मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १२ आइतबार
  • Wednesday, 18 December, 2024
डा. हितेशकुमार भट्टराई
२o७७ पौष १२ आइतबार १o:५४:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वैज्ञानिक कस्तो हुनुपर्छ ?

Read Time : > 5 मिनेट
डा. हितेशकुमार भट्टराई
नयाँ पत्रिका
२o७७ पौष १२ आइतबार १o:५४:oo

कुनै पनि नयाँ आविष्कार गरेपछि एउटा सच्चा वैज्ञानिक हर्षित भएर पत्रपत्रिकामा हल्ला गर्नतिर लाग्दैन  

विद्यावारिधिमा सूक्ष्म तथा अति सूक्ष्म विषयमा गहन अध्ययन गरिन्छ भन्ने तथ्य त हामी सबैलाई ज्ञात नै छ । एउटा किरा विशेषज्ञले सयौँ किरामध्ये एउटा कुनै किराको पखेटा विकासमा अध्ययन गर्लान् । अर्का आणविक जीव विशेषज्ञले २० हजार मानवीय प्रोटिनमध्येको एकको विशेष अनुसन्धान गर्लान् । कतिलाई ज्ञात नहुन सक्छ, यसरी अनुसन्धानमा लागिपर्दा एक योगी, सन्न्यासीको जीवनशैली अपनाउनुपर्छ । एउटा सानो खोजमा एकाग्र भएर लामो समयसम्म लाग्नुपर्छ । उही क्षमताले पाइने अरू जागिरभन्दा निकै कम तलबमा जीवन गुजारा गर्नुपर्छ । फेरि धेरै अनुसन्धानकर्ताका लागि असफलता जीवनको पर्याय नै बन्न जान्छ, किनभने सुरु गरेका धेरै आयोजनाले भनेजस्तो नतिजा देखाउँदैनन् । साधारणतया विज्ञानमा एउटा सफलता हात पार्न कैयौँ असफलता झेल्नुपर्छ । यिनै कारणले होला सायद विद्यावारिधि हासिल गरेका व्यक्ति प्रायः गम्भीर र सरल हुन्छन् ।

विद्यावारिधिको उद्देश्य नयाँ ज्ञानको सिर्जना गर्नु हुन्छ । विज्ञानमा यसको तात्पर्य जीवन जगत्का बारेमा नयाँ तथ्य पत्ता लगाउनु हो । प्रक्रियागत रूपमा नयाँ तथ्यका बारेमा शोधपत्र लेखेर सकेसम्म प्रतिष्ठित जर्नलमा प्रकाशित गर्नुपर्छ । अनि विद्यावारिधिको उपाधि हात लाग्छ । यसरी प्राप्त गरेको ज्ञान मानवलाई तुरुन्त काम लाग्छ भन्न सकिन्न । उदाहरणका लागि एउटा किराको पखेटा कसरी विकास हुन्छ भनेर पत्ता लगाउँदा तुरुन्त मानव जातिलाई केही फाइदा नहुन सक्छ । त्यस्तै, भौतिक विज्ञानमा ताराहरूको उत्पत्तिको ज्ञानले हाम्रा समसामयिक समस्याको समाधान नगरिदेला । लामो समयको अन्तरालमा भने कुनै पनि ज्ञान उपयोगी ठहर्न सक्छ । किराको पखेटा विकासको ज्ञानले नयाँ प्रविधिको हवाईजहाज बन्न सक्छ । ताराहरूको उत्पत्तिको ज्ञानले आणविक ऊर्जा उत्पादन गर्न सहयोग पुग्न सक्छ । त्यसैले वैज्ञानिकहरूलाई तालिम गराउँदा फाइदाभन्दा ज्ञानको पछाडि लाग्न सिकाइन्छ । दिनचर्याका हिसाबले एउटा वैज्ञानिकले आफ्नो कामको उपयोगिता बिर्सिसकेको हुन्छ । हरेक दिन सही वैज्ञानिक तरिकाले एकपटकमा एउटा सानो काम गर्दै गइरहेको हुन्छ । 

