निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३० महिना नाघ्दा पनि बलात्कारी र हत्यारा पत्ता लागेको छैन । प्रहरी यस मामिलामा पूरै निकम्मा भएर हो वा अनुसन्धान गर्न नचाहेर अहिलेसम्म उत्तर आएको छैन । तर, राज्यसंयन्त्र पूरै असफल र जनताको जीवनरक्षाको दायित्वप्रति लापर्बाह रहेको भने यसले पुष्टि गरिसकेको छ । यस मामिलामा वर्तमान गृहमन्त्री आफ्नै बयानका कारण बदनाम छन् । प्रधानमन्त्री त यी घटनालाई अब अरूले पनि बिर्सिऊन् भन्ने चाहना राख्न थालेजस्तो देखिन्छ । उनले सक्थे भने अध्यादेश ल्याएरै यसबारे प्रश्न गर्न नमिल्ने बनाइदिन्थे । यो ३० महिनामा नेपालमा कैयौँ अरू निर्मलाहरूले निर्मलाकै नियति व्यहोरेका छन् ।
तीन दिनपहिले मात्र बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका ४ चडेपानीकी किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या गरेर फालेको अवस्थामा शव भेटिएको छ । घरबाट विद्यालय गएकी किशोरी साँझ घर फर्कँदै गर्दा आततायी अपराधीको हिंस्रक आक्रमणमा परी साीथकहाँ पढ्न गएकी निर्मला घर पुग्न नपाउँदै एउटा जल्लादको यौनतृष्णाको सिकार भएकी थिइन् । टोल–टोलमा, कार्यालय या बाटोघाटोमा महिला, किशोरी र बालिकाहरू बलात्कारको सिकार भइरहेका छन् । केही घटनामा कार्बाही पनि भएको छ ।
उच्चस्तरका दण्ड सजाय पनि भएका छन् । तर, अपराध गर्नेलाई यस्तो दण्डसँग कुनै प्रकारको भय उत्पन्न भएजस्तो देखिन्न । अर्थात् अपराधीहरूमा दण्ड हुने नै छ भन्ने त्रास पलाउन सकेको छैन । धेरैजसोले यस्तो अपराध गरे पनि दण्ड जरिवानाबाट मुक्त हुन सकिन्छ या जोगिन सकिन्छ भन्ने मान्यता राखेरै अपराध गर्न थालेका छन् । निर्मला प्रकरणले मात्र यस्तो देखिएको होइन ।
अपराध भइहालेको अवस्थामा पीडकलाई दण्डित गरेर पीडितलाई न्याय दिने काम राज्यको हो । तर, हामी समाज र राज्य दुवैका कारण निरन्तर निर्मलाहरू जन्माइरहेका छौँ ।
कैयौँ गाउँमा बलात्कारपछिका घटनामा समाजले बलात्कारीलाई जोगाउने पीडित पक्षमाथि दबाब दिने गरेको, पञ्चायती बसेर मिलाउने गरेको, पीडकले छाती फुलाएर बस्ने र पीडितले सधैँ लाञ्छित भएर हिँड्नुपरेका घटना सार्वजनिक हुने गरेकै छन् । केही समयअघि पूर्वप्रहरी अधिकारी रञ्जन कोइरालाले आफ्नी पत्नीको हत्या आरोपमा जम्मा आठ वर्ष जेल बसेर रिहा भएपछि त महिलामाथि हुने अपराधलाई हाम्रो राज्य र समाजले अपराधकै रूपमा लिँदैन भन्ने सन्देश प्रवाहित भएको छ । डोटीमा केही वर्षपहिले भएको बलात्कारपछि पीडितले व्यहोरेको भुक्तमानले पनि अपराधीलाई नै प्रोत्साहित गर्छ ।
हामी हाम्रा पुरुष सन्तानलाई कसरी हुर्काउँदै छाैँ, पुरुषले महिला शरीर, उनीहरूको यौनिकतामाथि नियन्त्रण र भोग आफ्नो अधिकारजस्तो कसरी ठाने ? यसलाई नियन्त्रण गर्न गाउँ–समाजमा कस्तो सचेतना अपनाउनुपर्छ भन्ने विषय हरेक टोल र परिवारमा, विद्यालय र कार्यथलोमा बहसको विषय नबनाई समाजको पुरुषवादी मनोविज्ञानमाथि हस्तक्षेप गर्न सकिँदैन । सँगै समाजलाई यस्तो काममा प्रेरित गर्ने, कानुनी शासनका अवधारणालाई व्यवहारमा लागू गर्ने र अपराध भइहालेको अवस्थामा पीडकलाई दण्डित गरेर पीडितलाई न्याय दिने काम राज्यको हो । तर, हामी समाज र राज्य दुवैका कारण निरन्तर निर्मलाहरू जन्माइरहेका छौँ । रोक यो नियति ।