खोप खरिद गर्नुअघि खोपको उपयुक्तता तथा लागत लाभको हिसाबकिताबले पारदर्शिताका साथै सूचित निर्णय प्रणालीको विकासमा पनि सहयोग पुर्याउँछ
नेपाललगायत संसारभरि नै कोरोनाविरुद्धको खोप खरिदको चटारो छ । सरकारका संयन्त्रहरू यही प्रक्रिया सहजीकरणमा लागेका छन् । खोप सल्लाहकार समिति कुन खोप सबभन्दा उचित हुन्छ, छुट्याउँदै होला । अर्थ मन्त्रालयले खोपकै लागि भनेर ४२ अर्ब रुपैयाँ विनियोजन गरेको खबर छ । त्यस्तै, भारतीय, चिनियाँ तथा रुसी कूटनीतिक नियोगहरूमा खोपको आपूर्तिका लागि दौडधुप छ । स्वास्थ्य मन्त्रालय पनि यही काममा व्यस्त छ । खोप कसको खरिद गर्ने ? कहिलेसम्म ल्याउने ? कस–कसलाई पहिला लगाउने ? भन्नेबारेमा बहस चलिरहेकै छ । दुई करोड जनतालाई खोप लगाउन स्वास्थ्यकर्मी कसरी परिचालन गर्ने भन्ने योजना बनिरहेको छ । परेको खण्डमा निजी क्षेत्रसँग सहकार्य गर्ने सोच पनि छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रकिया पारदर्शी हुने आश्वासन दिएका छन् ।
मेरो पनि सुझाब प्रक्रिया पारदर्शी हुनुपर्नेमा नै छ । ओम्नी काण्डको अविश्वास नदोहोरियोस् भन्नका खातिर पनि खोप छानिने प्रक्रिया तथा हिसाब सबै सार्वजनिक गर्नु जरुरी छ । हरेक आयोजना अथवा खरिदअगाडि लागत र लाभको विश्लेषण गर्नु जरुरी हुन्छ । लागतभन्दा लाभ कति बढी छ, त्यसको आधारमा खरिद अघि बढाउँदा, कमिसनको ठाउँ रहँदैन । राष्ट्रहरूलाई खोप छान्न सहज बनाइदिनका लागि विश्व स्वास्थ्य संगठनले एउटा प्रक्रियागत पुस्तिका निकालेको छ । यस पुस्तिकाको अध्ययन त खोप सल्लाहकार समितिले गरिसकेको नै होला । यो लेख भने सर्वसाधारणलाई खोप छान्ने वैज्ञानिक तरिका अवगत गराउन लेखिएको हो र यसमा बजारमा आइसकेका र आउन बाँकी खोपलाई तौलने पनि प्रयास गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले निकालेको ‘राष्ट्रिय खोप कार्यक्रममा नयाँ खोप समावेश गर्दा सोच्नुपर्ने कुराहरू’ शीर्षकको पुस्तिका कोरोना महामारीभन्दा अगाडि निकालिएको हो । त्यसैले यस पुस्तिकाले कोरोनाअगाडिका पखाला, इन्सेफलाइटिसजस्ता रोगविरुद्ध देशव्यापी रूपमा खोप कतिखेर लागू गर्ने जानकारी गराएको छ । यस्ता रोगविरुद्ध खोप नल्याउँदा पनि त्यत्रो ठूलो नोक्सानी हुँदैन । कोरोनाको कहानी भने धेरैजसो देशका लागि भिन्नै छ । कोरोनाविरुद्ध खोप चाहिन्छ कि चाहिँदैन भन्ने विषयमा द्विविधा छैन । धेरैजसो देशमा खालि कुन खोप ल्याउँदा उचित हुन्छ भन्ने विषयमा द्विविधा छ ।
विभिन्न खोपमध्ये हामीलाई कुनचाहिँ उत्तम हुन्छ भन्न निम्न बुँदामा विश्लेषण गर्नुपर्छ : खोप कति सुरक्षित छ ? खोप कति उपयोगी छ ? खोपले संक्रमणबाट कति समय सुरक्षा दिन्छ ? कति उमेरकालाई प्रतिरक्षा गर्छ ? खोप लिएकाबाहेक अरूलाई पनि बचाउन सक्ने क्षमता छ कि छैन ? तथा, अरू रोगबाट बचाउन सक्ने क्षमता छ/छैन ?