म पनि न्युयोर्कमा आणविक जीव विज्ञानमा अध्ययन गर्दा यही जीवनशैली बाँचिरहेको थिएँ । मेरा वरिपरिका विश्वविद्यालयका साथीहरू तथा प्राध्यापकहरू पनि उस्तै किसिमको जीवन व्यतीत गरिरहेका थिए । विद्यार्थीभन्दा प्राध्यापकहरू प्रयोगशालाको काम कम र अफिसमा अध्ययनको काम बढी गर्थे । तर, सबै तहका वैज्ञानिकले सरल जीवनशैली र एकाग्र चित्त कायम गरेको आभास हुन्थ्यो । नेपाल फर्किसकेपछि भने मैले भिन्न खालका वैज्ञानिकहरूको संगत गर्न पाएँ । नेपालका वैज्ञानिकहरूको लगाव राजनीतिक क्षेत्रमा धेरै देखियो । आफूले अनुदान पाउनेबित्तिकै फलानो नगदको अनुदान प्राप्त भयो मलाई भनेर सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्थे । विषयको ज्ञान नभईकन आफूलाई विज्ञ कहलाउन पछि हट्दैनथे । अनुदानमा गर्छु भनेको अध्ययन आधा पनि गर्दैनथे । कथैकथाका ताना बुनेर सर्वसाधारणलाई बेच्थे । नेपालको विज्ञानको अर्को पक्ष भनेको उपयोगी अध्ययनप्रतिको लगाव हो । सायद हाम्रो अर्थतन्त्रले थेग्न नसक्ने भएकाले पनि होला ज्ञानका लागि मात्र अध्ययन कमै हुँदो हो । 

नेपालमा भिन्न खालका वैज्ञानिकहरूको संगत गर्न पाएँ । नेपालका वैज्ञानिकहरूको लगाव राजनीतिक क्षेत्रमा धेरै देखियो । आफूले अनुदान पाउनेबित्तिकै फलानो नगदको अनुदान प्राप्त भयो मलाई भनेर सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्ने खालका ।

यी सारा भिन्नता देखिसकेपछि मेरो मनमा कौतूहल जाग्यो, ‘वैज्ञानिक कस्तो हुनुपर्छ ?’ हरेक महत्वपूर्ण पेसाका आफ्नै नैतिक मार्गनिर्देशक हुन्छन् । जस्तै, चिकित्सा पेसाको मार्गनिर्देशको रूपमा हिपोक्रेट्सको शपथलाई लिन सकिन्छ । यी शपथ भर्खर चिकित्सक बनेकालाई खुवाउने गरिन्छ । यी शपथको पालना गर्ने हो भने चिकित्सकमा सायदै नैतिक समस्या आउँथ्यो होला । इन्जिनियर तथा वकिलका आफ्नै नैतिक मार्गनिर्देशक होलान् । वैज्ञानिकहरूका लागि रोबर्ट मर्टोनले ५० वर्षभन्दा अगाडि मर्टोनियन सिद्धान्त प्रतिपादन गरेका छन् । आजको वैज्ञानिक युगमा यी सिद्धान्तको ठूलो महत्व हुन सक्छ । फेरि वैज्ञानिकबाहेक विज्ञानको प्रयोग चिकित्सक, इन्जिनियर तथा अरू पेसाका मान्छेले पनि गर्छन् । विज्ञानको अध्ययन अझ धेरै विद्यार्थीले गरेका हुन्छन् । यी सबैलाई महत्व राख्ने हुनाले मर्टोनियन सिद्धान्तको विस्तृत चर्चा गर्ने जमर्को गरेको छु ।

मर्टोनियन सिद्धान्तमा चार पक्ष पर्छन् ः समुदायीकरण, विश्वव्यापीकरण, निष्पक्षता तथा सन्देहवाद । वैज्ञानिकको तालिममा यी सिद्धान्तहरू लामो समयसम्म पढाइन्छन्, ताकि कुनै पनि वैज्ञानिकले स्वतः यी सिद्धान्तलाई जीवनमा अँगालून् । समुदायीकरणको सिद्धान्तअनुसार अनुसन्धानबाट पत्ता लागेको परिणाम समग्र मानव जातिको सम्पत्ति हुन जान्छ । कुनै पनि नयाँ वैज्ञानिक ज्ञान एकजनाको मात्र प्रयासले बनेको हुँदैन, इतिहासका कैयौँ खोजको परिणामस्वरूप ज्ञान हासिल भएको हुन्छ । त्यस्तै, कालान्तरमा यो एउटा ज्ञानको आधारमा कैयौँ अरू ज्ञान उत्पादन हुन सक्छन् । यो सिद्धान्तअनुसार कोरोनाको खोप बनेमा समग्र मानव जातिको हुनुपर्ने हो । तर, खोप बनाउने कम्पनीले पैसा लिएर बिक्री गरिरहेका छन् । कति उदाहरणमा खोप बनाउने प्रविधि पनि कम्पनीकै सम्पत्ति हुन जान्छ । यो मर्टोनियन सिद्धान्तविपरीत हालको पुँजीवादी समाजको पेटेन्ट प्रणालीको उपज हो । पेटेन्ट प्रणालीअनुसार आविष्कारलाई प्रोत्साहन दिन आविष्कारको अधिकार आविष्कारकलाई दिनुपर्ने हुन्छ । कति वैज्ञानिकले आफ्नो आविष्कार मर्टोनियन सिद्धान्तअनुसार पेटेन्ट नलाग्ने गरी सामाजिकीकरण गरेका छन् । यसको उदाहरण हुन्, सर फ्रेडरिक बेन्टिङ, जसले मधुमेह रोगको उपचारमा प्रयोग हुने इन्सुलिन पत्ता लगाएका थिए । 

