१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ माघ १३ मंगलबार १९:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डका राजनीतिक गुरु ‘काजी बा’को निधन 

Read Time : > 1 मिनेट
२०७७ माघ १३ मंगलबार १९:३५:००

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी सदस्यता दिएका वामपन्थी नेता खम्बसिंह कुँवरको निधन भएको छ । पार्टीमा ‘काजी बा’ भनेर चिनिने कुँवर हाल नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य पनि हुन् ।

दम रोगले च्यापेपछि ८ माघमा भरतपुर अस्पताल भर्ना भएका कुँवरको उपचारको क्रममा मंगलबार निधन भएको हो । चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गरेको थिएन । उनी मिर्गौला, उत्तरक्तचाप, मधुमेहजस्ता रोगले पीडित थिए । स्वर्गीय कुँवरको मंगलबार नै देवघाटमा दाहसंस्कार गरिएको छ । 

प्रचण्ड र काजी बाको सम्बन्ध
९३ वर्षको उमेरमा मृत्यु भएका कुँवरप्रति अन्तिम श्रद्धाञ्जली दिन नेकपा अध्यक्ष प्रचण्ड भरतपुर नै आएका थिए । पार्टी कार्यालय कृष्णनगरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले कुँवरसँग आफ्नो धेरै कुरा जोडिएको बताए । 

कम्युनिस्ट आन्दोलन बढाउन मात्र नभई निरन्तर रूपमा आफूलाई अघि बढाउनसमेत कुँवरको विशेष भूमिका भएको उनले बताए । ‘कुँवरबाटै मलाई ०३३ सालमा पार्टी सदस्यता प्राप्त भयो । कम्युनिस्ट आन्दोलनका अभिभावकका रूपमा र आफ्नै अभिभावकका रूपमा मेरो जीवनमा उहाँको योगदानका कारणले यो ठाउँमा आइपुगेको हुँ,’ प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यता ०२८ सालमै लिएको थिएँ । तर, त्यसवेला पुष्पलाल समूहको सदस्यता थियो । म चितवनबाट गोरखा आरुघाटमा पढाउन गएका वेला कुँवरबाट सदस्यता लिएको हुँ ।’

पुष्पलाल समूहबाट अलग रहँदै नेपाल कम्युनिस्ट पार्टीको एउटा घटकले ०३१ सालमा चौथो महाधिवेशन गरेको थियो । त्यो समूहलाई चौम (चौथो महाधिवेशन) भनेर चिनिन्थ्यो । सोही समूह टुटफुट र एकता प्रक्रियाबाट अगाडि बढ्दै मसाल, मशाल, एकता केन्द्र र कालान्तरमा माओवादी बन्यो । प्रचण्ड मशालबाट पार्टीको नेतृत्वमा पुगेका थिए । योबीच धेरैपटक पार्टी फुट्यो, तर कुँवर सधैँ प्रचण्डको साथमा अभिभावकका रूपमा रहे । प्रचण्ड गृहजिल्ला आउँदा सधैँजसो कुँवरलाई भेट्ने गर्थे । कुँवरलाई अभिभावक मानेका प्रचण्डले उनको शव बोकेर देवघाट लगेका थिए ।

शोकलाई शक्तिमा बदाल्नेछौँ : प्रचण्ड
श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले कम्युनिस्ट र राजनीतिक आन्दोलनमा अहिले गम्भीर धक्का लगाएको बताए । यस्तो अवस्थामा कुँवरको निधनले निकै पीडा भएको उनले बताए । यद्यपि शेकलाई शक्तिमा बदलेर अगाडि बढ्ने उनको भनाइ छ । 

को हुन् काजी बा ?
१० वैशाख १९८४ मा लमजुङको बाङ्ग्रे ७ मा जन्मेका कुँवर रोजगारीका सिलसिलामा भारत पुगेर सेनामा भर्ना भएका थिए । त्यहाँ कम्युनिस्ट पार्टीका मान्छेसँग सम्पर्क हुन थालेपछि नेपालमा पनि यही पार्टीमा लाग्नुपर्छ भनेर घर फर्की २०११ मा पार्टी सदस्यता लिएका थिए । उनी २०१५ मा चितवन आएका थिए । चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर ६ केशरबागमा बसाइँ सरेका उनी ०३१ सालमा नेकपा चौम समूहको पोलिटब्युरो सदस्यमा भएका थिए । 

उनी हाल भरतपुर महानगरपालिका– १० मा बस्दै आएका थिए । उनका दुई छोरा र चार छोरी छन् । कुँवरकी श्रीमतीको केही वर्षअघि निधन भएको थियो ।