पुस्तिकाअनुसार खोप अहिले नै ल्याउने–नल्याउने निर्णयका लागि तीनवटा कुरा महत्वपूर्ण छन् : देशमा रोगको प्रकृति, खोपको प्रकृति तथा खोप कार्यक्रमको सबलता । देशमा रोगको प्रकृतिमा रोगलाई देश, विदेशमा कसरी हेरिन्छ ? रोग कति फैलिएको छ ? तथा रोगको उपचारका कुन–कुन विधि उपलब्ध छन् ? भन्ने पर्छन् । निश्चित रूपमा कोरोनाको यो महामारीलाई नेपाल तथा विश्वव्यापी रूपमा नै एकदम गम्भीर रूपमा हेरिएको छ । एक वर्ष भयो, महामारीका कारण विश्वभर नै धेरै गतिविधि ठप्प छन् । यस हिसाबले कोरोनाको खोपलाई विश्वले अँध्यारो गुफाको एक छेउमा देखिएको उज्यालोको रूपमा हेरेको छ । कोरोना महामारी अमेरिका तथा पश्चिमी मुलुकहरूमा व्यापक फैलिएको र प्रतिहजार जनसंख्यामा एकजना भन्दा बढीको मृत्यु भएको अवस्था छ । रोग फैलावटको हिसाबले पश्चिमा मुलुकमा खोपको विकल्प छैन । नेपालमा कोरोनाको अवस्था अलि भिन्न छ । यसबाट मृत्यु प्रतिदश हजार जनसंख्यामा एकजना पनि छैन । अझ पछिल्लो समय प्रतिदिन मृत्युको संख्या घटेर ५–१० पुगेको छ ।
खोप खरिदको निर्णयमा दोस्रो महत्वपूर्ण पक्ष, खोपको प्रकृति, जुन अहिले बढी चर्चामा पनि छ । अहिलेसम्म मानवीय परीक्षणको तेस्रो चरण पार गरेका तीनवटा खोप प्रयोगमा आइसकेका छन् । फाइजर बायोटेक, मोडेर्ना र अक्सफोर्डका खोप विभिन्न मुलुकमा दिन थालिसकिएको छ । चीनको सिनोभ्याक तथा सिनोफार्म र रुसको स्पुतनिक–५ को प्रयोग सुरु त भयो, तर तेस्रो चरणको मानवीय परीक्षणको नतिजा आउन बाँकी नै छ । सर्वप्रथम यी खोपको प्रविधिको बारेमा चर्चा गरौँ । गोलाकार भाइरसको बाहिर एस प्रोटिन पाइन्छ । कोरोना लागेपछि यही प्रोटिनलाई चिन्ने र जोडिने प्रतिरोधात्मक तत्वहरू शरीरले उत्पादन गर्छ र दोस्रोपटक रोग लाग्नबाट बचाउँछ । यी सबै खोपले शरीरलाई भाइरसको संक्रमण नभई एस प्रोटिन उत्पादन गर्न लगाउँछन्, ताकि भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता विकास होस् । फाइजर र मोडेर्नाका खोपमा नौलो एमआरएनए प्रविधि प्रयोग गरिएको छ, जसमा एमआरएनएको खाकामा एस प्रोटिन बन्छ । अक्सफोर्डको खोपमा एस प्रोटिन बनाउने डिएनए चिम्पान्जी (एक जातिको वनमान्छे) लाई रुघा लगाउने भाइरसमा राखिएको हुन्छ । स्पुतनिक–५ मा पनि अक्सफोर्डकै प्रविधि प्रयोग गरिएको छ । यसमा भने डिएनए मानिसलाई रुघा लगाउने भाइरसमा राखिएको हुन्छ । चीनको सिनोभ्याक तथा सिनोफार्मले बनाएका खोपमा मृत कोरोना भाइरसकै टुक्राटाक्री राखिएको छ ।
