कम्पनीबीच कोभिडविरुद्ध खोप तथा औषधि बनाउन विभिन्न प्रविधिको प्रयोग गर्ने निर्णय भयो । खोप बनाउनका लागि भनेर चारवटा सबैभन्दा उपयोगी प्रविधिको उपयोग गर्ने सोचियो ।
फाइजर/बायोएन्टेक तथा मोडेर्ना कम्पनीहरूले एमआरएनए प्रविधि प्रयोग गरेर खोप बनाउने भए । एस्ट्राजेनका र ज्यानसेनले जिउँदा तथा प्रजनन क्षमता कम भएको भाइरस प्रविधिको उपयोग गर्ने भए । नोभाभ्याक्स र सानोफी कम्पनीहरूले प्रोटिनको खोप बनाउने भए । चौथो प्रविधि अर्थात् मरेको भाइरसबाट खोप बनाउने प्रविधिबाट कुनै पनि अमेरिकी र युरोपेली कम्पनीले खोप विकास गरिसकेका छैनन् । दुई चिनियाँ कम्पनीले भने यस प्रविधिबाट खोप विकास गरिसकेका छन् ।
यस्तो प्रक्रियाबाट सुरु भएको खोप विकासले अहिले आएर भने नतिजा देखाएको छ । एस्ट्राजेनेकाको खोप भारतको सिरम इन्स्टिच्युटले बनाएर १० लाख डोज भारत सरकारले नेपाललाई सहयोगस्वरूप दिएको छ । खोपको नाम कोभिसिल्ड, अर्थात् कोभिड रोगविरुद्धको सुरक्षा कवच राखिएको छ । यस आलेखमा नेपालमा ल्याइएको खोपको प्रविधि, सुरक्षा जानकारी, प्रभावकारिता, कसलाई लगाउन मिल्ने–नमिल्ने, उपयोगिता, प्राथमिकताका आधारहरू आदि विषयमा जानकारी दिइनेछ ।
सर्वप्रथम चर्चा गरौँ, कोभिसिल्ड खोपको प्रविधिको । मानव इतिहासमा पहिलोपटक विफरविरुद्ध खोप बनाएदेखि नै खोप विकासको सिद्धान्त उही रहिआएको छ । खोपले दिने सुरक्षा कुनै कृत्रिम सुरक्षा नभएर शरीर आफँैले प्रदान गर्ने सुरक्षा हो । भाइरसको कुनै अंश खोपमा राख्ने गरिन्छ, जसले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता विकास हुन्छ र साँच्चै भाइरस लाग्दा रोग नलाग्ने हुन्छ ।
धेरैजसो खोपमा कोरोनाको बाहिरी सतहमा रहने एस प्रोटिन राख्ने गरिन्छ । कोभिसिल्ड कोरोनाको एस प्रोटिन प्रजननमा समस्या भएको रुघा लगाउने एडिनो भाइरसबाट बनाइन्छ । हरेक डोजमा ५० अर्ब भाइरस हुन्छन् । भाइरसलाई यति ठूलो मात्रामा बनाउन मानवीय कोषको प्रयोग हुन्छ ।
कोभिसिल्ड खोपको पहिलो, दोस्रो र तेस्रो चरणको मानव परीक्षण भएर नतिजा पनि आइसकेको छ । तेस्रो चरणको परीक्षणमा खोप अहिलेको डोजमा कति सुरक्षित र उपयोगी छ भनेर जाँच गरिएको छ । विभिन्न चरणको परीक्षणबाट खोप सुरक्षित देखिएको छ । विशेषगरी पहिलो डोजपछि र दोस्रो डोजपछि पनि साधारण लक्षण भने देखिन्छन् । यी लक्षणमा सुई लगाएर ठाउँ नरम हुने, टाउको दुख्ने, थकाइ लाग्ने, ज्वरो आउने, मांसपेशीहरू दुख्ने र विसन्चो हुने पर्छन् ।
