१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २ शुक्रबार
  • Monday, 01 July, 2024
सडकघाट क्षेत्रमा सडक निर्माणमा अवरोध गर्दै एसएसबीको टोली । अहिले यही सडक प्रयोगमा एसएसबीले रोक लगाएको छ ।
मोहन विष्ट कञ्चनपुर
२o७७ माघ २ शुक्रबार o७:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दशगजाको सडक प्रयोगमा एसएसबीको रोक

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७७ माघ २ शुक्रबार o७:१९:oo

नेपालको सडकघाट र भारतको टिल्ला नं. ४ बीचमा रहेको सडक प्रयोगमा रोक लगाएपछि नेपाली किसानले अन्नबाली भित्र्याउन आफ्नै खेतमा जान पाएनन्, भारतीय नागरिक भने निर्वाध रूपमा सडक प्रयोग गर्दै

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ । भारतीय नागरिकले प्रयोग गर्दै आएको भए पनि नेपाली नागरिकलाई रोक लगाएपछि कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका बासिन्दा समस्यामा परेका छन् । 

नेपालको सडकघाट र भारतको टिल्ला नम्बर ४ बीचको दशगजा क्षेत्रमा निर्माण भएको सडक दुवै देशका बासिन्दाले प्रयोग गर्दै आएका थिए । केहीदिनयता एसएसबीले नेपालीलाई प्रयोगमा रोक लगाएको स्थानीय बासिन्दा चक्रबहादुर कठायतले बताए । ‘यो सडकमा वर्षौंदेखि हिँडडुल गर्दै आएका थियौँ । खेतबारीमा जाने यही बाटो हो,’ कठायतले भने, ‘अहिले आएर एसएसबीले हामीलाई एकाएक रोक लगाएको छ । तर, भारतीय नागरिक निर्वाध प्रयोग गरिरहेका छन् ।’

स्थानीय किसान भन्छन्, ‘सडक प्रयोग गर्न नदिएपछि खेतमा जान पाएका छैनौँ । अन्नबाली खेतमै छ, ल्याउन पाएका छैनौँ’

दशगजा क्षेत्रको सडक स्थानीय बासिन्दाले ०३५ देखि प्रयोग गर्दै आएको स्थानीय बासिन्दा बताउँछन् । उनीहरूका अनुसार यही सडक भएर खेतमा पुगिन्छ । अहिले एसएसबीले रोकेपछि खेतमा पनि जान नसकिएको उनीहरूको भनाइ छ । ‘सडक प्रयोग गर्न नदिएपछि खेतमा जान पाएका छैनौँ । अन्नबाली खेतमै छ, ल्याउन पाएका छैनौँ,’ स्थानीय किसान कठायतले भने । खेतमा जान खोज्दा पनि एसएसबीका जवानले यो बाटो नआउनुहोस् भनेर फर्काउने गरेको उनले दुःखेसो गरे । 

स्थानीय बुद्धिजीवी विवेक लम्सालले भारतीय एसएसबीको ज्यादतीका कारण नेपालीले आफ्नै खेतमा उत्पादन भएको अन्नबाली भित्र्याउन नपाएको बताए । ‘मैले खेतमा तोरी लगाएको थिएँ, एसएसबीले सडक प्रयोग गर्न नदिएपछि भित्र्याउन पाएको छैन । सुक्न लागिसक्यो,’ लम्सालले भने । अहिलेसम्म यो सडक दुवै देशका नागरिकले प्रयोग गर्दै आएको बताए । नागरिक स्तरमा कुनै विवाद पनि नभएको उनको भनाइ छ । ‘दुवै देशका नागरिकले प्रयोग गर्दै आएका थियौँ, नागरिकस्तरमा कुनै विवाद पनि भएको थिएन,’ उनले भने, ‘तर, एकाएक एसएसबीले हामीलाई रोक लगाएपछि समस्यामा परेका छौँ ।’

कञ्चनपुरका सिडिओ भन्छन्, ‘अहिले सडकघाट क्षेत्रमा केही विवाद आएको छ । दुवै देशका सीमा प्रमुखहरू हाम्रोतर्फ सशस्त्रका एसपी र भारतको एसएसबीका कमान्डर नभएकाले सहजीकरण हुन सकेको छैन ।’

एसएसबीले सीमा क्षेत्रका बासिन्दामाथि गर्दै आएको ज्यादतीको शृंखलाको यो अर्को घटना भएको स्थानीय लालबहादुर शाहीले बताए । ‘एसएसबीले सधैँ ज्यादति गर्दै आएको छ, यो त्यसैको निरन्तरता हो,’ शाहीले भने । स्थानीय प्रशासनलाई गुहारे पनि वास्ता नगरेको उनको भनाइ छ । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले दशगजा क्षेत्रको सडक प्रयोगमा समस्या आएको जानकारी प्राप्त भएको बताए । कानुनअनुसार, दशगजा क्षेत्रको सडक दुवै देशले उपभोग गर्न नपाउने भए पनि व्यावहारिक रूपमा दुवै देशका नागरिकले प्रयोग गर्दै आएको उनले भनाइ छ । ‘अहिले सडकघाट क्षेत्रमा केही विवाद आएको छ,’ प्रजिअ महतोले भने, ‘दुवै देशका सीमा प्रमुखहरू हाम्रोतर्फ सशस्त्रका एसपी र भारतको एसएसबीका कमान्डर नभएकाले सहजीकरण हुन सकेको छैन ।’ दुवै देशका अधिकारसहित छिट्टै विवाद समाधान गरिने प्रजिअ महतोको भनाइ छ । 

यसअघि पनि बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रमा नेपाली भूमिमै सडक फराकिलो बनाउने क्रममा पनि एसएसबीले अवरोध गरेको थियो । स्थानीय बासिन्दाले विरोध गरेपछि मात्रै काम भएको थियो । यस क्षेत्रमा एसएसबीले प्रायः विवाद निम्त्याउँदै आएको छ । 
 

ad
ad
ad
ad