हिमालयन हेल्थ केयरले धादिङको रुबीभ्याली गाउँपालिका–३, सेर्तुङमा रहेको रुबीभ्याली आधारभूत अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण सहयोग गरेको छ। अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन हेल्थ केयरले प्रिन्टरसहितको भिडियो एक्स-रे मेसिन, सेमिअटोमेटिक एनालाइजर मेसिन, बेबी वार्मर, एक ठाउँबाट अर्काे ठाउँमा बिरामी सार्नका लागि प्रयोग गरिने दुईवटा ट्रलीसहितका उपकरण प्रदान गरेको हो।
उपकरणको सुरक्षित प्रयोग होस् भनेर अस्पतालमा कार्यरत चारजना कर्मचारीलाई काठमाडाैं लगेर तालिम दिएपछि उपकरण हस्तान्तरण गरेको हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले बताए। उपकरण खरिद, तालिम र ढुवानीसमेत गरी करिब १२ लाख खर्च भएको उनले बताए।
काठमाडााैंबाट तालिम लिएर फर्किएका कर्मचारीमार्फत सेर्तुङ पुर्याइएका सामानहरू गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ, वडा नम्बर ३ का अध्यक्ष फे दोर्जे तामाङ, अस्पतालका इन्चार्ज जयप्रकाश भट्टलाई सामूहिक रूपमा हस्तान्तरण गरिएको हो।
हेल्थ केयरले ३२ वर्षदेखि रुबीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय तथा सहयोग गर्दै आएको छ।