यी विभिन्न खोपमध्ये हामीलाई कुनचाहिँ उत्तम हुन्छ भन्नका लागि निम्न बुँदामा विश्लेषण गर्नुपर्छ : खोप कति सुरक्षित छ ? खोप कति उपयोगी छ ? खोपले संक्रमणबाट कति समय सुरक्षा दिन्छ ? कति उमेरकालाई प्रतिरक्षा गर्छ ? खोप लिएकाबाहेक अरूलाई पनि बचाउन सक्ने क्षमता छ कि छैन ? तथा, अरू रोगबाट बचाउन सक्ने क्षमता (क्रसइम्युनिटी छ कि छैन ? यी बुँदाहरूमा कुनै पनि खोपको सुरक्षा दिने समयावधि, खोप नलिएकालाई पनि बचाउने क्षमता र अरू रोगबाट बचाउने क्षमता अनुसन्धान भएको छैन । तेस्रो मानवीय परीक्षणपछि खोपहरू कति सुरक्षित र प्रभावकारी छन् भन्ने थाहा हुन आएको छ । कति खोपका समकक्षीहरूको मूल्यांकनसहितको नतिजा प्रतिष्ठित जर्नलमा छापिएको छ । जसले नतिजालाई थप विश्वासयोग्य बनाएको छ ।
अब खोपहरू कति सुरक्षित छन् भन्नेबारे चर्चा गरौँ । फाइजर तथा मोडेर्नाको खोपको सुरक्षा स्थिति उस्तै छ । संक्रमणबाट जोगिन शरीरले प्रतिरोधात्मक क्षमता विकास गर्न दुवै खोपका दुई डोज लगाउनुपर्छ । खोप लगाएको एक हप्तासम्म थकाइ लाग्ने, चिसो लाग्ने, ज्वरो आउने जस्ता लक्षण धेरैजनामा देखिन्छन् । खोपका कारण कडा प्रतिकूल घटना दुई प्रतिशतभन्दा कमलाई मात्र भएको छ । ठूलो मात्रामा खोप लगाउँदा कोहीकोहीलाई प्रतिक्रियात्मक झट्का लागेको पनि समाचार आएका छन् । कसैलाई त्यस्तो भएमा खोप दोहोर्याएर नलगाउँदा नै उत्तम हुन्छ । अक्सफोर्डको खोपका कारण असहज भएको खण्डमा सिटामोल खान भनिएको छ । तेस्रो र चौथो चरणको मानवीय परीक्षणमा एक–दुईवटा कडा प्रतिकूल घटना देखिएका छन् । तर, खोपकै कारणले यी घटना घटेका हुन् भन्ने पनि निश्चित छैन । स्पुतनिक–५ र सिनोभ्याक तथा सिनोफार्मका खोप पनि थाहा भएसम्म सुरक्षित नै भेटिएका छन् ।
माथि उल्लेखित ६ वटै खोप धेरै हदसम्म सुरक्षित भएकाले फरक खोज्नलाई प्रभावकारिता हेर्नु जरुरी हुन्छ । अमेरिकाको खाद्यान्न तथा औषधि विभागको नीतिअनुसार खोपलाई बजारमा ल्याउन खोप कमसेकम ५० प्रतिशत प्रभावकारी हुनुपर्छ । खोपको तेस्रो चरणको परीक्षणमा हजारौँलाई दुइटा समूहमा विभाजन गरिन्छ । एउटा समूहलाई खोप दिइन्छ भने अर्काे समूहलाई खोप दिइएको भनेर खोपको मूल तत्व नरहेको सामग्री दिइन्छ । खोप प्रभावकारी भएमा खोप लगाएको समूहमा कम कोरोना भाइरस लाग्छ । खोपको मूल तत्व नपाएको समूहमा १० जनालाई कोरोना लाग्यो, अनि खोप लगाएको समूहमा दुईजनालाई कोरोना लाग्यो भने खोप ८० प्रतिशत प्रभावकारी हुन्छ । सोहीअनुसार तेस्रो चरणको मानवीय परीक्षणबाट मोडेर्नाको खोप ९४.१ प्रतिशत प्रभावकारी देखियो । खोप नलगाएको समूहमा १८५ जनालाई कोरोना लाग्यो भने खोप लगाएको समूहमा ११ जनालाई मात्र लाग्यो । परीक्षण लगभग २८ हजारजनामा गरिएको थियो । र, खोप १८ वर्षमाथिका मानिसलाई मात्र दिइएको थियो ।
कोरोनाविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्नु चुनौती मात्र नभएर एउटा अवसर पनि हो । जनशक्ति छैन भने जनशक्तिको विकास गर्ने अवसर हो । भण्डारण क्षमता पर्याप्त छैन भने क्षमता बढाउन सकिन्छ । रोगको अनुगमन गर्ने क्षमता अपुग छ भने त्यो थप्न सकिन्छ ।
फाइजरको खोप परीक्षण लगभग ४० हजारजनामा गरिएको थियो । खोप लगाएको समूहमा नौजनालाई रोग लाग्दा खोप नलगाएको समूहमा १६९ जनालाई रोग लाग्यो । यसअनुसार खोपको प्रभावकारिता ९४.७ प्रतिशत हुन पुग्यो । यस खोपको परीक्षण १६ वर्षमाथिका व्यक्तिमा गरिएको थियो । अक्सफोर्डको अहिलेसम्म आएको तेस्रो चरणको परीक्षणको दुई प्रकारका नतिजा छन् । धेरैजनामा उही डोज दुईचोटि दिइयो । यो समूहमा प्रभावकारिता ६२.१ प्रतिशत देखियो । थोरैजनामा पहिलो डोज आधा र दोस्रो डोज पूरा दिइयो । यो समूहमा प्रभावकारिता ९० प्रतिशत देखियो । तेस्रो चरणका परीक्षणहरू विभिन्न देशमा अझै जारी छन् । अझ भरपर्दाे नतिजा केही समयपछि आउनेछन् ।
रुसी स्पुतनिक–५ को तेस्रो चरणको परीक्षणको प्रारम्भिक नतिजाअनुसार खोप ९१.४ प्रतिशत प्रभावकारी देखिएको छ । जाँच लगभग २३ हजारजनामा गरिएको थियो । यी नतिजाहरूको समीक्षा गर्दा आरएनए प्रविधिको खोप ९५ प्रतिशत प्रभावकारी तथा एडिनो भाइरस प्रविधिको खोप ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ । दुई चिनियाँ खोपको तेस्रो चरणको परीक्षण विभिन्न देशमा भएर भिन्न–भिन्न नतिजा आइरहेका छन् । सिनोभ्याकको खोप टर्की, इन्डोनेसिया र ब्राजिलमा ९१ प्रतिशत, ६५ प्रतिशत र ५० प्रतिशत प्रभावकारी देखिएका छन् । सिनोफार्मले आफ्नो खोप ७९ प्रतिशत प्रभावकारी छ भनेर भनेको छ । प्रयोगकर्ता युएईले भने यो खोप ८६ प्रतिशत प्रभावकारी भएको जनाएको छ ।
खोपहरू कति सुरक्षित र प्रभावकारी छन् भन्ने हेरिसकेपछि अब खोपका अन्य प्रकृति विश्लेषण गरौँ । खोप कति डोजको छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । किनकि, थोरै डोजको भएमा खोप कार्यक्रम सञ्चालन गर्न सजिलो हुन्छ । बजारमा आएका सबैजसो कोरोना खोप दुई डोजका छन् । खोपको भण्डारण कति तापक्रममा गर्नुपर्छ, त्यो अर्काे महत्वपूर्ण