खोप लगाइसकेपछि साह्रै अप्ठ्यारो परेको खण्डमा आइब्रुफेन अथवा प्यारासिटामोल खान भनिएको छ । खोपमा राखिएका कुनै पनि तत्वसँग एलर्जी भएमा खोप नदिन भनिएको छ । एलर्जीविरुद्ध शरीरको रोग प्रतिरोधात्मक प्रणालीले अधिक प्रतिक्रिया जनाउँदा हुने अवस्था (एनाफाइल्याकटिक सक) एकदम थोरै मानिसमा हुने भए पनि त्यसविरुद्ध तयारी गर्नु जरुरी हुन्छ ।
खोप दिएर जाँच गर्न कमसेकम पाँचओटा मानव परीक्षण भइरहेका छन् । यी परीक्षण बेलायत, ब्राजिल, दक्षिण अफ्रिका, अमेरिका तथा अन्य दक्षिण अमेरिकी मुलुकमा चलिरहेको छ । अन्तरिम नतिजा अहिलेसम्म दुईचोटि प्रकाशित गरिएको छ । फागुन ७ गते ल्यानसेट जर्नलमा प्रकाशित नतिजा सबभन्दा विस्तृत भएकाले यस लेखमा सोही नतिजाबारे चर्चा गरिएको छ ।
चारवटा परीक्षणका १७ हजार एक सय ७८ जनाको नतिजा विश्लेषण गरिएको छ । आठ हजार पाँच सय ९७ जनामा कोभिसिल्डको खोप लगाइएको छ भने आठ हजार पाँच सय ८१ जनालाई खोप भनेर खोपका तत्वविनाको पदार्थ (प्लासिबो) दिइएको छ । दोस्रो डोज दिएको १४ दिनभन्दा बढी भइसकेपछि लक्षण भएकालाई पिसिआर परीक्षणबाट रोग लागे नलागेको निदान गरिएको थियो । खोप दिइएकामध्ये ८४ जनालाई रोग लाग्यो भने नदिइएकामध्ये २४८ जनालाई रोग लाग्यो । सोअनुसार खोपको तुलनात्मक प्रभावकारिता ६६.७ प्रतिशत हुन गयो ।
तेस्रो चरणको परीक्षणअगाडि कति डोज, कति समयको अन्तरालमा दिने निर्धारण गर्नुपथ्र्यो । यो निर्धारण पहिलो र दोस्रो परीक्षणअनुरूप गरियो । शरीरको प्रतिरक्षा प्रणाली दोस्रो डोजपछि अझ सशक्त भएकाले दोस्रो डोज चाहिन्छ भन्ने निर्धारण भयो । तर, पहिलो डोज कति प्रभावकारी रहन्छ र दोस्रो डोज कति समयपछि दिँदा उत्तम हुन्छ भन्ने थाहा भइसकेको थिएन । यसपटकको नतिजा प्रकाशित गर्दा यी विषय पनि त्यहाँ समावेश गरिएका छन् ।
पहिलो डोजपछि २२ देखि ९० दिनसम्म हेर्दा खोप ७६.० प्रतिशत प्रभावकारी देखियो । वास्तविक अवस्थालाई लिएर गरिने अनुमान हेर्दा पनि खोपको प्रतिरक्षा तीन महिनासम्म घटेन । दोस्रो डोज १२ हप्ताभन्दा बढी समयपछि दिँदा खोपको प्रभावकारिता ८१.३ प्रतिशत देखियो । दोस्रो डोज ६ हप्ताभन्दा कम समयमा दिँदा भने खोपको प्रभावकारिता ५५.१ प्रतिशत देखियो । यो नतिजा तथा अरू परीक्षणबाट पनि दोस्रो डोज सकेसम्म तीन महिनापछि दिनु उत्तम देखियो । सोअनुसार सेजले आफ्नो दुई डोजबीचको समय अन्तरको सिफारिस ४ देखि १२ हप्ताबाट फेरेर ८ देखि १२ हप्ता बनाएको छ ।
