वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौंले कर्णालीका पाँच स्थानीय तहमा सौर्य विद्युत् प्रणाली जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्वमा तीन महिनाभित्र सौर्य विद्युत् प्रणाली जडान गर्न लागेको हो ।
जुम्लाको गुठीचौर गाउँपालिका–२, मुरेली गाउँमा ५० किलोवाट, तिला गाउँपालिका–६ को पोखरी गाउँमा ५० किलोवाट, मुगुको सोरु गाउँपालिका–६, सोरुकोटमा ६० किलोवाट, बारेकोट गाउँपालिका–५ को लिम्सामा १ सय ७० किलोवाट र कालिकोटको रास्कोट नगरपालिका–९, फुकोटमा ७५ किलोवाट सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्ने तयारी थालेको हो ।
गुठीचौर गाउँपालिका–२, मुरेली गाउँमा ५० किलोवाट सौर्य विद्युत् उत्पादनका लागि ३५ लाख, तिला गाउँपालिका–६ को पोखरी गाउँमा ५० किलोवाटको ३३ लाख, मुगुको सोरु गाउँपालिका–६, सोरुकोटमा ६० किलोवाटको ३५ लाख, कालिकोटको रास्कोट नगरपालिका–९, फुकोटमा ७५ किलोवाटको ५० लाख र जाजरकोटको बारेकोट गाउँपालिका–५ को लिम्सामा १ सय ७० किलोवाटको ९५ लाख रकम विनियोजन भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ ।
सौर्य विद्युत् प्रणाली जडानका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ९० प्रतिशत र स्थानीय तहले १० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने कालिकोटका रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए । ‘बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुन्छ,’ उनले भने, ‘यस सौर्य विद्युत् प्रणालीले नगरपालिकाभित्रका सबै घरधुरीमा उज्यालो हुनेछ ।’
विद्युत्को राष्ट्रिय प्रसारण केन्द्रसँग नजोडिएको कर्णालीमा सौर्य ऊर्जाबाट विद्युत्को पहुँच वृद्धि गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट विद्युत् जडानको सम्झौता भएको जुम्ला गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले बताए ।