पाटो हो । फाइजरको खोप अत्यन्त चिसो (माइनस ८० डिग्री सेल्सियस)मा भण्डारण गर्नुपर्छ । यो भण्डारणको क्षमता अहिले नेपालमा छैन । क्षमता बनाउनका लागि खर्च धेरै पर्ने देखिन्छ । मोडेर्नाको खोपलाई माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने हुन्छ । परेको खण्डमा नेपालले यो क्षमता उचित खर्चमा विकास गर्न सक्छ । रुसको खोप तरल स्वरूपमा माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्छ । तर, अहिले ठोस स्वरूपमा ४ डिग्री सेल्सियसमा भण्डारण गर्न सक्ने प्रविधिको विकास गरिएको छ । अक्सफोर्ड, सिनोभ्याक तथा सिनोफार्मका खोप सबै ४ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।
यी तापक्रम अलि–अलि तल–माथि पर्न सक्छन् । आणविक जीव विज्ञानको अध्ययनमा तीन थरीका फ्रिज हुन्छन् : माइनस ८० डिग्री सेल्सियसको, माइनस २० डिग्री सेल्सियसको र ४ डिग्री सेल्सियसको । त्यसैले सहजताका लागि यस लेखमा यी तीन तापक्रमको प्रयोग गरिएको हो । खोप नेपालसम्म आइपुग्छ कि पुग्दैन भन्ने निर्धारण गर्न खोप विश्वमा कति मात्रामा उत्पादन भइरहेको छ भन्ने तथ्यलाई हेर्नुपर्ने हुन्छ । साधारणतया जब कुनै खोप बजारमा पहिलोचोटि आउँछ, खोप बनाउने कम्पनी एउटा मात्र हुन्छ । माग ठूलो हुन्छ, आपूर्ति कम । त्यसैले मूल्य पनि धेरै हुन्छ । बिस्तारै अरू कम्पनीले पनि खोप बनाउन थाल्छन् । आपूर्ति बढ्छ र मूल्य घट्छ । कोरोनाको सन्दर्भमा अहिलेसम्म कमसेकम ६ वटा खोप बजारमा छन् । सबै कम्पनीले पूर्ण क्षमतामा उत्पादन गरे पनि विश्वका सबैलाई खोप पुग्न सक्ने सम्भावना न्यून छ । विशेष गरी नेपालजस्तो आर्थिक पहुँच नभएको देशले छानीछानी खोप नपाउन सक्छ । हामीलाई जुन खोप जुन मात्रामा जहिले उपलब्ध भयो, त्यही खोप त्यही मात्रामा त्यही समयमा प्रयोग गर्नुपर्ने हुन सक्छ ।
विचारणीय अर्काे महत्वपूर्ण पक्ष भनेको आर्थिक पक्ष हो । सबभन्दा पहिलो कुरा त खोपलाई कति पर्छ भन्ने हो । सबभन्दा महँगो खोप मोडेर्नाको हो । प्रतिडोज खोपलाई ३३ अमेरिकी डलर पर्छ । खोपको मूल्य मागअनुसार अथवा लागत खर्चअनुसार निर्धारण गरिएको भन्न सकिने अवस्था छैन । कम तापक्रममा भण्डारण गर्न मिल्ने यो खोप, एकदम प्रभावकारी भएकाले मूल्य उच्च हुनु पनि स्वाभाविक हो । २० डलर पर्ने फाइजरको खोप दोस्रो महँगो खोप हो । यस खोपको लागत अझ बढ्न जान्छ, किनभने माइनस ८० डिग्री सेल्सियसको फ्रिजको व्यवस्था गर्नुपर्ने हुन्छ । रुसी खोपको मूल्य १० डलर छ भने