नेपालमा पनि खोप लगाउने अभियान चलेदेखि कोभिसिल्ड खोपकै बढी मात्रामा चर्चा चलेको छ । अक्सफोर्ड विश्वविद्यालयले सर्वप्रथम निर्माण गरेको यो खोपलाई एस्ट्राजेनका भन्ने कम्पनीले विभिन्न चरणका मानव परीक्षणमा सहयोग पुर्याएको थियो । खोप विकास गरेर मात्र हुन्न, यसलाई ठूलो परिमाणमा बनाउन पनि सक्नुपर्छ ।
धेरैजसो खोपमा कोरोनाको बाहिरी सतहमा रहने एस प्रोटिन राख्ने गरिन्छ । कोभिसिल्ड कोरोनाको एस प्रोटिन प्रजननमा भएको रुघा लगाउने एडिनो भाइरसबाट बनाइन्छ । हरेक डोजमा ५० अर्ब भाइरस हुन्छन् । भाइरसलाई यति ठूलो मात्रामा बनाउन मानवीय कोषको प्रयोग हुन्छ ।
खोप अल्पविकसित भारत तथा दक्षिण एसियामा पनि उपलब्ध होस् भन्नका लागि अक्सफोर्ड र एस्ट्राजेनकाले आफ्नो प्रविधि भारतको सबभन्दा ठूलो खोप निर्माण गर्ने कम्पनी सिरम इन्स्टिच्युटलाई उपलब्ध गराएको छ । भारत सरकारले पनि पहिलो चरणमा १० लाख डोज नेपाललाई निःशुल्क प्रदान गर्यो । अर्को २० लाख डोज नेपाल सरकारले प्रतिडोजको ४ डलरमा खरिद गरिसकेको छ । त्यसपछि कोभ्याक्स प्रणालीबाट अरू २२.५ लाख कोभिसिल्ड खोप नेपाललाई अनुदानस्वरूप छिटै उपलब्ध हुनेछ । यो सबै जोडेर जम्माजम्मी ५२.५ लाख डोज हुन पुग्छ । यति डोजले लगभग २६ लाखलाई खोप लगाउन पुग्छ ।
नेपालले खोप लगाउन प्राथमिकताको सूची तयार गरेको छ । प्राथमिकताको सूचीको पहिलो नम्बरमा स्वास्थ्य सेवाको अग्रमोर्चामा खटिने कर्मचारी पर्छन्, जसको संख्या झन्डै नौ लाख छ । यस समूहमा डाक्टर, नर्स, एम्बुलेन्स चालक, सामाजिक स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मीहरू, ज्येष्ठ नागरिकको आवासगृहमा काम गर्नेहरू आदि पर्छन् । सूचीको दोस्रो नम्बरमा ५५ वर्ष उमेरमाथिका नागरिक र ४० वर्षमाथिका दीर्घरोगीहरू पर्छन्, जसको संख्या ५२ लाख हुन आउँछ ।
अहिलेसम्म आउने निश्चित भएको खोपले यो जनसंख्यालाई धान्न सक्दैन । ६५ वर्षमाथिका वृद्धलाई मात्र यति खोपले भ्याउने सम्भावना छ । सूचीको तेस्रो नम्बरमा ४० देखि ५५ उमेरका नागरिक पर्छन्, जसको जनसंख्या २९ लाख रहेको छ । सूचीको चौथो नम्बरमा १८ देखि ४० उमेरका युवा पर्छन्, जसको जनसंख्या एक करोड २८ लाखजति छ । १८ वर्षमुनिका बालबालिकामा अहिलेसम्म परीक्षण नभएकाले खोप दिने योजना छैन ।
स्वास्थ्य सेवामा खटिएका नागरिकलाई पहिलो खोप दिँदा विभिन्न फाइदा छ । पहिलो, ती नागरिकलाई कोभिडबाट सुरक्षा हुन्छ । दोस्रो, महामारीको अवस्थामा महत्वपूर्ण स्वास्थ्य सेवा सुचारु राख्न सहयोग पुग्छ । तेस्रो, बिरामीलाई रोग फैलिने सम्भावना कम हुन जान्छ । यिनै कारणले गर्दा नेपालमा मात्र नभएर विश्वभरि नै स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई सर्वप्रथम खोप लगाइएको छ । वृद्ध नागरिकलाई रोगका कारण ज्यानको खतरा हुने भएकाले सूचीको दोस्रो नम्बरमा राखिएको हो ।
