मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ ६ मंगलबार ०८:००:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मर्स्याङ्दी करिडोरअन्तर्गत २२० केभी सबस्टेसनको निर्माण कार्य सुरु

Read Time : > 1 मिनेट
२०७७ माघ ६ मंगलबार ०८:००:००

नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोरअन्तर्गत २२० केभी सबस्टेसनको निर्माण कार्य सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि मनाङदेखि उदीपुरसम्म २२० केभी ४६ किमी प्रसारण लाइन तथा मनाङ–धारापानी र लमजुङ–खुदीको २२० केभी सबस्टेसनको निमार्ण कार्य पनि सुरु गरेको हो । 

उक्त करिडोरमा उदीपुर–मार्किचोक–भरतपुर ६७ कि. मी. प्रशारण लाइन निमार्णको कार्य सुरु भएसँगै हाल लमजुङको उदीपुरबाट मध्य मर्स्याङ्दीसम्म टावर निमार्णको कामसमेत सुरु गरिसकेको छ । त्यस्तै  २२० केभी उदीपुर र भरतपुर सबस्टेसनको कार्य ९ जुलाई २०२० बाट सुरु भएको छ  भने उक्त कार्य २०२१ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

२२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले युरोपियन इन्भेस्टमेन्ट बैंकको ऋणमा ११० किमी २२० केभी लाइन र ४ वटा २२० केभीका ग्यास इन्सुलेटेड सबस्टेसनहरू क्रमश: धारापानी, खुदी, उदीपुर र भरतपुरमा निर्माण गर्न लागिएको बताए । 

प्रमुख राणाका अनुसार मर्स्याङ्दी करिडोर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत् मार्कीचोक हुँदै काठमाडौं र भरतपुर पुग्नेछ । मार्कीचोक–काठमाडौं २२० केभी प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेकोे छ । मर्स्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

मर्स्याङ्दी बेसिनमा जम्मा सम्भावित १६०० मेगावाट विद्युत् उत्पादन हुनेछ र उक्त १६०० मेगावाट उत्पादित विद्युत् मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनबाटै राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध हुनेछ । आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रहेको छ । यसको निर्माण आर्थिक वर्ष ०७८/७९ मा सक्ने लक्ष्य रहेको आयोजना प्रमुख राणाले बताए । 

प्राधिकरणले लमजुङको उदीपुरदेखि गरमबेसीसम्म टावरले ओगट्ने क्षेत्रको उचित मूल्यांकनको मुआब्जाबापतको रकमसमेत दिइसकेको छ भने तारमुनिको जग्गाको उचित क्षतिपूर्ति दिने तयारी भइरहेको आयोजनाका प्रमुख राणाको भनाइ छ । दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्न ११ किलोमिटर स्थानीय कीर्तिपुर–उदीपुर १३२ के.भी ‘डबल सर्किट’ प्रसारण लाइनको निर्माण पनि सुरु भइसकेको छ । 

योसँगै अब लमजुङको दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् खेर नजाने अवस्था देखिएको छ । उदीपुरमा सब स्टेसन र उदीपुर–मार्कीचोक (तनहुँ) प्रसारण लाइननिर्माण भएमा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारण प्रणालीमा जोड्न समस्या नहुने प्राधिकरणको भनाइ छ । 

तर, उक्त प्रसारण लाइन निर्माण नभएसम्म उत्पादित विद्युत् खेर जान नदिन वैकल्पिक उपायमार्फत कीर्तिपुर–उदीपुर १३२ केभी प्रसारण लाइन र उदीपुरदेखि मर्स्याङ्दीसम्मको करिब ५ किमी २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरी २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, पिपुल्स हाइड्रोपावरको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’लगायतका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोडिनेछ ।