मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ १० शनिबार १८:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

Read Time : < 1 मिनेट
२०७७ माघ १० शनिबार १८:५९:००

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । शनिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहिलो राष्ट्रिय परिचयपत्र पाएका छन् । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मन्त्री ज्ञवालीलाई परिचयपत्र प्रदान गरिन् । ज्ञवालीले ३२ साउन ०७६ मा राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण संकलन गरेका थिए । साथै, ज्ञवालीले राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीसहित तीनजना सेवाग्राहीलाई परिचयपत्र प्रदान गरे । 

गुल्मीमा ८ साउन ०७६ बाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् । नेपाल सरकारले निर्णय गरेपछि मात्रै परिचयपत्रको कार्यान्वयन हुने शर्माले बताइन् । जिल्लाका नौवटा स्थानीय तहमा विवरण संकलनको काम सकिएको छ । २३ कात्तिक ०७७ बाट ६१ जना दर्ता अधिकारीले गाउँमा विवरण संकलनको काम गरेका छन् । अहिलेसम्म एक लाख सात हजार तीन सय २३ जनाको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

चन्द्रकोट र कालीगण्डकी गाउँपालिकामा विवरण संकलनको काम भइरहेको छ भने रेसुंगा नगरपालिकामा केही समयपछि अभियान सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । जिल्लामा एक लाख ४४ हजार ४८ जनाले विवरण संकलन गर्ने अनुमान गरिएको छ । 

परिचयपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय परिचयपत्र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र भएकाले अझै पनि अभियानमा सहभागी हुन गुल्मेलीलाई आग्रह गरे ।