भाग्यले अहिलेसम्म खोप लगाउन पाएका ५० मुलुकमा नेपालको पनि नाम जोडिएको छ । खोप आइसकेको अवस्थामा आफूलाई पनि खोप लगाउने अवसर मिलेमा खोप लगाउने कि नलगाउने जो कोहीलाई जिज्ञासा हुन सक्छ । अहिलेसम्म परीक्षण नगरिएका समूहमा १८ वर्षमुनिका बालबालिका, गर्भवती महिला, स्तनपान गराइरहेका महिला, एचआइभी लागेकाहरू, कमजोर प्रतिरोधात्मक क्षमता भएका, पहिला कोरोना लागेका र अहिले सक्रिय कोरोना लागेकाहरू पर्छन् ।
१८ वर्षमुनिका बालबालिकामा परीक्षण नभएका कारणले खोप नलगाउन विशेषज्ञले सल्लाह दिएका छन् । गर्भवती महिलालाई कोभिड लाग्ने सम्भावना बढी हुन्छ । अहिलेसम्म जनावरमा गरिएका परीक्षणले पेटमा भएको बच्चाको विकासमा खोपले असर नगर्ने नै देखिएको छ । अहिलेलाई गर्भवती महिला उच्च प्राथमिकताको सूचीमा परेमा खोप लगाउने, नभए नलगाउने सल्लाह दिइएको छ ।
एचआइभी लागेकालाई कोभिड लाग्ने जोखिम उच्च हुन सक्छ । एचआइभी लागेकाको प्रतिरोधात्मक क्षमता कमजोर हुने कारणले खोपको प्रभावकारिता कम हुन सक्छ । परीक्षण नभइसकेको अवस्थामा आफू प्राथमिकताको सूचीमा परे एचआइभी लागेको भए पनि खोप लगाउँदा हुन्छ ।
प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूका लागि पनि सल्लाह एचआइभी लागेकाहरूलाई दिइएको सल्लाहसँग मिल्न जान्छ । कोभिड लागेकालाई ६ महिनाभित्र फेरि कोभिड लाग्ने जोखिम साह्रै न्यून रहन्छ । त्यसैले कोरोना लागेको ६ महिनापछि खोप लगाउन सिफारिस गरिएको छ । यस्ता व्यक्तिमा एक डोज खोपले प्रतिरोधात्मक क्षमता वृद्धि गरेको र दोस्रो डोजले खासै केही नगरेको प्रमाण भेटिएको छ । त्यसैले कोरोना पहिला लागेका व्यक्तिलाई एक डोज खोप पर्याप्त हुन सक्छ ।
कोभिसिल्डको खोप नेपालमा जुन तरिकाले भित्र्याइएको छ, त्यो सराहनीय छ । नेपालले ५० लाखभन्दा बढी डोज भित्र्याउँदा पनि पैसा भने निकै कम खर्च भएको छ । खोप सानो मात्रामा धेरैपटक ल्याइने भएको छ । यसो गर्दा खोप लगाउन सहज भएको छ । साथसाथै खोप भण्डारणको पनि समस्या कम भएको छ । फेरि खोप प्रभावकारी नभएको खण्डमा अथवा खोपको आवश्यकता नभएको खण्डमा सहजै खोप प्रक्रिया रोक्न पनि सकिन्छ ।
(लेखकद्वय काठमाडौं विश्वविद्यालय बायोटेक्नोलोजी विभागमा आबद्ध छन्)