कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले काम थालेको छ । समितिको शनिबार बसेको बैठकले महाधिवेशनको मिति अन्तिमपटक तोकिएको अवस्थामा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई गति दिन जिल्ला, क्षेत्र र मातहतका समितिहरूलाई निर्देशन दिएको छ ।
गत बुधबार र बिहीबार बसेको केन्द्रीय समितिले छानबिन समितिलाई क्रियाशील सदस्यता नवीकरण र वितरणका सम्बन्धमा सबै निर्णयको अधिकार दिएको थियो । समितिले क्रियाशील सदस्यता नवीकरण, वितरणका लागि निर्देशन दिने, अनुगमन गर्ने र सदस्यतामाथि छानबिन गरी अन्तिम नामावली तयार गरी केन्द्रीय समितिलाई बुझाउने समितिका सदस्य जीवन परियारले जानकारी दिए । कांग्रेसले यसअघि नै केन्द्रले तोकेको मितिमा क्रियाशील सदस्यता नबुझाउने जिल्लाले महाधिवेशनमा भाग लिन नपाउने निर्णय गरिसकेको छ ।
छानबिन समितिले समयमै क्रियाशील सदस्यता वितरण र नवीकरणका काम पूरा गर्न आवश्यक समन्वय गर्ने, जानकारी लिने, ध्यानाकर्षण गर्नका लागि समितिका सदस्यहरूबीच कार्यविभाजन गरेको छ । समितिले समितिका सदस्यहरू आनन्दप्रसाद ढुंगाना र जीवन परियारलाई प्रदेश नम्बर १ र २, श्यामकुमार घिमिरे र प्रदीप पौडेललाई बागमती प्रदेश र गण्डकी प्रदेश तथा कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीलाई लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ ।
समितिले ती कार्य समयै पूरा गर्नका लागि तल्ला समितिहरूलाई पत्राचार गर्ने, विज्ञप्ति जारी गर्नेलगायतका समेत निर्णय गरेको छ । यस्तै, शनिबारको बैठकले छानबिन समितिकोे प्राविधिक कार्यतर्फ डा. प्रदीप पराजुली र प्रशासन तथा निर्णयतर्फ अधिवक्ता केशव रिजाललाई सचिवमा नियुक्त गरेको छ ।