मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी काबुल
२०७७ माघ ४ आइतबार १४:३२:००
Read Time : > 1 मिनेट
विश्व

अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या

Read Time : > 1 मिनेट
रासस/एएफपी काबुल
२०७७ माघ ४ आइतबार १४:३२:००

अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या भएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्तिवार्ता भइरहे पनि व्यक्तिहत्याको क्रम भने रोकिएको छैन । 

पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्तिलक्षित आक्रमण भइरहेका छन् । यी हत्याहरूले राजधानी काबुलसहित देशका प्रमुख सहर बजारमा त्रास फैलाएको छ । 

अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार पाँच सयमा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै न्यायाधीशमाथि आक्रमण भएको छ । 

दुवैजना  न्यायाधीश सरकारी सवारीसाधन चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिए । उनले भने, ‘दुर्भाग्यवश, आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमाएका छौँ । उनीहरूका सवारीचालक घाइते भए पनि सकुशल छन् ।’

प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा दुई सयभन्दा बढी महिला न्यायाधीश कार्यरत छन् । काबुल प्रहरीले पनि आक्रमणको पुष्टि गरेको छ । अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए ।

अफगान अधिकारीहरूले आक्रमणहरू तालिबान समूहले गराएको आरोप लगाउँदै आएका छन्, तर तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ । कतिपय हत्याको जिम्मेवारी भने जिहादी इस्लामिक स्टेट समूहले लिने गरेको छ । 

यसै महिनाको सुरुमा अमेरिकी सैन्य कमान्डले अफगानिस्तानमा भइरहेका आक्रमणहरू तालिबानबाट भएको दाबी गरेको थियो । अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता कर्णेल सोन्नी लिगेटले ट्विट गर्दै अफगानिस्तानमा भइरहेका आक्रमणमा तालिबानको संलग्नता रहेको पाइएको र त्यसले शान्ति कायम गर्ने अफगान जनताको चाहनामाथि कुठाराघात गर्ने बताएका थिए ।

कतारमा वार्ता जारी 
तालिबान र अफगान सरकारबीच कतारको राजधानी दोहामा शान्ति वार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिंसात्मक घटना बढेको भन्दै सर्वत्र चिन्ता पनि व्यक्त गरिएको छ । 

अफगानिस्तानका गुप्तचर निकायका प्रमुख अहमद जिया सिराजले सन् २०२० मा तालिबान समूहले देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको संसद्लाई जानकारी दिएका छन् ।