दोस्रो मर्टोनियन सिद्धान्त हो, विश्वव्यापीकरण । यस सिद्धान्तअनुसार वैज्ञानिक ज्ञान जुनसुकै राष्ट्र, जाति र वर्गको वैज्ञानिकले पत्ता लगाए पनि विश्वव्यापी रूपमा स्वीकार्य हुनुपर्छ । जस्तै, जर्मनीका हेबरले पत्ता लगाएको अमोनिया बनाउने प्रक्रिया अर्को राष्ट्रको व्यक्तिले होइन भनेर सिद्ध गर्न सक्दैन । त्यस्तै, बेलायती न्युटनले पत्ता लगाएको गुरुत्वाकर्षणको सिद्धान्त कसैले पनि नकार्न सक्दैन । वैज्ञानिकले सोच पनि विश्वव्यापी बनाउनुपर्छ । तर, अन्तर्राष्ट्रिय द्वन्द्वको अवस्थामा वैज्ञानिकले आफ्नो राष्ट्रका लागि हातहतियार बनाउन साथ दिएको र कुनै वादको पछि लागेको प्रशस्त उदाहरण छन् । यसै सिद्धान्तको अर्को पाटो भनेको कुनै पनि वैज्ञानिकलाई जागिर दिँदा शैक्षिक योग्यताका आधारमा दिनुपर्ने हुन्छ ।

निष्पक्षता तेस्रो मर्टोनियन सिद्धान्त हो । निष्पक्ष भन्दैमा भावनाहीन भन्न खोजिएको भने होइन । वैज्ञानिकमा विषयप्रति कौतूहल, ज्ञानप्रति उत्साह र समग्र मानव जातिलाई हित गर्ने भावना भने पाइन्छ । यस सिद्धान्तअनुसार वैज्ञानिकले आफ्नो व्यक्तिगत फाइदाभन्दा अगाडि विज्ञान विषयको फाइदाबारे सोच्नुपर्छ । वैज्ञानिक प्रक्रियाहरू अरू पेसाका प्रक्रियाभन्दा कठोर हुने भएकाले बेइमानी गर्ने सम्भावना कमै हुन्छ । कुनै पनि शोध प्रकाशित गर्नुअगाडि कठिन समकक्षीहरूको समीक्षामा उत्तीर्ण हुनुपर्छ । यसैले होला विज्ञानमा ठगीको सम्भावना निकै कम हुन्छ । विज्ञानको विश्वव्यापीकरणले गर्दा होला, आजकल भने ठगीका घटना यदाकदा सुन्नमा आउँछन् । कोरियन वैज्ञानिक ह्वाङ उ सुकले ठगी गरेर एम्ब्रियोनिक स्टेम कोषको उत्पादन गरेको दाबी गरेका थिए । नेपाल तथा भारतमा विद्यावारिधिको शोधपत्र अर्काको चोरेर प्रकाशित गरेको घटना पनि सुन्नमा आएका छन् । 

अन्तिममा सन्देहवाद, जुन चौथो मर्टोनियन सिद्धान्त हो, त्यसको बारेमा चर्चा गरौँ । यस सिद्धान्तअनुसार वैज्ञानिकलाई आफ्ना धारणाहरू एकातिर थन्क्याएर निष्पक्ष रूपमा सन्देहसहित कुनै पनि प्रक्रिया अथवा धारणालाई हेर्न सिकाइएको हुन्छ । यही सिद्धान्त आत्मसात् गरेको कारणले वैज्ञानिकहरूको धार्मिक र राजनीतिक विचारहरूसँग विमति रहन जान्छ । सन्देहले कुनै पनि वैज्ञानिकको दैनिक कार्यमा ठूलो महत्व राख्दछ । कुनै पनि नयाँ आविष्कार गरेपछि एउटा सच्चा वैज्ञानिक हर्षित भएर पत्रपत्रिकामा छाप्न, हल्ला गर्नतिर लाग्दैन । बरु आफ्नो आविष्कारप्रति सन्देह गर्न लाग्छ । फलानो कारणले भ्रान्ति भएको हो कि भनेर शंका गर्न थाल्छ । भ्रान्ति भएको होइन भनेर प्रमाणित गर्न थप अनुसन्धान अगाडि बढाउँछ । अनेक तरिकाले नयाँ कुरा पत्ता नलागेको प्रमाण गर्न नसकेपछि नयाँ कुरा पत्ता लागेको ठहर्छ । वैज्ञानिक भाषाको प्रयोगमा पनि सन्देहवादको ठूलो स्थान हुन्छ । एक वैज्ञानिक मित्रले ठट्टा गरेर भन्थे, वैज्ञानिक भाषामा ‘मसँग एक हजार रुपैयाँ छ’ भन्नु अस्पष्ट हुन्छ । वैज्ञानिक भाषामा बोल्दा ‘मेरो गोजीमा नेपाल सरकारले जारी गरेको एक हजार रुपैयाँको नोट छ’ भन्नुपर्ने हुन्छ । 

यी सिद्धान्तका बारेमा पढिसक्दा एउटा वैज्ञानिकको तालिम कस्तो हुन्छ बुझ्न सकिन्छ । यो तालिम विज्ञानको क्षेत्रमा बाहेक अरू क्षेत्रमा पनि काम लाग्ला त ? आजकाल वैज्ञानिक अनुसन्धानको तालिम डाक्टर, इन्जिनियर र अरू पेसाका मान्छेलाई पनि दिने गरिन्छ । यसले वैज्ञानिक प्रक्रिया र मनस्थिति अरू पेसाका मान्छेलाई पनि सिकाउन खोजेको देखिन्छ । मेरो विचारमा राजनीति र पत्रकारिताको मानसिकता विज्ञानको मानसिकताभन्दा अलिक भिन्न हुन्छ । यस्तो भए तापनि वैज्ञानिकहरू राजनेता भएको दृष्टान्त हाम्रो सामु छन् । जर्मनीकी चान्सलर एन्जेला मर्केलले वैज्ञानिकको तालिम पाएकी हुन् । जर्मनीको शासन व्यवस्थालाई कैयौँ वर्षसम्म सफलतापूर्वक चलाएकी उनलाई एक सफल राजनेता भन्न सकिन्छ । मेरो विचारमा कर्मचारीतन्त्रमा वैज्ञानिक तालिमको विशेष महत्व हुन सक्छ । समग्र समाजको हित चिताउने, विश्वव्यापी सोच राख्ने, निष्पक्षतामा विश्वास गर्ने र हरेक कुरालाई बृहत्तर रूपमा केलाएर मात्र विश्वास गर्ने कर्मचारी आजका आवश्यकता हुन् ।

अहिले नेपालमा धेरैजसो वैज्ञानिक विदेशमा उच्चशिक्षा हासिल गरेर आएका छन् । मलाई लाग्छ, सबैजसोलाई माथि उल्लिखित आदर्श कुनै न कुनै रूपमा पढाइएको हुन्छ । यी आदर्श नेपाल फर्किसकेपछि पनि अवलम्बन गर्नु हामी सबैको दायित्व हुन आउँछ । यति मात्र नभएर कैयौँ वैज्ञानिकहरू भविष्यमा नेपालबाटै तालिमप्राप्त होलान् । भविष्यका वैज्ञानिकहरूलाई आफूले पाएसरहको तालिम दिनु पनि हाम्रो दायित्व हुन आउँछ ।

मलाई लाग्छ, विज्ञानबाहेक अरू क्षेत्रमा पनि आफ्ना आदर्श स्थापना गरेर सिकारूलाई विषयगत आदर्शको तालिम दिनु जरुरी छ । नेपालमा राजनीतिज्ञले राजनीतिको आदर्शको पालना नगर्ने, पुलिसले पुलिसको आदर्शको पालना नगर्ने अनि कर्मचारीले कर्मचारीतन्त्रको आदर्शको पालना नगर्ने बानी नै बनिसक्यो । नैतिकताका अनुसार आदर्श एक दिन दुई दिनमा सिक्ने कुरा होइनन् । जसरी बाँसुरी बजाउन सिक्न महिनौँ वा वर्षौं अभ्यास गर्नुपर्छ, त्यस्तै पेसागत आदर्श सिक्न पनि अनवरत अभ्यासको जरुरत पर्छ ।

(लेखक काठमाडौं विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उप–प्राध्यापक हुन्)