अक्सफोर्डको खोपको मूल्य ४ डलर छ । यी खोप लगाउँदा खर्च धेरै नबढ्ने देखिन्छ, किनकि भण्डारण ४ डिग्रीमा गर्दा हुन्छ । सिनोभ्याक र सिनोफार्मका खोपको मूल्य खासै प्रचार–प्रसार गरिएको छैन । यी मूल्य, भण्डारण खर्च र खोप लगाउने खर्च सबै जोडेर जम्मा खर्च कति लाग्छ भन्ने निर्धारण गर्न सकिन्छ । यो खर्च निकाल्न विश्व स्वास्थ्य संगठनले विभिन्न वेबसाइटको विकास पनि गरेको छ ।
देशको खोप लगाउने पूर्वाधार कति सबल छ, खोप खरिद गर्नुअगाडि त्यो पनि बुझ्न जरुरी छ । खोप खरिद त गर्यो तर लगाउने पूर्वाधार छैन भने खोप खेर जान्छ । स्वास्थ्य जनशक्ति, भण्डारणको क्षमता, रोग अनुगमन गर्ने क्षमताको सही आकलन गर्नु जरुरी छ । कोरोनाविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्नु चुनौती मात्र नभएर एउटा अवसर पनि हो । जनशक्ति छैन भने जनशक्तिको विकास गर्ने अवसर हो । भण्डारण क्षमता पर्याप्त छैन भने क्षमता बढाउन सकिन्छ । रोगको अनुगमन गर्ने क्षमता अपुग छ भने त्यो थप्न सकिन्छ ।
सबै तथ्यको संकलन भएपछि अब लागत र लाभको विश्लेषण गर्नुपर्छ । प्रतिव्यक्ति ज्यान बचाउन लाग्ने खर्च, प्रतिव्यक्ति रोग लाग्न नदिन लाग्ने खर्च आदिको विश्लेषण गर्नुपर्छ । हरेक खोपका लागि यस्तो विश्लेषण गरेर खोप उपयुक्त भए÷नभएको, कुन खोप उपयुक्त भएको निर्धारण गर्न सकिन्छ । यस्ता हिसाब गर्नका लागि जटिल मोडलिङ पनि गर्नुपर्ने हुन सक्छ । अर्थशास्त्री तथा गणितज्ञको आवश्यकता पर्न सक्छ । बेलायतमा सेज भन्ने एउटा अर्धसरकारी संस्था छ, जसले महामारी तथा अरू संकटको परिस्थितिमा वैज्ञानिक सल्लाह सुझाब दिने गर्छ । कोरोना महामारीको सुरुवातमा सबै तथ्यांक नआउन्जेल यही संस्थाले लकडाउन गर्न पर्दैन भनेको थियो ।
पछि तथ्यांककै आधारमा लकडाउन गर्ने सुझाब पनि दिएको थियो । यस संस्थाले आफ्ना मोडल, सुझाबहरू सबै सार्वजनिक गर्ने गर्छ । आशा गर्दछु, नेपाल सरकारले पनि यस्तो किसिमको गृहकार्य गरिसक्यो अथवा गरिरहेको छ । विभिन्न देशसँग खोप कूटनीति गर्नुअगाडि यस किसिमको हिसाबकिताब र आफ्नै देशको परिस्थिति बुझ्न पनि जरुरी हुन्छ । यी क्रियाकलापले सूचित निर्णय प्रणालीको विकास गर्न पनि सहयोग पुर्याउँछन् । हामी कमिसन खाँदैनौँ, प्रक्रिया पारदर्शी पार्छौं भन्ने मात्रै होइन कि खोपको उपयोगिताको मोडलिङ सार्वजनिक गर्दा अझै उत्तम हुन्थ्यो ।
(भट्टराई काठमाडौं विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उप–प्राध्यापक हुन्)